चन्द्रमामा भारतले पठाएको यान आज अवतरण हुँदैछ यसरी
नयाँदिल्ली : भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा आज शुक्रबार राति अवतरणको तयारीमा छ ।
शुक्रबार राति अर्थात् शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेसम्मको अवधिमा चन्द्रयान अवतरण हुने बताइएको छ । साथै चन्द्रमाको एक दिनको अवधिमा केही प्रयोग पनि गरिनेछ ।
त्यहाँ पठाइएका रकेटको गति अवतरणका बेला कम हुँदै केही बेर हावामै तैरिनेछन् । यसअघि अमेरिका, चीन र रुसले आफ्ना यान चन्द्रमामा पठाइसकेका छन् । वैज्ञानिकहरुले भने चन्द्रमाको धुलो चन्द्रयान अवतरणका लागि चुनौती हुनसक्ने बताएका छन् ।
‘ल्याण्डर’लाई धुलोले छोपेर अवतरणमा बाधा पुर्याउनसक्ने उनीहरुको चिन्ता छ । यसका लागि अवतरणको अवधिभर चार प्रक्षेपक स्वतः बन्द हुनेछन् र एउटा मात्रै चालू रहनेछ ।
जसले गर्दा धुलो उड्ने क्रम रोक्ने वैज्ञानिकको हवाला दिँदै भारतीय मिडियाले जनाएका छन् । चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’को अहिलेसम्म ३८ वटा प्रयास भएका थिए । तर ५२ प्रतिशत मात्रै सफल भएका छन् । चन्द्रमा छुने पहिलो प्रयास अमेरिका र सोभियत संघ रुसले गरेका थिए ।
अहिलेसम्म चन्द्रमामा संसारभरबाट ६ देश तथा एजेन्सीले स्याटलाइट यान पठाएका छन् । भारतले ३८७७ केजी तौलको चन्द्रयान–२ गत जुलाइ २२ मा लन्च गरेको थियो ।
उक्त यानले पृथ्वीलाई २३ दिनसम्म चक्कर लगाएर चन्द्रमाको कक्षमा पुग्न ६ दिन लगाएको थियो ।