कृषि, पर्यटन र जलस्रोत समृद्धिका मुख्य आधार
सर्वोच्च शिखर सगरमाथादेखि विश्वकै होचो भूमि केचनाकलनसम्मको भौगोलिक विविधतायुक्त सुन्दरता संयोगवश प्रदेश १ का सम्पदा हुन्। अपार सम्भावनाको क्षेत्र हो यो। सरकारले नारा बनाएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य दत्तचित्त भएर लाग्ने हो भने प्रदेश १ लाई पूरा गर्न धेरै वर्ष कुर्नु पर्दैन। तर, त्यसका लागि चाहिन्छन्– योजना र सुशासन। त्यसमा भने राजनीतिक क्षेत्र, नीति निर्माता र कार्यान्वयनकर्ता नै ढुक्क छैनन्।
प्रदेश १ का जनप्रतिनिधि र सरोकारवालाले कृषि, पर्यटन र जलस्रोतमा विकास भए मात्र समृद्धि हासिल हुन सक्ने बताएका छन्। शुक्रबार अन्नपूर्ण मिडिया नेटवर्कले विराटनगरमा आयोजना गरेको ‘प्रदेश १ को समृद्धि’ विषयक राउन्ड टेबलमा सहभागी जनप्रतिनिधि र सरोकारवाला व्यवसायीले समृद्धिका आधारमा तीनै तहको ध्यान जान नसकेको बताए।
समृद्धिका आधारहरु तयार पारेका छौं
समृद्ध नेपाल र सुखी नेपालीको यात्रा प्रारम्भ भएको छ। यस घडीमा प्रदेशका समृद्धिका आधार केके हुन सक्छन् भनेर खोजी भइरहेको छ। सबैखाले विकासलाई योजनाबद्ध र दिगो बनाउन अन्नपूर्ण मिडिया नेटवर्कको यो ‘समृद्धि हातेमालो’ अभियानले योगदान दिन सकोस्। हामी नेपाली मौलिकता र विशेषतामा आधारित संघीय प्रणालीमा अघि बढिरहेका छौं। तीन तहको सरकार छ। सबैको पहिचान, सहभागिता र प्रत्यक्ष नेतृत्वलाई प्रतिनिधित्व गर्ने गरी सरकार अघि बढेको छ। मौलिकता र विशेषतामा आधारित शासन प्रणालीअन्तर्गत संघीय प्रणालीमा हामी छौं।
मुख्यमन्त्री शेरधन राई
प्रदेश विल्कुलै नयाँ संचरना हो। शून्यमा उभिएर काम थाल्नु परेको छ। गुन्द्री र पिरामा बसेर काम थाल्यौं। धेरै कानुन बनेका थिएनन्। संरचना थिएनन्। तर पनि जिम्मेवारी बोधका साथ नेतृत्व लिन तयार भएर म मुख्यमन्त्री भएको डेढ वर्ष भयो। यो समयमा सहज महसुस गर्न सकिनँ। धेरै चुनौती, अप्ठेरा र आवश्यकता देखा परे। त्यति हुँदाहुँदै पनि प्रदेश सरकार समृद्धिको आफ्नो यात्रामा अघि बढेको छ।
समृद्धिका महत्त्वपूर्ण आधारहरू तयार पारेका छौं। धेरै नियमावली, कार्यविधि र कानुन बनाएका छौं। कानुनलाई टेकेर बजेट ल्याएका छौं। विभिन्न आधारमा ठीकठीकै हिँड्न सकेका छौं। सही उद्देश्य र सही बाटोमा हिँडेका छौं। स्वच्छ, सफा, समृद्ध प्रदेशको गन्तव्य तय गरिएको छ। प्रदेशका गौरवका आयोजना केके हुन सक्छन् भनेर खोजी भइरहेको छ।
कृषि, पर्यटन र विद्युत् एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं। सरकारको पहिलो प्राथमिकतामा कृषि हो। योजनाबद्ध र आधुनिक विकासका लागि बृहत् विराट क्षेत्र विकास समितिको अवधारणा ल्याएका छौं। परियोजना तयार गर्ने, कानुन बनाउनेलगायत सरकारका विभिन्न काम सकेर प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी छ। स्रोत र सम्भावना केलाएर सबै दल, सबै पक्ष एकमत र साझा रूपमा सहकार्य गरेर अघि बढेका छौं।
विभिन्न सम्भावनाका विषयमा व्यक्त विचार र भावनालाई सरकारले सम्बोधन गर्ने छ। यस प्रदेशमा कृषि पहिलो प्राथमिकतामा छ। नमुना मोडलका परियोजना सुरु हुँदै छन्। अलिकति बढी छलफल र गृहकार्य भइरहेको छ। निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा नमुना परियोजना अघि बढाउने घोषणा सरकारले गरेको छ। कृषिको विकास र आधुनिकीकरणका लागि नयाँ मोडलमा काम गर्छौं। बजार र उद्योगको प्रवर्द्धन एवं संरक्षणमा सरकार अघि बढ्छ। पर्यटन वर्ष २०२० सँग जोडेर कतिपय प्रोडक्टलाई तयार गर्न सकिन्छ भनेर सरकार लागिपरेको छ। हाम्रा पर्यटक को हुन सक्छन् ? पूर्वाधारको विकास कसरी हुन सक्छ ? लगायतका विषयमा छलफल र गृहकार्य भइरहेका छन्। पर्यटन प्रवर्द्धन गरेर लाभ लिने हिसाबमा सरकार अघि बढ्ने छ। सांस्कृतिक, धार्मिक, कला, साहित्य क्षेत्रमार्फत पर्यटन प्रवर्द्धन र विकासको सम्भावना छ। विराटनगर विमानस्थल प्रदेश सरकारको कार्यसूचीमा छ। यसको स्तरोन्नतिको काम तत्काल सुरु हुन्छ। जग्गा अधिग्रहणलगायतका काम छिटै सुरु गर्ने सरकारको तयारी छ।
औद्योगिक ग्राम निर्माण, विभिन्न प्रमुख राजनेताहरूका नाममा पार्क र संग्रहालय बनाउन सरकार लाग्ने छ। संघीय सरकारले पनि यस विषयमा ध्यान दिनुपर्छ। विद्युत् आपूर्तिको समस्याले उद्योगधन्दा सञ्चालनमा समस्या छ। यो समस्या समाधान गर्न पहल सुरु गरेको छु। सरोकारवालासँग पहिलो बैठक सकिएको छ। जतिसक्दो चाँडो समस्या सुल्झाउँछौं। सरकारले मनपरी कर लिएको विषयमा समायोजनका कुरा पनि आइरहेका छन्। करमा नमिलेका विषयलाई समायोजन गरिन्छ। यो विषयमा प्रधानमन्त्रीसँग छलफल हुन्छ। पर्यटन क्षेत्रमा सहयोग गर्न सरकार तयार छ। युवाहरूलाई उद्यम र पर्यटनसँग जोडेर लैजान नीति तथा कार्यक्रममै समेटिएको छ।
भ्रष्टाचार रोकिए मात्र समृद्ध प्रदेश
समृद्धि भन्नेबित्तिकै सम्पन्नता भन्ने बुझिन्छ। यसका आधार कृषि, पर्यटन, जडिबुटी र उद्योगधन्दा नै हुन्। भौतिक, सामाजिक, मानवीय विकासमा हामी दौडिन जरुरी छ। मानवीय विकासका लागि मौलिक अधिकार लिपिबद्ध छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न हामी लाग्नु पर्छ।
सरस्वती पोखरेल। उपसभामुख, प्रदेश १
सबै विद्यालयलाई प्रविधिमैत्री बनाउनु पर्छ। कृषिका नयाँनयाँ योजनाहरू ल्याउनु पर्छ। हाम्रा संरचना नयाँ तर परिपाटी पुरानै कायम छन्। सुशासनको बाधक भ्रष्टाचार हो। भ्रष्टाचार रोक्न जरुरी छ। यो नरोकिए समृद्ध प्रदेश बनाउन गाह्रो हुन्छ।
प्रदेशलाई अप्ठ्यारोमा पारियो
हामी शासन, सत्ता र शक्ति सञ्चालनमा केन्द्रित छौं। विभिन्न कुरामा लाग्दा हामी अलमलमा परेका छौं। हामीमा आफू कसरी शक्तिशाली बन्ने भन्ने ध्याउन्न मात्रै छ। कृषि, पर्यटन, जलस्रोत र विद्युत् समृद्धिका आधार हुन् भन्नेमा ध्यान जान सकेको छैन। हामीमा अनुशासन छैन। पाहुनाको स्वागत गर्ने संस्कार छैन। कोही नयाँ विदेशी पर्यटक आए भने कसरी हुन्छ धेरै पैसा लिन पाए हुन्थ्यो, लुट्न पाए हुन्थ्यो भनेर लाग्छौं।
केदार कार्की। प्रमुख सचेतक, प्रदेश १ नेपाली कांग्रेस
करका नाममा ठाउँठाउँमा पैसा उठाइन्छ। सरकारी नियमले पनि पर्यटकलाई अप्ठेरो पारेको छ। हाम्रो सरकारी नियम कति पवित्र छ ? भन्ने पर्यटकसँग ठाउँठाउँमा गर्ने असुलीले बताउँछ। धार्मिक पर्यटनले प्रदेशलाई समृद्ध बनाउन सहयोग गर्छ। जबसम्म उद्योगी–व्यवसायीलाई सुरक्षा दिएर लगानी गर्ने वातावरण बनाउन सकिँदैन तबसम्म समृद्ध प्रदेशको कल्पना गर्नु बेकार हुन्छ। उद्योगी, व्यवसायीको सुरक्षा र उत्पादनमा जोड दिनु पर्छ।
जबसम्म उद्योगी–व्यवसायीलाई सुरक्षा दिएर लगानी गर्ने वातावरण बनाउन सकिँदैन तबसम्म समृद्ध प्रदेशको कल्पना गर्नु बेकार हुन्छ। उद्योगी, व्यवसायीको सुरक्षा र उत्पादनमा जोड दिनु पर्छ।
काठमाडौंलाई आधुनिक र सहज बनाउने नाममा त्यहाँबाट पर्यटकलाई टाढाटाढा पठाउने काम भएको छ। त्यो राम्रो होइन। सहरको प्राकृतिक स्वरूप बिगारेर कृत्रिम बनाइँदा पर्यटकको आकर्षण घट्छ। पर्यटक लोभ्याउन चरा, अर्नालगायतको संरक्षण पनि छैन। भाषाको अध्ययन र सुशासनको शिक्षा मात्रै दिन सक्नु पर्छ। हाम्रो शैक्षिक पद्धति र अनुशासनलाई सुधारेर लगियो भने पर्यटन प्रवर्द्धनमा सजिलो हुनेछ।
उद्योगलाई धराशायी बनाउन खोजिँदै छ
प्रदेश १ सम्भावनाले भरिएको छ। कृषि, पर्यटन, धार्मिक एवं औद्योगिक सम्भावना धेरै छन्। यसका लागि पूर्वाधार आवश्यक छ। उद्योगमा कसरी उत्पादन भइरहेको छ भन्ने ख्याल छैन। तीनवटा सरकार आआफ्नै तालमा छन्। आम नेपालीको समस्या समाधान गर्न चासो छैन।
उद्योगी–व्यवसायीको पीडा सरकारले बुझेन। खालि उद्योगी–व्यवसायीलाई कर लिने माध्यम मात्रै बनाइयो। सेवा दिइएन। सरकारलाई कर मात्रै बुझाउने अनि सेवा केही पनि नपाउने अवस्थाले उद्योगी–व्यवसायीले पलायन हुनुपर्ने अवस्था छ।
पवनकुमार सारडा। उद्योगी, संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्वअध्यक्ष
सबै क्षेत्रलाई समान रूपले हेर्ने दायित्व सरकारको हो। उद्योगी–व्यवसायी कुन रूपले सक्षम छन् भन्ने चाहिन्छ ? विभिन्न खालका कानुन ल्याएर उद्योगी–व्यवसायीलाई नै अप्ठेरो पार्ने काम भएको छ। सरकार पैसा लिन्छ। तर सेवा दिँदैन।
स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल आवश्यक छ। उद्योगलाई बढी कर लिँदा उद्योग व्यवसाय धराशायी बन्छन्। सरकारले पनि धराशायी बनाउन लागेको छ। सबैले प्रदेशको उन्नति खोजेका छौं। इन्फास्ट्रक्चर नै छैन। सरकारको ध्यान जान जरुरी छ।
कृषिलाई औधोगीकरण गर्नुपर्छ
स्थानीय, प्रदेश र संघीय सरकार निर्माणपछि आर्थिक समृद्धिको हुटहुटी बढेको छ। धेरै कानुन बनेका छन्। निजी क्षेत्रको सहभागिताका लागि कानुनहरू बनेका छन्। कृषिमा निजी क्षेत्रलाई कसरी सहभागिता गराउने भन्ने हुटहुटी छ। कृषिलाई रूपान्तरण गर्नु पर्छ। धेरै जनसंख्या कृषिमा आधारित छ। कृषिलाई औद्यौगीकरण गर्नु पर्छ। कृषिको आधुनिकीकरण गर्नु पर्छ।
अर्थविद् प्रा.डा. अर्जुन बराल।
आगामी दिनमा कृषिलाई कसरी लैजाने भन्ने विषय महत्त्वपूर्ण छ। इलाममा १९३५ चिया प्रशोधन केन्द्र खुलेका छन्। यसले कृषि क्षेत्रको विकासलाई सहयोग गर्नेछ। बढ्दो बरोजगार कम गर्न कृषि क्षेत्रलाई औद्योगीकरणतर्फ लैजानु पर्छ। कृषिको संरचनागत रूपान्तरण आवश्यक छ।
हलेसी र पाथिभरालाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्नुपर्छ
-बबि चाम्लिङ, प्रमुख, जिल्ला समन्वय समिति खोटाङ
पर्यटन देशको मेरुदण्ड हो। चुनौतीहरू धेरै छन्। अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले ल्याएको तीनखम्बे अर्थनीतिअनुसार अघि बढ्नु पर्छ। पर्यटन प्रवर्द्धन तथा धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धनमा ध्यान दिनु पर्छ। हलेसी महादेव र पाथिभरा मातालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइनु पर्छ।
पर्यटक आउने वातावरण छैन
जीतेन्द्र रुम्दाली। अध्यक्ष, होटल एसोसिएसन भेडेटार धनकुटा
सम्भावना बोकेको प्रदेश भए पनि हामी पछि परेका छौं। भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय सरकार र जनप्रतिनिधि लाग्नु पर्छ। पर्यटन र विद्युत् देशको अर्थतन्त्र उकास्ने आधार हुन्। तेस्रो मुलुकका पर्यटक यहाँ आउने वातावरण बन्न सकेको छैन। निजी क्षेत्रबाट पनि कमजोरी भएको हुन सक्छ। स्थानीय र प्रदेश सरकारले चासो राख्नु पर्छ।
रोजगार सिर्जना गर्ने पर्यटन व्यवसायलाई निरुत्साहित गरिएको छ। कसरी माथि उकास्न सकिन्छ भन्नेमा लाग्नु पर्छ। भेडेटार अन्यत्रभन्दा भिन्न छ। मौसम र त्यहाँको वातावरणका कारण पर्यटक आउँछन्। हाम्रै प्रयासमा भारतीय पर्यटकलाई लक्ष्यित गरेर कार्यक्रम गर्ने गरिएको छ। यस्ता कार्यक्रम निजी क्षेत्रको प्रयासमा मात्रै भए। सरकारले पनि चासो दिनु पर्छ।
हामीलाई खर्च गर्ने पर्यटक चाहिएको छ
-भविषकुमार श्रेष्ठ। पर्यटन व्यवसायी
धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनमा शिक्षा र स्वास्थ्य पनि जोडिएका हुन्छन्। आन्तरिक, बाह्य र तेस्रो मुलुकका पर्यटक कम भएका छन्। भारतीय पर्यटक धेरै आउने गरे पनि विभिन्न अवरोध र व्यवधानको सिकार बन्नु पर्छ। प्रदेश १ को राजधानी विराटनगर भनेर मात्रै पर्यटक आउँदैनन्। भारतीय पर्यटकलाई सहज व्यवस्थापन गर्न आवश्यक छ। संघीयता आइसक्दा पनि हरेक निर्णय केन्द्रबाटै हुन्छ।
पर्यटन प्रवर्द्धनमा दिनरात लाग्दा पनि गर्न नसकिने अवस्था छ। प्रदेश १ मा भएका विमानस्थलहरूमा विराटनगरबाट उडान हुने हो भने पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ। भारतको गुहाटीबाट पनि विराटनगरका लागि उडान भइदिए राम्रो हुने थियो। उडान नहुँदा पर्यटकले जान चाहेको ठाउँमा लैजान गाह्रो हुन्छ। पर्यटकले कहीं जान खोज्दा धेरै समय खर्चनुपर्ने हुन्छ। जहाजबाट जाँदा थोरै समयमा पुग्न सक्छन्। क्यासिनो व्यवस्थापनमा पनि ध्यान दिनु पर्छ। मन्दिर घुम्न आउने पर्यटकले खर्च गर्दैनन्।
हामीलाई खर्च गर्ने पर्यटक चाहिएको हो। केन्द्रले आज पनि प्रदेशलाई हेलाँ गर्छ। हिजो पनि हेलाँ गरेकै हो। विराटनगरमा पर्याप्त होटलहरू छन्। होटल भएर पर्यटक नआए कहाँबाट पर्यटन प्रवर्द्धन हुन्छ ? केन्द्र घच्घच्याउनु पर्छ। प्रदेशले मात्रै सम्भावना छैन। पूर्वमा भएका पर्यटन प्रवर्द्धनका विषयलाई सरकारले घोषणा गरेको २०२० सँग जोडेर हेर्नु पर्छ।
साहित्य पनि पर्यटन प्रवर्द्धनको आधार
सीमा आभाष। साहित्यकार
सडक, कृषि, पर्यटन आदि क्षेत्रमा बजेट छुट्ट्याइन्छ तर साहित्यमा छुट्ट्याइँदैन। पर्यटन प्रवर्द्धनको आधार साहित्य हो भन्ने बुझ्नु पर्छ। ६ जना प्रधानमन्त्री जन्माएको विराटनगरमा उनीहरूका नाममा संग्रहालय बनाउन सकिए पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ। औद्योगिक क्रान्ति र सञ्चारको सुरुवात यहींबाट भए। तर, यी पक्षको संरक्षण गरेर संग्रहालय बनाउने काम हुन सकेको छैन। संग्रहालय बनाउन सकेको भए धेरै पर्यटक आउने थिए।
राष्ट्रले आफ्नो सम्पत्ति भनेर गर्व गर्ने विषय पनि बन्थ्यो। बजेट छुट्ट्याएर यस कुरामा ध्यान दिनु पर्छ। सिद्धिचरण श्रेष्ठले मेरो प्यारो ओखलढुंगा भनेर एउटा कविता लेख्दा ओखलढुंगाको चर्चा धेरै छ। सबैलाई एकपटक ओखलढुंगा पुगौं भन्ने लाग्छ। त्यही भएर पर्यटन प्रवर्द्धनमा साहित्यको महत्त्वपूर्ण योगदान हुन्छ। त्यही भएर साहित्य र संस्कृति संरक्षणका लागि बजेट छुट्ट्याइनु पर्छ। साहित्यले मुलुकलाई विश्वमा चिनाउँछ। कला, साहित्य र संस्कृतिबाट पर्यटनलाई चिनाउन सजिलो हुन्छ। यसरी नै समृद्धिको आधार बन्ने हो।
भारतीय पर्यटक भित्र्याउन जोड दिनुपर्छ
समृद्ध प्रदेश बनाउन कृषि र पर्यटनलाई जोड दिनु पर्छ। आत्मनिर्भर अर्थतन्त्रको जग नै कृषि र पर्यटन हो। प्रदेश र संघीय सरकारले लगानी गर्नु पर्छ। पर्यटन प्रवर्द्धनका लागि सडक र पूर्वाधारको विकास गर्न जरुरी छ। सडक सञ्जाल विस्तार जरुरी छ।
द्वारिकलाल चौधरी। मेयर, इटहरी उपमहानगरपालिका
सडकले तराईका पहाड र पहाडका तराईसम्म उत्पादन लैजान सकिन्छ। त्यसैले पनि पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ। औद्योगिक क्षेत्रको विकासमा पनि ध्यान दिन जरुरी छ। सीमानाका व्यवस्थित गरेर भारतीय पर्यटकलाई भित्र्याउन विशेष पहल गर्नु पर्छ।
पर्यटकीय स्थलमा सडक पुर्याउनुपर्छ
- फणीन्द्र अधिकारी। पर्यटन व्यवसायी
पर्यटक कसरी भित्र्याउने भन्ने विषयमा हामी कमै मात्रामा छलफल गर्छौं। पर्यटकको इच्छा, आकांक्षा बुझ्नु पर्छ। होमस्टे, होटल, पर्यटकीय स्थल व्यवस्थित गर्नु पर्छ। प्रत्येक पर्यटकीय स्थलमा सडक पुग्नु पर्छ।
विमानस्थलको पहुँचले समय बचत गराउँछ। त्यही भएर हवाई उडानमा विशेष ध्यान दिनु पर्छ। पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धन गर्न ग्रामीण क्षेत्रसम्मै पुग्न जरुरी छ। खानेकुराको व्यवस्थापनले पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
किसानलाई हेर्ने निकाय छैनन्
- निरा भगत। कानुन व्यवसायी एवं महिला अधिकारकर्मी
किसानलाई हेर्ने कोही र कुनै निकाय छैनन्। योजनामा कृषिलाई प्राथमिकता दिइन्छ, तर यसको प्रवर्द्धनमा बेवास्ता गरिएको छ। धानको मूल्य फरक–फरक छ। किसान, गरिब र दुःखी सबैभन्दा बढी ठगिएका छन्। यसको समाधान गर्नु पर्छ। प्रदेश समृद्ध बनाउन कृषि क्षेत्रलाई व्यवस्थित गर्नु पर्छ।
सबै तहका सरकार मिलेर बढ्नुपर्छ
- विपिन राई। मेयर, पाँचखपन नगरपालिका संखुवासभा
प्रदेश १ सबै कुराको धेरै सम्भावना बोकेको प्रदेश हो। उद्योग, पर्यटन विकासदेखि अन्य पक्षको पनि प्रवर्द्धन गर्न सके मुलुककै सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिन्छ। यसमा संघीय र प्रदेश सरकारले ध्यान दिन जरुरी छ।
स्थानीय सरकारसँग समन्वय गरिनुपर्छ। सबै तहका सरकार मिलेर अघि बढ्न सके समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा सार्थक हुन्छ। पर्यटक भित्र्याउन सकिन्छ। कसरी पर्यटक भित्र्याउने र औद्योगिक क्षेत्रमा कसरी लगानी गर्ने भन्नेबारेमा छलफल आवश्यक छ। निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ।
क्षेत्रीय स्तरको विमानस्थल बनाइनुपर्छ
- तुलसी पोखरेल। व्यवसायी विराटनगर
प्रदेश १ भर्जिन ल्यान्ड हो। यहाँ समृद्धिका धेरै आधार छन्। पर्यटन प्रमुख आधार हो। पर्यटनमा थोरै लगानी गरियो भने धेरै फाइदा लिन सकिन्छ। पर्यटक आकर्षित गर्न सकियो भने पर्यटक प्रवर्द्धनमा मद्दत पुग्छ। विशेष गरेर पर्यटकलाई गाँस र वासको आवश्यकता पर्छ। दूरदराजका पर्यटकीय स्थललाई कसरी स्थापित गर्न सकिन्छ भन्नेतर्फ सोच्नु पर्छ। सरकारले सहुलियत प्रदान गर्नु पर्छ।
पर्यटनमा गरिएको लगानी सुरक्षित गर्नका लागि राज्यले ध्यान दिनु पर्छ। पूर्वाधारबिना पर्यटक आउँदैनन्। विराट् राजाको दरबार क्षेत्रलाई व्यवस्थित बनाउन सकियो भने विराटनगरमा पर्यटन प्रवर्द्धन गर्न सजिलो हुन्छ। विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउनेतर्फ लाग्नुपर्छ। पर्यटन प्रवर्द्धन गर्ने मुख्य आधार प्रचार–प्रसार पनि हो। पर्यटकीय गन्तव्य र समृद्धिको आधार तयार गर्ने वातावरण सरकारले बनाउनु पर्छ।
माउन्टेन फ्लाइटले निरन्तरता पाउनुपर्छ
- बासु बराल। व्यवसायी, धरान
स्थलमार्गबाट धेरै भारतीय पर्यटक आउँछन्। उनीहरूको गणना हुँदैन। स्थलमार्गबाट पाँच लाख भारतीय पर्यटक आउँछन्। प्रदेशको मुख्य प्रोडक्ट के हो ? मार्केटिङ र प्याकेजिङलाई पनि ध्यान दिइएको छैन। पर्यटन क्षेत्रलाई सरकारले अनुदान दिनुप¥यो। दूरदराजमा पूर्वाधार विकास मुख्य विषय हो। बिनापूर्वाधार पर्यटक जाँदैनन्। हाम्रो शिक्षा जागिरे मनस्थितिमा अल्झिएको छ। व्यवसायी बनाउने पढाइ हुनुप¥यो। पर्यटकका लागि हाम्रो ठूलो बजार भारत हो। नेपाल छिर्ने भारतीय गाडीमा भन्सार छुट दिनुपर्छ।
भन्सार बुझाएर नेपाल आएको भारतीय गाडीलाई ठाउँठाउँमा कर लगाउने चलन छ। यसले भारतीय पर्यटकलाई निरुत्साहित बनाउँछ। स्थानीय सरकारले भारतीयसँग गर्ने ठूलो मात्राको कर संकलन बन्द गर्नु पर्छ। हाम्रो प्रतिस्पर्धा गान्तोक र दार्जिलिङसँग हो। त्यही भएर पनि विदेशी पाहुनालाई कसरी सहुलियत दिन सकिन्छ र आकर्षिक गर्न सकिन्छ भन्ने सोच्नु पर्छ। पूर्वाधार आवश्यक देखिएका ठाउँमा तत्काल निर्माण गर्नु पर्छ। माउन्टेन फ्लाइटले निरन्तरता पाउनु पर्छ।
युवा पलायन रोक्न रोजगार बढाउनुपर्छ
- एलिना मगर। व्यवसायी, धरान
आर्थिक समृद्धिको आधार सरकारले खोजिरहेको छ। जलस्रोत र पर्यटन समृद्धिको आधार हुन सक्छन्। पर्यटनलाई व्यवसायीकरण गर्न आवश्यक छ। व्यवसायीकरण नगरे पर्यटन प्रवर्द्धन हुँदैन। यसमा सरकारले ध्यान दिनु पर्छ। व्यवसायीकरण गर्न नसकेकैले समस्या भइरहेको छ। पर्यटन व्यवसायलाई वर्गीकरण गरेर सरकारले अनुदान दिन सक्नु पर्छ।
पर्यटनमा लगानी बढाई रोजगार सिर्जना सकियो भने युवाहरूको विदेश पलायन निकै घट्नेछ। पर्यटन प्रवर्द्धनका लागि विश्वविद्यालयको अवधारणा ल्याएर अघि बढ्न सकियो भने उपलब्धि हाँसिल गर्न मद्दत पुग्छ।
प्रदेशमा व्यवसायको अनुमति पाइँदैन
- आशिष राई। होटल व्यवसायी भेडेटार
पर्यटन प्रवर्द्धनकै लागि कुनै अनुमति लिन नै गाह्रो छ। प्रदेशमा अनुमति पाइँदैन। कस्तो विडम्बना छ भने, प्रदेशमा पर्यटन मन्त्रालय र कार्यालय छ, तर अनुमति लिन काठमाडौं पुग्नु पर्छ। धेरै झण्झट बेहोर्नु पर्छ। यसले पर्यटन क्षेत्रमा लगानी गर्नेहरू हतोत्साही हुन्छन्। डराउँछन्। त्यस्तै, साहसिक मानिने खेल बन्जीजम्पको अध्ययन भयो। तर सञ्चालनका लागि अनुमति लिन काठमाडौं जानु पर्छ। यस्ता झण्झट हट्न सके पर्यटन विस्तारमा सहजता आउनेछ।