नेपालमा एआई शिक्षा सचेतनामा छौं
दुई दशक अमेरिका बसेर पनि नेपालको सूचना प्रविधि क्षेत्रमा विशेष योगदान पुर्याइरहेका शालिन व्यक्तित्व हुन डा. समिर मास्के। नेपालमा आईएस्सी सकेर स्नातक तहको अध्यययन गर्न अमेरिका पुगेका मास्केको रुची आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)तर्फ भयो।
नेपाली टाइप गर्दा त्यो शब्द नै बोल्ने प्रविधिका विषयमा २० वर्ष अगाडि नै मास्केले अनुसन्धान गरेका थिए। यसैबाट उनलाई एआईतर्फ रुची बढायो। फ्युजमेसिन इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मास्केले आर्टिफिसिएल इन्टेलिजेन्ट अर्थात कृत्रिम बौद्धिकतालाई व्यावहारिक प्रयोग गर्ने विषयमा कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
कोलम्बिया विश्वविद्यालयकै सहप्राध्यापक मास्केले यसलाई व्यावसायिक प्रयोग गर्न र संसारभरका विपन्न समुदायका विद्यार्थी तथा इन्जिनियरलाई जोडेर एआई शिक्षा फर नेपाल अभियान चलाइरहेका छन्।
एआई के हो ? यसले कसरी काम गर्छ ? सूचना प्रविधि, व्यावहारिक तथा व्यावसायिक सफलतामा यसको प्रयोग कसरी गर्ने ? सहित विषयमा अन्नपूर्ण संवाददाता राजु बास्कोटाले मास्केसँग गरेको कुराकारीको प्रमुख सार :
आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) के हो ?
मेसिनको सहायताले कुनै प्रकारको तथ्यांकलाई लिएर त्यसैका आधारमा लिने निष्कर्ष हो। कुनै निष्कर्ष निकाल्ने र त्यसलाई ठीक हो वा होइन भनेर प्रयोग गरिने विषय पनि हो। जस्तै बोलेको आधारमा त्यसलाई निष्कर्षमा पुर्याउने हो। कसैले कुनै शब्द बोल्यो र त्यसलाई सन्दर्भअनुसार मेसिनको सहायताले यही हो भनेर निष्कर्ष निकाल्नु एआई हो।
यसको अवधारण कसरी आयो ?
म यही क्षेत्रमा लागेको २०/२१ वर्ष भयो। सुरुमा नेपालीमा बोलेको अंग्रेजी र अंग्रेजीमा बोलेको नेपालीमा रूपान्तरण हुने प्रविधि बनाउन मन थियो। त्यो सफल भएपछि मैले अमेरिकामा पढ्दा पढ्दै यो विषयमा अनुसन्धान गर्न थाले। यसपछि त मलाई एआईमा रुची झनै बढ्यो।
एआईको विश्वव्यापी प्रयोग कस्तो छ ?
यसको प्रयोग धेरै किसिमबाट विभिन्न क्षेत्रमा भइरहेको छ। स्वास्थ्य क्षेत्रमा सफल प्रयोग भइरहेको छ। जस्तो क्यान्सर डिटेक्सनका लागि यसको प्रयोग अत्यधिक हुन्छ। हेल्थ केयर मेडिसिन, रोबर्टिक सर्जरी, पर्यटन तथा कृषि क्षेत्रमा यसको प्रयोग भइरहेको छ। कृषि उत्पादनको मूल्य निर्धारणमा पनि प्रयोग गर्न सकिन्छ।
पछिल्लो घटनाक्रमअनुसार जोड्ने हो साइबर सेक्युरिटी र फ्रड डिटेक्सनमा पनि एआईको प्रयोग गर्न सकिन्छ। अहिले आइरहेको ह्याकिङ रोक्न यसको प्रयोग हुन सक्छ।
साइबर सेक्युरिटीमा यसको प्रयोग कसरी गर्ने ?
एआईले तथ्यांकको प्याटर्न हेरेर निष्कर्ष निकाल्छ। जस्तै जसरी बोलीको सन्देशको प्याटर्न हेरेर यसले कुन शब्द बोलेको हो भनेर त्यसको प्रसंगअनुसार शब्द छुट्याउने गर्छ। त्यसैगरी साइबर सेक्युरिटीमा त्यसअघि प्रयोग भएको तथ्यांकलाई नै मूल्यांकन गरेर निष्कर्ष निकाल्ने गर्छ।
एटीएम ह्याकिङकै कुरा गर्दा पहिले यसको प्रयोगको प्याटर्न कस्तो थियो त ? अधिक धेरै प्रयोग भएको अवस्थामा सामान्यभन्दा फरक हुँदा यसको विगतभन्दा फरक भयो भन्ने हुन्छ। प्याटर्नभन्दा बाहिर अस्वाभाविक रूपमा पुग्नासाथ एआईले आफैं एटीमए लक गर्न सक्छ।
नेपालमा यसको राम्रो विकास किन हुन सकेन ?
नेपालमा एआईको लागि पर्याप्त तथ्यांक नभएको र त्यसका लागि चाहिने आवश्यक जनशक्ति नभएकाले हुन सक्छ।
अन्य क्षेत्रमा यसको प्रयोग अवस्था कस्तो छ ?
क्यान्सर डिटेक्सन, एक्सरे, एमआरआई, रोबर्टिक सर्जरीसहितको अमेजिङ टेक्नोलोजीमा प्रयोग भइरहेको छ। पर्यटन क्षेत्रमा पर्यटकलाई एप दिन मिल्ने, होटलको मूल्य आंकलन गर्ने, पर्यटकका लागि कोठा बिक्री गर्न सकिने, रुम रेट बढ्ने र कतिबेला घट्ने समयको आकलन गर्नेसहितको काम यसले गर्छ।
एआईको प्रयोगबाट सन् २०३० भित्रै चीनमा मात्रै ७.८ ट्रिलियन डलर, अमेरिकामा करिब चार ट्रिलियन डलरको आर्थिक वृृद्धि हुन्छ भन्ने अनुमान गरिएको छ।
होटलमा सिजन र अफसिजनको पनि आकलन गरेर कम्तीमा एक दुई वर्षकै तथ्यांकका आधारमा एआई प्रयोग हुन सक्छ। प्रविधिको प्रयोग गर्न सक्ने र व्यापार व्यवसायबाट बढीभन्दा बढी लाभ लिने प्रयोजनसमेत उपयुक्त हुन्छ।
एआईमा तथ्यांकको प्रयोग गरेर कसरी फाइदा लिन सकिन्छ ?
अवश्य पनि। यसले अटोमेटिक प्राइस तलमाथि गर्छ। धेरै कारोबार हुने क्षेत्रमा हरेक क्षण मूल्य परिवर्तन हुन्छ। मेसिनले अटोमेटिकल्ली काम गर्ने भएकाले कहिलेकाहीँ मान्छेले नसोचेको काम यसले गर्छ। मान्छेले गरेको भन्दा राम्रोसँग यसले काम गर्छ।
नेपालले यसको फाइदा कसरी लिने ?
एआईले शिक्षा, स्वाथ्य, कृषि, बैंकिङ, हेल्थ केयरमा यसको यसको प्रयोग गर्न सकिन्छ। हरेक क्षेत्रमा हुने एटीएम, साइबर क्राइम, ऋण वा अन्य प्रकारका ठगी नियन्त्रणमा यसलाई प्रयोग गर्न सकिन्छ। पहिले मेसिनलाई जुन प्रकारको डाटा दियो त्यहीँअनुसार काम गर्ने हो। भेदभावपूर्ण हुने गरी यसलाई डाटा दिनु हुँदैन। यसको प्रयोगबाट पर्याप्त कारोबार गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय क्षेत्रले यसको लाभ कसरी लिएका छन् ?
यसको प्रयोगबाट सन् २०३० भित्रै चीनमा मात्रै ७.८ ट्रिलियन डलर, अमेरिकामा करिब चार ट्रिलियन डलरको आर्थिक वृृद्धि हुन्छ भन्ने अनुमान गरिएको छ। १०/११ वर्षमा करिब २० देखि ३० ट्रिलियन डलरको लाभ एआईको प्रयोगले हुन्छ भन्ने अनुमान गरिएको छ।
युरोप र अमेरिकामा पनि यसको प्रयोगबाट लाभ लिन सकिन्छ। यसले आर्थिक प्रभाव दुई वा ३० ट्रिलियन जति भए पनि यसको समग्र प्रभावको महत्त्व ज्यादा हुन्छ।
नेपालमा यसबाट कसरी फाइदा लिन सकिन्छ ?
नेपालकै सन्दर्भमा हस्तलिखित फारमसँग जोडेर हेर्ने हो भने हरेक क्षेत्रमा नागरिकता, पासपोर्ट, बैंक, वित्तीय संस्था, सरकारी निकायका विभिन्न स्थानमा भर्नुपर्ने फर्ममा उल्लेख चाहिन्छ। यसलाई डिजिटल गर्नुपर्ने, कपी पनि राख्नुपर्ने भएकाले फोटो खिच्ने वा स्क्यान गरेपछि आफैं फर्म भर्ने काम प्रविधिको प्रयोगमा हुन्छ। जसका कारण छिटो, सहज, सस्तो हुनका साथै डाटाबेस पनि हुन्छ। डिजिटल डाटा सधैंभरी काम लाग्ने हुन्छ।
समग्र क्षेत्रको विकासमा एआईको प्रयोगलाई कसरी अगाडि बढाउने ?
नेपालमा भर्खर मात्रै सुरुवात थालेको छ। प्रविधिको उच्च प्रयोगमा पर्ने गर्छ एआई। सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ। यसका लागि सचेतना बढाउनुपर्छ। एआई शिक्षाको क्याम्पेन बढाउन आवश्यक छ।
नेपालका लागि एआई शिक्षा कसरी अगाडि बढाउने ?
ठूलो मासमा पुग्न पक्कै पनि सचेतना अभियान नै आवश्यक पर्छ। यसका लागि गत साता सोल्टी होटलमा एआई एक्स्पो गरिएको थियो। एकदिने उक्त एक्स्पोमा एआई भनेको के हो ? के कसरी प्रयोग गर्न सकिन्छ, बिजनेस क्षेत्रमा कसरी प्रयोग गर्ने र फाइदा लिने विषयमा करिब दुई हजारको सहभागितामा एक्स्पो भएको थियो। यस्ता अभियान बढाउँदै जानुपर्ने आवश्यकता छ।
सरकारी निकाय तथा निजी क्षेत्रमा यसको प्रयोग कसरी गर्ने ?
यसका लागि सबैभन्दा पहिलो सर्त जनचेतना हो। अहिले कतिपय बिजनेस हाउसले एआईबारे सुनेका छन्। तर, कसरी प्रयोग गर्ने, फाइदा, बेफाइदा, कति तथ्यांक चाहिन्छ, कस्तो तालिम चाहिन्छ भन्ने विषयलाई क्षेत्रगत रूपमै स्पष्ट बुझाउनुपर्छ। जस्तो बैंकिङ क्षेत्रका लागि एउटा जमघट गराएर यसबारे बुझाउन सकिन्छ।
एआईलाई बिजनेसमा कसरी प्रयोग गर्ने ?
यसको प्रयोगबारे आवश्यक जानकारी लिनुपर्छ। त्यसपछि तथ्यांक संकलन गर्नुपर्छ। कस्तो खालको समस्या समाधान गर्न सकिन्छ भनेर निर्णय गर्नुपर्छ। तथ्यांकको आधारमा एआई मोडल बनाउनुपर्छ। यसरी बनिसकेको मोडल प्रयोग गरेर नतिजा निकाल्नुपर्छ। नजिताको आधारमा सफल भए नभएको निष्कर्ष निकाल्नुपर्छ।
एआईको कार्यालय कहाँ छ ?
हाम्रो फ्युज मेसिन एआई सेन्टर नामको कार्यालय हात्तिसार र कमलादीमा छ। करिब दुई सय जना यस कार्यालयमार्फत सक्रिय छौं। हामीले फ्युज मेसिन एआई शिक्षा फर नेपाल नामक क्याम्पेन चलाइरहेका छौं। एआई शिक्षा फर नेपाल अभियानलाई बढाएका छौं। अहिले विश्वमा करिब ३ लाख योग्य एआई इन्जिनियर छन्। तर, अध्ययनका अनुसार अहिले नै ४० लाख जनशक्तिको माग भइरहेको छ।
विश्व बजारमा एआई शिक्षा फर नेपालको अभियानबाट हामीले जम्मा १० हजार जना दिन सकियो भने यसको प्रभाव निकै राम्रो देखिन्छ। एआई शिक्षा फर नेपाल अहिले हामीले चलाइरहेको महŒवपूर्ण र प्राथमिकताको अभियान हो। यसले अहिले हामीसँग भएको दुई सय जनामा मात्रै सीमित रहने हैन। यसका निम्ति १० हजार दक्ष जनशक्ति तयार पार्ने हो भने विश्व बजारमा हाम्रो पहिचान छुट्टै हुन्छ।
एआई इन्जिनियर कसरी तयार गर्ने ?
कम्प्युटर साइन्समा स्नातक गरेको जनशक्तिलाई ६ देखि १२ महिनाको तालिम दिएपछि दक्ष एआई इन्जिनियर तयार हुन्छ। हामीले धेरैजसोलाई १२ महिनाको चारवटा कोर्स दिने गरेका छौं। कसैलाई भने थप अध्ययन गराउनुपर्ने भएकाले १८ महिनासम्म पनि लाग्ने गरेको छ।
एआई शिक्षालाई कसरी प्राथमिकतामा लैजाने ?
हाम्रो अहिलेको मुख्य क्याम्पेन नै एआई शिक्षा फर नेपाल हो। फ्युज मेसिन कम्पनी आफैंले एआईको तालिम दिएर सयांै जनशक्ति तयार पारिरहेका छौं। यो हाम्रो कम्पनी विश्वव्यापि छ। अमेरिका, युरोप, एसिया र अफ्रिकासहित देशमा यो कम्पनी छ। हामीले सन् २०१३ मा सुरु गरेको यो कम्पनी नेपालमा अन्य मुलुकसँगै खुलेको हो। सचेतना जगाउन नेपालमा मात्रै नभई विश्वभर गइरहेका छौं।
मानवीय रोजगारीलाई चुनौती
प्रविधिको प्रयोगले पुराना कामको भविष्य सकिन्छ। तर, नयाँ प्रविधिको सिर्जनाले दीर्घकालीन फाइदा दिन्छ र रोजगारी बढ्छ। यसले थप रोजगारी सिर्जना पनि गर्दै जान्छ। निश्चित तहको रोजगारी नहोला तर यसले दीर्घकालीन लाभ भने पक्कै दिन्छ।
नेपाली बजारको अनुसन्धान कसरी भएको छ ?
नेपालमा १० वर्षभित्रमा १० हजार एआई इन्जिनियर तयार पार्न सकियो भने विश्व बजारमा नेपालको पहिचान छुट्टै हुन्छ। नेपालमा दक्ष एआई इन्जिनियर छन् भनेर निकै ठूलो महŒव हुन्छ। अहिले अन्तर्राष्ट्रियस्तरमा यसको दक्ष जनशक्ति तयार पार्न प्रतिस्पर्धा सुरु भएको छ। हामीले अबको एक वर्षमा पाँच सय जना तयार गर्ने लक्ष्य लिएका छौं।
जनशक्ति तयार पार्ने प्ल्याटफर्म के छ ?
हामी आफैंले हात्तिसारमा एआई सेन्टर खोलेका छौं। यो कोलम्बिया युनिभर्सिटीको माइक्रोमास्र्टर्ड सर्टिर्फिकेटको हो। यो एआई फेलोसिप भन्ने कार्यक्रमबाट सुरु गरिएको हो। यो स्नातक सकिएका विद्यार्थीलाई लिने एक वर्षे कोर्स हो। यो करिब तीन सय जनाका लागि हो। यहाँ पूर्ण मेरिट बेसका आधारमा विद्यार्थी लिइन्छ।
अब हामीले कलेजहरूसँग पनि एप्रोच गरिरहका छौं। चार पाँचवटा कलेजले फ्युज मेसिनको एआई सेन्टर खोल्ने र सोहीअनुसार अध्ययन गराउने इच्छा गरेका छन्। हामीले निश्चित बिजनेस प्लान बनाएर यस विषयमा अनुमति दिन्छौं।
सरकारी तहबाट गरिएको अपेच्छा के छ ?
सरकारले सहजीकरण गरिदने, आवश्यकताअनुसार सिलेबस अपडेट गर्ने काम गरिदिनुपर्छ। विश्वबजारमा प्रतिपस्पर्धा गर्ने खालको सिलेबस बनाउने हो भने सरकारलाई पनि सहज हुने र विद्यार्थीले अध्ययन गर्न पाउँछन्। यसका साथै सरकारले उच्च तहको कार्यक्रम तय गर्नुपर्छ।
अनुसन्धान केन्द्र खोल्ने तथा मास्टर्ड इन एआईसहितका कार्यक्रम सरकारी तहबाटै भयो भने थप सहयोग पुग्छ। साथै, शिक्षक तालिम पनि आवश्यक पर्छ।