राजा फाल्न जब रअ कस्सियो...
नयाँदिल्ली : भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भूषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीलाई भन्दा भारतलाई हतार थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मनाउन भूषणलाई निकै हम्मे परेको थियो। दाहाल पनि भारतीय गुप्तचरसँग मिलेर गणतन्त्रको ‘मिसन’ मा लाग्न इच्छुक थिएनन्।
भूषणको पुस्तक ‘इनसाइड नेपाल’ दाहालसँगको पहिलो भेटमा आफूले भनेको यसरी व्यक्त गरेका छन्, ‘म वास्तवमा नेपालबाट राजा फ्याँक्ने काममा तपार्इंको मद्दत माग्न आएको हुँ।’
आश्चर्य मान्दै दाहाल सोध्छन्, ‘किन ? ’
सत्य घटनामा आधारित भने पनि यस पुस्तकका पात्र नाम परिवर्तित छन्। घटना र परिस्थिति हेरेर भने तिनलाई अनुमान गर्न सकिन्छ। जस्तो कमल अर्याल अर्थात् पुष्पकमल दाहाल, जीवनाथन अर्थात् अमर आफैं।
जीव– अचेल नेपालका राजा निकै नृशंस हुँदै गएका छन्। उनले शाही सेना र प्रहरीमार्फत दमन गर्न सुरु गरेका छन्। उनले फ्याँकिएको पञ्चायती व्यवस्थाका व्यक्ति र आफूप्रति बफादारमार्फत शासन चलाउन थालेका छन्। तपाईंलाई दासको व्यवहार गरेका छन्। प्रजातन्त्रलाई संस्थागत हुन दिएका छैनन्।
अर्याल– यसबारे हामी सचेत छौं र विशेष योजना बनाएका छौं। हामीले भूमिगत सेना बनाएका छौं। त्यसले सरकारी सेना ध्वस्त पार्नेछ। राजा त्यसबाट पछि हट्नेछन्। हामीले तपाईंसँग सहकार्य गर्नुपर्ने आवश्यकता देख्दिनँ।
जीव– तपाईंले यसका लागि निश्चित समयबद्ध योजना बनाएको मलाई थाहा छैन। तपाईंले राजतन्त्र उन्मूलन गर्ने कठिन काममा एक्लै अघि बढ्नुभयो भने वर्षौं लाग्नेछ। मलाई लाग्छ, रोमानियाका शासक चाउचेस्कुलाई जस्तै गरी राजालाई सिध्याउन मन छ भने तपाईंले राष्ट्रवादी शक्ति र मूलधारका दलसँग सहकार्य गर्न जरुरी छ।
अर्याल– हामीले नेपाली कांग्रेससँग पहिल्यै सम्पर्क गरिसकेका छौं। यद्यपि राजा मास्ने विषयमा भने ऊसँग हामी सशंकित छौं। त्यहाँ अवसरवादी छन्। उनीहरूले राजाबाट फाइदा लिइरहेका छन्। उनीहरूले राजाविनाको प्रजातन्त्र सोच्दैनन्। यसविपरीत मेरा कार्यकर्ता युवा र माओवादी विचारधाराबाट प्रशिक्षित छन्। उनीहरू राजा स्विकार्न तयार छैनन्। यो विषयमा राष्ट्रवादी शक्ति र हामीबीच मिलन हुने सम्भावना देख्दिनँ।
जीव– म तपाईंको निर्णयको कदर गर्छु। यसभन्दा फरक रणनीति अँगाल्न किन सक्नु हुन्न ? कांग्रेस, मधेसी र राजाप्रति उदार शक्तिसँग पनि सहकार्य गर्न सकिन्छ।
अर्याल– के गर्न सल्लाह दिनुहुन्छ ?
जीव– लक्ष्यमा पुग्न तपाईंले विभिन्न चरणमा यो काम गर्नुपर्छ। पहिलो चरणमा प्रजातन्त्र पुनःस्थापनामा जानुहोस्। त्यसपछि सरकारमा सहभागी हुनुहोस्। राजसंस्थाका अधिकार सीमित गराउनुहोस्। षड्यन्त्र गर्न सहज बनाउन उनलाई अन्तरिम कालमा आलंकारिक राज्य प्रमुख स्विकार्नुहोस्। संविधान बनिसकेपछि त्यसमा गणतन्त्र घुसाउनुहोस्। अनि निर्वाचनमा गएर गणतन्त्रका पक्षमा मत माग्नुहोस्, तपाईं विजयी हुनुहुनेछ। त्यसपछि राजतन्त्र उन्मूलन गर्नेदेखि सबै काम तपाईंको इच्छाबमोजिम हुनेछन्।
अर्याल– हामीले राजा मानौं कि गणतन्त्र तपाईंलाई किन चिन्ता ?
जीव– तपाईं र हाम्रो स्वार्थ फरक छ तर हामी दुवै नेपालको राजतन्त्र मास्न चाहन्छौं। राजतन्त्रलाई सधैं विश्वास गर्न सकिन्न। राजतन्त्र उन्मूलनपछि हाम्रो अर्थतन्त्र र सुरक्षा चासो सम्भव हुनेछ।
०००
‘इनसाइड नेपाल’ मा भूषणले लखनउ १९८९–९० उपशीर्षक दिएर रअको पूर्वी ब्युरोको गतिविधिको खुलासा गरेका छन्। रअको पूर्वी ब्युरोले प्रभावकारी काम गर्न नसकेको भन्दै मुख्यालयबाट यो ब्युरो बन्द गर्ने आदेश आउँछ। त्यहीबीच नेपाल–भारत सम्बन्ध चिसियो। तत्कालीन राजा वीरेन्द्रले नेपालले चीनसँग सैन्य उपकरण खरिद गरेको निहुँ पारेर १९८९ मा राजीव गान्धी सरकारले नेपालमा नाकाबन्दीको घोषणा गरेको थियो।
आर्थिक नाकाबन्दीको तीन हप्तापछि जीवनाथनले उत्तर प्रदेशको आसपास भ्रमण गरेर वस्तुस्थितिको जानकारी लिएका थिए। सोही क्रममा उनी एक सहयोगीको सूचनाका आधारमा अकस्मात् जोगबनी पुग्छन्। ‘इनसाइड नेपाल’ मा यहींबाट सुरु हुन्छ नेपालका माओवादी नेतासँग भेट र राजतन्त्रलाई फ्याँक्ने योजनाको वार्तालाप।
हार्पर कोलिन्स पब्लिसर्सले प्रकाशन गरेको पुस्तकको साक्षी यसका पूर्वसम्पादक शान्तनु राय चौधरीसमेत रहेको लेखकले बताएका छन्। यो पुस्तक भूषणको ‘स्पाइक्याचर सिरिज’ कै शृखंला हो। यसअघि उनले २०१८ मा ‘दि जिरो कोस्ट मिसन’ र ‘दि विलि एजेन्ट’ नामक पुस्तक प्रकाशन गरेका थिए। १९६७ मा भारतीय प्रहरी सेवा प्रवेश गरेका उनले आफनो दोस्रो इनिङका रूपमा सीमा सुरक्षा बल अनुसन्धान विभाग, राज्यको विशेष अनुसन्धान शाखा हुँदै रअका लागि २४ वर्ष काम गरेको अनुभव बटुलेका छन्।
पुस्तकमा कमल अर्याल छद्म नाम दिइएको माओवादी नेतासँगको पहिलो भेटलाई यसरी प्रस्तुत गरिएको छ ः
दाहाल त्यतिबेला विभाजित नेकपा (मशाल) का पोलिटब्युरो सदस्य हुँदै महासचिव बनेका थिए। रअका एक वरिष्ठ अधिकारी जीवनाथनका सहयोगी आलोकले उनलाई उत्तर प्रदेशबाट तत्काल जोगबनी बोलाएर उक्त पार्टीका स्थायी समितिका एक वरिष्ठ नेतासँग भेटाउने भनी ब्रिफ गर्छन्। ‘मैले सीपीएनका एक वरिष्ठ नेतालाई भेटेको छु र नेपालको हालको अवस्थाबारे उनका विचार जानेको छु। उनी हाम्रा लागि मूल्यवान् सम्पत्ति हुन सक्छन्’, आलोकले जीवनाथनलाइ ब्रिफ गरेका थिए।
जीवनाथनले त्यसपछि चासो लिँदै सोधेका थिए, ‘पार्टीमा उनको वास्तविक हैसियत के हो ? ’
ती अधिकारीले यसरी ब्रिफ गरेका छन्, ‘वास्तविक शक्ति भनेको उनी पार्टीको सैन्य आयोगको दोस्रो वरीयता क्रमका नेता हुन्। उनले सशस्त्र क्याडर चलाउँछन्। उनी अति गोप्य रूपमा बस्छन् र माओवादीको शब्दावलीमा कुरा गर्छन्। दिल्लीले जनयुद्धलाई दबाउन राजा र नेपाली कांग्रेससँग हात मिलाएको भनेर उनी आक्रोशित छन्। यसका लागि भारतीय नेतृत्वलाई कहिल्यै माफ नगर्ने धम्की पनि दिइरहेका छन्।’
त्यसपछि उनले भेट्ने चाहना राख्छन्। सुरुमा ती नेता अर्थात् दाहालले भारतका कुनै अधिकारीसँग भेट्न सीधै इन्कार गरेका थिए। तर बारम्बारको भेटपछि उनी उति खरो रूपमा प्रस्तुत भएनन्।
तीर्थ नामका शिक्षण पेसामा रहेका माओवादीकै एक अत्यन्त विश्वासिला व्यक्तिका सहयोगमा आफूले ती नेतालाई तीन साताअघि पहिलोपटक भेटेको र चार पटकसम्म भेट गरिसकेको आलोकले जीवनाथनलाई ब्रिफ गरेका थिए–
‘जुन दिन मैले तपाईंलाई यहाँ बोलाउन सन्देश पठाएँ। ती नेता हाम्रो पोस्टको ठिक पारिपट्टि रहेको रानीगाउँमा तीर्थको घरमा थिए। तीर्थले मलाई वचन दिएका थिए र म दौडँदै उनलाई भेटन गएँ। सधैंजस्तो उनी वर्गविहीन समाजको स्थापनाका साथै नेपालको अर्थतन्त्र र सुरक्षा व्यवस्था माओद्वारा बनाइएको चीनको मोडलमा लैजाने आफ्ना योजना सुनाउँदै थिए।’
यतिबेलासम्म जीवनाथनका लागि ती नेता रहस्य थिए। ती नेतासँग नेपाली भूमिमा भेट्न रअका अधिकारी असमन्जसमा थिए। नेपाली अनुसन्धान विभागले थाहा पाएमा रअको पोल खोलिने डर उनीहरुलाई थियो। ती नेताले जीवनाथनका अलावा अन्य कुनै अधिकारीलाई भेट्न तयार नहुने पनि पुस्तकमा किटान गरिएको छ। त्यसको कारण ती नेतालाई जीवनाथनको परिचय प्रधानमन्त्रीका अति निकट र सैद्धान्तिक सल्लाहकारका रुपमा गरिएको थियो। भेटका लागि जीवनाथनका तर्फबाट सकारात्मक संकेत पाएपछि आलोक तत्काल ४५ मिनेटको दुरीमा रहेको तीर्थको घरमा पुगेका थिए।
सोही दिन अर्याल नाम गरका ती नेताले जीवनाथनलाई तीर्थको घरमा मात्र भेट्ने सर्तसहित राति ११ बजेको समय दिन्छन्। तर सुरक्षाको खतरा देखाउँदै यो भेट जोगबनीस्थित बंगलामा तय गरिन्छ। अर्यालका तर्फबाट तीर्थलाई भेट अवधिभर साथ रहने सहमति पनि हुन्छ।
दिनभरि बिजुली नभएकोे त्यो साँझको अँध्यारो चिर्दै दुई व्यक्ति (अर्याल र तीर्थ) का साथ आलोक बंगलामा पुग्छन्। औपचारिक परिचयपछि आलोक डिनरको व्यवस्थापनका लागि निस्कन्छन्। जीवले अर्याललाई गोप्य कुराकानी गर्न सकिने भन्दै आफ्ना साथीलाई सँगै जोडिएको कोठामा बस्न आग्रह गर्छन्।
जीवनाथन अर्यालको गाउँले व्यक्तित्वबाट प्रभावित हुन्छन्। उनको अनुहारमा जंगल र बंकरमा लामो समय बिताएका अर्यालको अनुहारमा एक किसिमको रौनक देख्छन् जीवनाथन।
पहिलो भेटको कुराकानी
‘मलाई भेट्ने समय दिएकोमा म आभारी छ,’ जीवले कुराकानीको सुरुवात गर्छन्।
अर्यालले कुनै उत्तर दिँदैनन्।
‘आलोकले मलाई भन्दै थिए कि तपार्इं निकट भविष्यमै नेपालमा गणतन्त्र स्थापित गर्नेमा निकै आशावादी हुनुहुन्छ,’ जीवले अर्याललाई सहज बनाउन खोज्छन्।
‘मलाई थाहा छैन यो कहिले सम्भव छ तर हो सम्भव हुन्छ, यो हाम्रो निकै लामो समयदेखिको सपना हो’, अर्याल भन्छन्।
‘तपाईंले अन्य वामपन्थी तथा मूलधारका राजनीतिक दलहरुसँग मिलेर संयुक्त रुपमा यो संघर्ष अघि बढाउने बारे कुरा गर्नुभएको छ ? ’ जीवले प्रश्न गर्छन्।
अर्यालले यसको पनि जबाफ दिँदैनन्। उनी यो विषयको जबाफ फर्काउने नफर्काउनेमा असमन्जसमा रहेको लेखकले बताएका छन्।
‘तपाईंलाई आश्चर्य लाग्न सक्छ म तपाईंलाई भेट्न यहाँ किन आए भनेर। म एउटा कुरा स्पष्ट बुझ्न आएको हुँ त्यो के भने लोकतन्त्रका लागि तपाईंले एक्लै संघर्ष गर्ने निर्णय गर्नुभएको छ वा अन्य राजनीतिक दलहरूले पनि यसलाई स्वीकार गरेका छन् ? ’ जीवनाथन फेरि सोध्छन्।
‘म हाम्रो योजना, नीति तथा सैन्य शक्तिहरूको तत्परता र राजनीतिक गतिविधिहरू सार्वजनिक गर्न तपाईंलाई माध्यम बनाउन सक्दिनँ’, अर्यालले जबाफ फर्काउँछन्।
‘एउटा पार्टीमा भएको व्यक्तिबाट गोप्य गतिविधिबारे नियमित जानकारी पाउने आशा गर्नु मेरो मूर्खता हुनेछ’, जीवले थप्छन्।
‘पक्कै पनि तपार्इं यहाँ मसँग हात मिलाउन र डिनर खान त आउनुभएको होइन,’ अर्याल अर्थात् दाहालले व्यंग्य छेड्छन्।
अनि सुनाउँछन्, जीवनाथनले राजा फाल्ने रअको योजना।
त्यसैको मूर्त रूप अहिलेको गणतन्त्र भन्ने दाबी छ अमर भूषणको।
प्रतिक्रिया दिनुहोस !