कोसीपीडितले कहिले पाउँछन् न्याय ? यस्तो छ आन्दोलन (भिडियो)
विराटनगर : क्षतिपूर्ति माग्दै कोसी पीडितले सुरु गरेको अनशन २३ दिनदेखि जारी छ। सम्बन्धित निकायले न्यसका लागि चासो नदिएको पीडितले गुनासो गरेका छन्। कोसी नदी कटान डुबान संघर्ष समितिले तीन बुँदे माग राख्दै कोसी ब्यारेजमा रिले अनशन सुरु गरेका हुन्।
अनसनका विषयमा केन्द्र सरकारले मुख नखोल्दा कोसीपीडित थप समस्यामा पर्दै गएको संघर्ष समितिका सह–संयोजक ज्योती झाको भनाइ छ।
‘साउन ३२ यता अनसन बसेको एक महिना हुन लाग्यो, हाम्रो माग कोसी सम्झौता कार्यान्वयन गर्नुपर्छ भन्ने हो’, झाले भने, ‘बाबु–बाजे देखिको माग अझै सुनुवाइ भएको छैन, नेपाल सरकार लाचार बनेको देखिन्छ,’ झाले भने।
नेपाल–भारतबीच २०११ वैशाख १२ मा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, कोसी योजनाले अधिग्रहण गरेको जग्गामा मात्र पाइलट च्यानलको काम हुनुपर्ने, सम्झौता अनुसार पीडित नेपाली नागरिकलाई जागिर दिनुपर्ने, कोसीबाट प्रभावित परिवारका लागि विद्यालय र अस्पताल खोल्नुपर्ने तथा नेपाली भूभागमा कोसी योजनाले कुनै कामकारबाही सुरु गर्नुअघि नेपाल सरकारसँग अनुमति लिनुपर्नेलगायत माग अघि सारेका छन्।
प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीबीचमा रहेको सप्तकोसी नदीमा पुल निर्माणका क्रममा भारत सरकारले अधिग्रहण गरेको तीन जिल्लावासीको सयौं बिघा नम्बरी जग्गाको मुआब्जा ७३ वर्ष नाघिसक्दासम्म भारतले दिएको छैन।