किसानको पहुँचमा छैन बीमा

किसानको पहुँचमा छैन बीमा

ओखलढुंगा : खडेरीले बर्खेबाली सुकेपछि ओखलढुंगाका किसानले हिउँदे मकै लगाएका थिए। हिउँदैबालीमा पनि उनीहरूले फौजी किराको प्रकोप सहनुपर्‍यो। ठूलो क्षति व्यहोरे पनि उनीहरूले कतैबाट राहत पाउन सकेनन्। बीमाको उनीहरूलाई कुनै ज्ञानसमेत छैन।

बाली तथा पशुधन बीमा कार्यक्रम सुरु गरेको सरकार कृषकमाझ पुग्न सकेको छैन। बीमाबारे कुनै ज्ञान नहुँदा उनीहरू क्षति व्यहोररै बस्न बाध्य छन्। बीमाबारे सामान्य सुने पनि कसरी, कहाँ गर्ने भन्ने जानकारी नभएको सोक्माटारका किसान क्षमाराज राईले बताए। उनले भने, ‘बीमा हुन्छ भन्ने सुनेको थिएँ, कहाँ, कसले गर्ने भन्ने थाहा भएन। यति धेरै क्षति भएको छ, केही त आउँथ्यो होला।’

सरकारले बीमा कार्यक्रम सबै जिल्लामा ल्याए पनि बाली तथा पशुधन बीमा गर्ने निकायको प्रभावकारिता नभएकाले किसानको पहुँचसम्म नपुगेको हो। ‘खडेरीले सुकेको मकैको बीमा हुने भए अनिकाल नै नलाग्ने रहेछ, बीमा हुन्छ भन्ने थाहा भएन’, मानेभञ्ज्याङका अर्का किसान रजीन राईले भने, ‘कहाँ कसले गर्ने हुन् भन्ने जानकारी नहुँदा समस्या आयो।’

बीमा कम्पनीहरू किसानसमक्ष नपुग्दा बीमा प्रभावकारी नभएको राष्ट्रिय कृषक समूह महासंघ ओखलढुंगाका अध्यक्ष हेमकुमार घिमिरेले बताए। उनले महासंघले यो वर्ष ५ सय किसानलाई बीमा सेवा दिन स्थानीय सरकारसँग समन्वय भइरहेको जनाए। ‘किसानले बीमाबारे थाहा नपाएर पनि क्षति व्यहोरिरहेका छन्, स्थानीय सरकारले यसबारे नीति नै बनाउनुपर्छ’, उनले भने।

खडेरी र फौजी किराको प्रकोपबाट क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिने र आगामी दिनमा बीमालाई किसानका पहुँचमा पुर्‍याउनुपर्ने महासंघले माग गरेको छ। बीमा गर्ने किसानको क्षतिको ७५ प्रतिशत सरकारले व्यहोर्ने नीति छ। बीमाका लागि बीमा संस्थानले ओखलढुंगामा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अख्तियारी दिएको छ। यसका अतिरिक्त कृषि विकास बैंकले पनि बाली तथा पशुधन बीमा गर्न थाले पनि अहिले गरेको छैन।

बैंकका शाखा प्रमुख रत्नप्रसाद खतिवडाले लघुवित्तजस्ता संस्थाले समेत बीमा गर्न थालेपछि आफूहरूले चासो नदिएको बताए। खतिवडाले भने, ‘लघुवित्तले नै बीमा गर्न थाले, किसानसमेत चासो दिएर आउँदैनन्।’ आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले भने पशुधन बीमा चाँही गर्दै आएको छ। उक्त कम्पनीका धनकाजी श्रेष्ठले पशुधन बीमा गर्ने र क्षतिपूर्ति दाबी गर्ने धेरै भए पनि बाली बीमा भने नभएको बताए। उक्त कम्पनीले ओखलढुंगामा आर्थिक वर्षमा गाई, भैंसी, बाख्रा र बंगुर गरेर ५ हजार १ सय ११ पशुको बीमा गरेको छ।

बाली बीमा गर्न बाली लगाउन लाग्ने लागतलाई आधार मानिने तर, उत्पादनलाई नहेरिने भएकाले किसान लागतको मात्रै बीमा गर्न अनिच्छुक रहेको श्रेष्ठले जानकारी दिए। उनले भने, ‘पशुको जस्तो मूल्यमा होइन, बालीमा लागत हेरिने र बीमाका लागि कम्तीमा आधा रोपनी जग्गामा एकै किसिमको मात्रै बाली हुनुपर्ने प्रावधानले पहाडमा किसान बीमा गर्न अग्रसर छैनन्।’

ओखलढुंगामा तीन वर्षयता मात्रै बीमा सुरु भएकाले यसबार प्रचारप्रसार आवश्यक रहेको सरोकारबालाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.