जिप दुर्घटनामा चालकसहित दुई घाइते
ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ स्थित जरिङ्गेमा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । उदयपुरको कटारीबाट बोइलर कुखुराको चल्ला लिएर ओखलढुंगाको निशंखेतर्फ आउँदै गरेको ज १ च ९९२ नम्बरको बोलेर जिप दुर्घटना हुँदा जिप चालक कटरी नगरपालिका ८ निवासी २१ वर्षीय सुमन कार्की गम्भीर घाइते भएको ओखलढुंगा प्रहरीले जनाएको छ।
कार्कीको टाउको तथा हातखुट्टामा चोट लागेकाले उद्धार पछि सामुदायिक अस्पताल मिसन पठाइएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । जिपमा चालक कर्कीसँगै सवार सहचालक कटारी नगरपालिका ४ का २० वर्षीय राम खनालको अवस्था भने सामान्य छ ।
घुम्तिमा आउँदै गरेको बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरी निरीक्षण श्रेष्ठको भनाई छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।