प्रधानमन्‍त्री र चिनियाँ विदेशमन्‍त्रीबीच बालुवाटारमा 'वान टु वान' वार्ता : के के छन् एजेन्डा ?

प्रधानमन्‍त्री र चिनियाँ विदेशमन्‍त्रीबीच बालुवाटारमा 'वान टु वान' वार्ता : के के छन् एजेन्डा ?

काठमाडौं  : प्रधानमन्त्री केपी ओली र चिनियाँ राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी बीच सोमबार अपरान्ह बालुवाटारमा 'वान टु वान' वार्ता हुने भएको छ। होटल याक एण्ड यतीमा समकक्षी स्तरको दुईपक्षीय वार्ता सकेर वाङ प्रधानमन्त्रीसँगको भेट वार्ताका लागि पाँच बजे  बालुवाटार पुग्‍ने कार्यक्रम छ। त्यहाँ उनले पहिलो चरणमा प्रधानमन्त्रीसँग एक्ला-एक्लैवार्ता गरेपछि सामूहिक (डेलिगेसनस्तर)को वार्तामा सहभागी हुनेछन्।  

प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ। चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ। 

दुई पक्षीय वार्तामा मदन भण्डारी विश्वविद्याल, कोदारी राजमार्गको धुलिखेल-कोदारी खण्डको स्तरोन्नती, रसुवागढी-ठोरी करिडोरमा टोखा-छहरे सुरुङमार्ग एवं बेत्रावती-स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ। 

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीचको वार्ताको एजेण्डामा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदा पनि पर्ने उल्लेख छ। चन्द्रागिरीबाट फर्केर वाङ दूतावास पुगेका छन्। त्यहाँबाट याक एण्ड यतीमा समकक्षी स्तरमा हुने दुईपक्षीय वार्तामा सहभागी हुनेछन्। त्यहाँ केही सहयोग समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसमा मनाङमा अस्पतालको निर्माण, बाढी पीडितलाई राहत सहयोग र सरकारी विद्यालयमा चिनियाँ भाषा अध्ययनलगायतका विषय समावेश छन्। 

पर्याप्त तयारीबिना भएको वाङको यो भ्रमणलाई सरकारले महत्व दिएको छ। आगामी कात्तिकमा हुने भनिएको राष्ट्रपति सी चिनफिङको भ्रमणको गृहकार्यका लागि यो भ्रमण अर्थपूर्ण हुने बताइएको छ। ओली नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको पहिलो औपचारिक राजनीतिक भ्रमण हो। आइतबार पाकिस्ताबाट काठमाडौं ओर्लेका वाङलाई परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

राज्य परिषद् सदस्य समेत रहेका वाङ यसअघि २०७२ को महाभूकम्पपछि आयोजित दाता सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । उनले त्यतिबेला टुडिखेलमा रहेका भूकम्प प्रभावितसँग अन्तरक्रिया गरेका थिए। विदेशमन्त्री वाङसँगै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उप-विदेशमन्त्री लु झाओहुइ, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एसिया डेस्क हेर्ने अधिकारीसमेत सहभागी छन्। 

वाङसहितको टोली सोमबार बिहान चन्द्रागिरी केवल कार चढेर माथि डाँडोमा छोटो समय ट्रेकिङ गरेको थियो। उनको यो कार्यक्रम औपचारिक भ्रमण तालिकामा  थिएन। जोमसोम पुग्‍ने र त्यहाँबाट सीमा नाका अवलोकन गर्ने कार्यक्रम भए पनि मौसमले साथ नदिएपछि विकल्पमा चन्द्रागिरी अवलोकनको कार्यक्रम राखिएको हो। 

पछिल्लो समय प्रधानमन्‍त्री ओलीले महत्वपूर्ण विदेशी पाहुनासँग समूहमा भन्दा वान टु वान वार्ता गर्न मन पराउने गरेका छन्। तर यसले कुटनीतिक स्तरमा भने नराम्रो सन्देश जाने परराष्ट्रका अधिकारीहरु नै बताउँछन्।यसअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा पनि प्रधानमन्त्रीले डेलिगेसन स्तरलाई भन्दा एक्ला-एक्लै वार्ताका लागि धेरै समय छुट्याएका थिए । प्रधानमन्‍त्री तहमा हुने वान टु वान वार्ताले दुईपक्षीय समकक्षी संवाद समेत ओझेलमा पर्ने गरेको छ।

जयशंकरसँग वान टु वान वार्तामा २० मिनेट समय छुट्याएकोमा एक घन्टाभन्दा लामो चलेको थियो। ओली र वाङबीच  १५ मिनेट छुट्याइएको छ तर त्यो अपुग हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिइसकेको छ।जानकारका अनुसार चिनियाँहरु खासगरी एक्ला एक्लै संवाद गर्न रुचाउँदैनन्।तर कार्यकारी प्रमुखको तहमा यस्तो अफर हुँदा इन्कार गर्दैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.