लाशमाथिको ‘महाभोज’

लाशमाथिको ‘महाभोज’

काठमाडौं : 'राजनीति उत्कृष्ट नीतिमध्ये एक हो,'  रंगकर्मी अनुप बरालले महाभोजको परिचय दिँदै भन्छन्, 'जव भ्रष्ट सोचले राजनीतिलाई निर्देशित गर्छ त्यसले समाजको तस्विरलाई विद्रुप र विसंगत बनाउँछ । यसैको सजीव चित्रण हो, महाभोज ।’

मण्डला थियटर अनामनगरमा 'लाशमाथि महाभोज' नाटक चलिरहेको छ । हिन्दुस्तानी साहित्यकार मन्नु भण्डारीले चालिस वर्षअघि लेखेको यो नाटक नेपालको परिपेक्षमा आज पनि समय सान्दर्भिक छ । भदौ १४ गतेदेखि सुरु भएको यो नाटक अशोज १२ गतेसम्म मञ्चन हुन्छ । राजनीति, प्रहरी र मिडियाको कनेक्सनलाई चिरफार गर्न सफल छ नाटक ।

नाटकलाई एपिक शैलीमा प्रस्तुत गरेका छन् निर्देशक अनुप बरालले । एपिक शैलीको प्रयोगले नाटकमा विचारलाई प्रधानता दिन्छ । समाजको खास समस्या, गन्ने मान्ने र पहुचवालाले कसरी सिङ्गो गाउँलाई नै मुठ्ठीमा राख्न खोज्छन् ? भन्ने कुरालाई नाटमा देखाइएको छ ।

सितापुर घर भएको विसु एक रात पुलमुनि मृत भेटिन्छ । अनुसन्धानमा गएका प्रहरीले राजनीतिको चक्रव्युहमा परेर जनतामाथि दमन गरेको यथार्थलाई यहाँ देखाइएको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको डेढवर्ष पुग्नै लाग्दा पनि हत्यारा अझै फेला परेका छैनन् । यस्तै विसुको हत्यालाई पनि प्रहरीले आत्महत्या हो भन्ने रिपोर्ट तयार पारेको छ नाटकमा । पुलिस अफिसर कसरी नेताको वरिपरी घुम्छन् र जनतालाई आफु अनुकुल बोल्न दवाव दिन्छन् भन्ने नाटकमा देखाइएको छ । आफ्नो दुनो सोझ्याउन र चुनावी नतिजा आफ्नो पोल्टामा पार्न नेताहरु कतिसम्म कुकृत्य गर्छन् भन्ने नाटकले प्रस्ट पारेको छ । स्वार्थका लागि जे पनि गर्ने नेता, पैसा र पद बढुवाका लागि झुठो फाइल तयार गर्ने प्रहरी र बिक्रीका लागि जे पनि लेख्ने पत्रिकाको आन्तरिक कनेक्सन पनि नाटकले चिरफार पार्छ ।

सीतापुर दलित र सीमान्तकृत मानिसको बसोबास भएको गाउँ हो । केही युवाहरु अन्यायको विरुद्धमा बोल्न थालेका छन् । सरकारले तोकेको न्युनतम ज्याला दिनुपर्छ भनेर उनीहरुले जमिन्दारसंग माग गरेका छन् । गाउँको जमिन्दार जुद्धबहादुरले राती सुतेका ९ जना गाउँलेहरुलाई आगो लगाएर हत्या गरेको छ । घटना गाउँमै सामसुङ पारिएको छ । दुईदिनसम्म प्रहरीस प्रशासनको नामनिशाना भेटिँदैन गाउँमा । निर्दोष गाउँलेहरु मारिएको यो घटनाले विसु, विनोद जस्ता युवाहरु आक्रोसित भएका छन् । उनीहरु घटनाको सत्य तथ्य बाहिर ल्याउन चाहन्छन् । केहि दिन पनि बिसु पनि मृत भेटिन्छ ।

नाटकमा खास घटना यति नै हो । तर घटनाका वरिपरि जोडिने परिघटना, दृष्य, संवादले नाटकलाई पुर्ण बनाएको छ । सहि काम गर्ने प्रहरी अफिसरलाई निलम्वन गरिएको छ । चाकडी गर्ने डिएसपी बढुवा भएको छ । राजनीतिमा कुटिल चाल चल्न खप्पिस अर्थमन्त्रि बनेको रमेशकै निर्देशनमा बिसुको हत्यामा निर्दोष विनोदलाई हत्यारा बनाइएको छ । प्रहरीको क्रुर यातनाले हिरासतमै उसको मृत्यु भएको छ । गरिवहरुको पक्षमा कानुनको धारा पनि प्रतिवादी बनेर कसरी यातना दिन्छन् भन्ने प्रस्ट पारिएको छ ।

निर्धन, गरिव तथा विपन्न वर्गलाई सदैव राजनीतिको गोटी बनाउने नेताहरुकै आन्तरिक धन्दालाई महाभोज नाटकले खुलस्त पारिदिएको छ । प्रहरी दमनले गाउँलेलाई कसरी आतंकित पार्छ र सत्य कुरा ढाकछोप हुन्छ नाटक हेरिसकेपछि छर्लङ्ग हुन्छ । विसुको लास नै अटलबहादुर नेताको राजनीतिको मुद्धा बनेको छ । रमेशको छोरा सिजापतिको विजयको कारण बनेको छ । विनोदको मृत्युको कारण पनि विसुको लास नै हो । नाटकको अन्त्यमा गरिने महाभोजको खुसियाली पनि विसुको लासबाटै प्राप्त भएको छ ।

मिडियाको प्रवृति, प्रभाव र असरलाई पनि नाटकले खोतल्ने प्रयास गरेको छ ।

आगोलागीको घटनामा गाउँलेका कुरा उचालेर लेख्ने मसान पत्रिका विसु घटनामा भने चुप बसेको छ । प्रहरी, राजनीति जस्तै अहिले फस्टाउँदै गएको विकृत पत्रकारितालाई पनि नाटकले उदाङ्गो बनाएको छ । पत्रिकाको पेज कसरी बन्छ, कस्ता मुद्धाले ठाउँ पाउँछ ? हेडलाइन, र सप्लिमेन्ट्री कसरी तयार हुन्छ ? प्रकाशकको बाध्यता, सोझो पत्रकारिताबाट पैसा कमाउन नसकिने यर्थाथको पनि चित्रण गरिएको छ । विज्ञापनको लोभ र सत्ताको चाकडीमा परेर पत्रिका प्रकाशक कसरी व्यापारी बन्छ नाटकले खोतलेको छ ।

नाटकमा करिव दूई दर्जन कलाकारको अभिनय छ । रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुव्वा, राज न्यौपाने, रन्जना ओली, विप्लव प्रतिक, बुद्धि तामाङ, दयाहाङ राई लगायत तीन पुस्ता भित्रका कलाकारहरुकै बेजोडको अभिनय छ नाटकमा । नाटकले बौद्धिक दर्शकको माग गर्छ । नाटक करिव दूई घण्टा लामो छ । नाटक सकिएपछि कलाकारसँगै दर्शक पनि थकित भएर निस्किन्छन् ।

नाटकका निर्देशकको दर्शकप्रति छुट्टै अपेक्षा छ । भन्छन्, 'नाटक हेरेर घर फर्कने दर्शकहरु भावनाको कैदी भएर होइन, मानशिक रुपमा अधिक शिक्षित भएर फर्किउन् भन्ने चाहना छ ।’ नाटकको बीचबीचमा मधुर संगीत बज्छ । कलाकारहरु घटना सुहाउँदो गीत गाउँदै बाहिरिन्छन् । यसले दर्शकलाई उर्जा दिन्छ । दर्शक तानेर राख्छ । संवाद, पृष्ठभुमिको संगीत, लाइटिङ, साजसज्जा र कलाकारको पहिरनले नाटकलाई जीवन्तता दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.