काष्ठमण्डपका सबै थाम ठड्याइँदै

काष्ठमण्डपका सबै थाम ठड्याइँदै

काठमाडौं : भूकम्पले भत्किएको मरुसतल (काष्ठमण्डप) पुनर्निर्माण क्रममा छ। परम्परागत शैली र प्रविधि अपनाउँदै निर्माण गरिएको काष्ठमण्डपको पहिलो तला सक्ने तयारी हुँदै छ। प्रदेश ३ का सांसद तथा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले इन्द्रजात्राअगाडि नै सबै थां (थाम) राखिसक्ने बताए।

येंयाः पर्व (इन्द्रजात्रा) काठमाडौंको मौलिक तथा सांस्कृतिक पर्व हो। आठ दिनसम्म चल्ने यो जात्राताका मरुटोलमा काष्ठमण्डप र ‘सिंल्यंसत्तः’ को बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने परम्परा छ।

मरुटोलको सोभा मरुसतल भएकाले इन्द्रजात्रामा स्वदेशी तथा विदेशी पर्यटकलाई देखाउन पनि काष्ठमण्डमा सबै थां (थाम) ठड्याइसक्नुपर्ने हुन्छ। समितिका अध्यक्ष शाक्यले भने, ‘अहिले धमाधम थाम ठ्याउँदै छौं। इन्द्रजात्रामा सबैले काष्ठमण्डपको काम देखुन् भन्ने चाहना छ।’ काष्ठमण्डप पुनर्निर्माण निकै जटिल भएकाले खर्च विवरण भने निकाल्न नसकेको शाक्य बताउँछन्।

काष्ठमण्डपका लागि आवश्यक चार मुख्य काठका थाम अघिल्लो वर्ष नै ठड्याइएको थियो। योजनाअनुसार यस वर्षको असार मसान्तभित्र एक तला बनाइसक्नुपर्ने हो तर पारम्पारिक विधि प्रयोग भएकाले पुनर्निर्माण लम्बिएको उनले बताए।

निर्माणाधीन काष्ठमण्डपवरिपरि फैलिएका इँटा र माटोले केही ठाउँ ओगटेको छ। इन्द्रजात्रालाई सहज बनाउन यी सबै हटाउन लागिएको समितिका सचिव गौतम डंगोलले जानकारी दिए। ‘इन्द्रजात्रामा आगन्तुकलाई कुनै अप्ठ्यारो हुन दिन्नौं’, उनले भने, ‘कामको प्रेसर लिएरै भए पनि समयमै सबै थाम उठाउनेछौं।’

करिब ५५ जनाको निर्माण समितिले लामो अनुसन्धानपछि काष्ठमण्डपको पुरानै स्वरुप तयार पारेका थिए। स्थानीयको पनि सहभागिता भएकाले काष्ठमण्डप पुनर्निर्माण अवसर र चुनौती दुवै रहेको समितिले बताउँदै आएको छ।

मरुसत्तललाई पुरानै स्वरुपमा निर्माण गर्न तराईको जंगलबाट बहुमूल्य काठको खोजी गरी ल्याइएको थियो। त्यस्तै, पुरानै शैलीमा इँटा बनाउन लगाइयो। हाल प्रत्येक दिन पुराना काठको नापतौल गर्नेदेखि त्यसमा कुँदिएका बुट्टा पहिचान गर्न जनशक्ति खटाइएको छ।

भूकम्पपछि भत्किएका काष्ठमण्डपका पुराना थामका संरचना पहिलेको हनुमानढोका प्रहरी चौकी परिसरमा राखिएको छ। पुराना काठ पहिचान गर्दै नयाँ काठमा बुट्टा भर्ने काम पनि त्यहींबाट हुँदै छ। काठको संरचनालाई बलियो बनाउन परम्परागत प्रविधिको प्रयोग गर्दै त्यसमा चुकुल हाल्ने काम पनि भइरहेको छ। भूकम्पमा काष्ठमण्डप भत्किँदा १७ जनाले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.