लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का नेकपाबाट निलम्बित

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का नेकपाबाट निलम्बित

काठमाडौं  :  तत्कालीन एमालेबाट निर्वाचित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई नेकपाले निलम्बन गरेको छ । बिहीबार बसेको प्रदेश कमिटीको बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य खड्कालाई निलम्बन गरेको हो ।

पार्टीको नीति र जनताको भावना विपरित एकलौटी ढंगले खड्का अगाडि बढेकाले पार्टीको जिल्ला सदस्य लगायत सबै जिम्मेवारीबाट हाललाई निलम्बन गरिएको नेकपाका ३ नं प्रदेश सचिव आनन्द पोख्रेलले जानकारी दिए । उनले भने ,‘खड्कालाई पार्टीले दिएको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय भएको छ ।’

लिखु तामाकोशी गाउँ कमिटीमा आबद्ध नेकपाका जिल्ला कमिटीका सदस्यहरुले खड्काले पार्टीलाई बदनाम गरेको भन्दै कारवाहीको माग गरेका थिए ।

के हो मुख्य विवाद

अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए ।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेका थिए । गाउँपालिकाबाट विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेका थिए ।

विद्युतीकरणको रकम भुक्तानीको खड्काको प्रस्तावमा असहमति जनाएपछि ७ नं वडाअध्यक्ष सुबास बोहोरा र प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहार गरेको घटना सार्वजनिक भएको थियो।

बैठकमा गाउँपालिकामा कार्यविधी विपरीत एम्बुलेन्स संचालन गरेको, पालिका भित्रको हरहिसाब आर्थिक पारदर्शिता नभएकाले सबै कारोबारको छानबीनसहित कार्यपालिकामा पेश गर्न लेखा समिति गठन गर्नुपर्ने लगाएतको माग राखेको वडाअध्यक्ष सुबास बोहोराले बताए । घटनापश्चात असन्तुष्ट जनप्रतिनिधि जिल्ला सदरमुकाम पुगेर पत्रकार सम्मेलनसमेत गरेका थिए।

पालिकामा पार्टी हित विपरीतका काममा लागेर बदनाम गराएको भन्दै वडाअध्यक्षहरुले जिल्लातहका नेताहरुसँग गुनासो गर्दै आएका थिए ।

स्वयम्भू गोलीकाण्डपछि विवाद उत्कर्षमा

काठमाडौंको स्वयम्भूमा साउन २४ गते प्रहरीले गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) लाई पक्राउ गर्यो । उनीसँगै अमृत तामाङ पनि प्रहरीले समातेको थियो । लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।

उक्त गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाएका थिए ।  वडाध्यक्ष बोहराले मन्थली आएर प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिएका थिए । उपाध्यक्षसहित वडाध्यक्षलाई झुट्टा मुद्दामा अध्यक्षले फसाउन खोजेको तर्क गरेका छन् ।

यता फिरौती माग्न योजना बनाएको आरोपमा उपाध्यक्ष दिपशिखा दाहालसहित वडा अध्यक्षको नाममा अदालतमा अध्यक्ष खड्काले किटानी जाहेरी दिएका छन् । 

के भन्छन् गाउँपालिका अध्यक्ष ?

गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले अहिलेसम्म पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको औपचारिक जानकारी आफूले नपाएको बताएका छन् । अन्नपूर्णसँगको कुराकानीमा उनले भने ' निलम्बन गरेको हल्ला सुनेको छु, मलाई पत्र आएको छैन।'

उनले गाउँपालिकाको विकास र जनताको हितमा काम गर्दा आफूलाई कार्यपालिका सदस्यहरुको असहयोग भएको बताए । स्वयम्भूमा २ युवा प्रकाउ परेसँगै प्रहरी अनुसन्धानबाट उपाध्यक्ष र वडाध्यक्ष दोषी भएको खुलेको बताउँदै खड्काले भने, 'कानुनभन्दा माथि कोही छैन न्यायिक समितिको संयोजक, जिम्मेवारीमा बसेको मान्छे आपराधिक गतिविधिमा लाग्छ भने जोगाउँनु हुदैन।'

उनले आफ्ना कर्तुत ढाकछोप गर्न आफूलाई निलम्बन गर्नुपर्छ भन्दै केहि व्यक्ति लागी परेको धारणा राखे। प्रदेश कमिटीको निर्णयले आफूलाई विचलित नबनाएको बताउँदै खड्काले भने- 'म जनताको मान्छे हुँ, नियम बमोजिम गाउँपालिकामा काम गर्न कसैले रोक्न सक्दैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.