डेंगु निको पार्न गाउँ सरकारले दियो बिरामीलाई तीन हजार

डेंगु निको पार्न गाउँ सरकारले दियो बिरामीलाई तीन हजार

हेटौंडा : गाउँमै ढ्याङ्ग्रो ठोकेर उपचार गर्न थालेपछि मकपानपुरको एक स्थानीय तहले डेंगुको उपचारका लागि अस्पताल जान प्रतिव्यक्ति ३ हजार रुपैयाँ दिन थालेको छ। मकवानपुरको पश्चिमी विकट राक्सिराङ गाउँपालिकाले डेंगुका कारण बिरामी भएकाहरू धमाधम धामीकहाँ धाउन थालेपछि उपचारका लागि अस्पताल पठाउन पैसा दिने थालेको हो।

गाउँपालिकाले डेंगु उपचारको लागि प्रति बिरामी ३ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताए।

‘डेंगु लागेर बिरामी भएको छ, गाउँमा झाँक्रीकोमा जाने भाले काट्ने गर्नाले झनै बिरामी बढ्न थालेको छ’, उनले भने, ‘उपचारको लागि सहज होस् र धामिकोमा नगाई उपचारको लागि अस्पताल जाओस् भनेर डेंगु देखिएका बिरामीको उपचारमा ३ हजार रुपैयाँ सहयोग दिन थालेका हौं।’

राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्य संस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुपर्ने बाध्यता छ। गाउँपालिकाले हरेक स्वास्थ्य चौकीमा डेंगु पहिचान गर्न सजिलो पार्नका लागि ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताए।

अस्पतालमा बेड पाउँदा युद्ध जितेजस्तो

डेंगु संक्रमितको उपचारका लागि हेटौंडाका अस्पतालमा बेड अभाव हुँदा भुईंमा राखेर उपचार गर्नुपरेको छ।

साउन पहिलो साताबाट देखिएको डेंगु नियन्त्रण हुनु साटो थप संक्रमण देखिएपछि हेटौंडाका अस्पतालहरूमा बिरामीको चाप बढेको हो। हेटौंडा अस्पतालको आकस्मिक उपचार कक्षका एक दर्जन बेडमा दुई जनाका दरले बिरामी राखेर उपचार भइरहेको छ।

हेटौंडा ६ स्थित चौघडाका कृष्णप्रसाद ढुङ्गाना बिरामी आमा लिएर बुधबार हेटौंडा अस्पताल पुगे। तर उनले आकस्मिक कक्षमा बेड नपाएपछि पहिल्यै बिरामी राखिएको बेडमा आमालाई राखेर उपचार गराइरहेका छन्।

आकस्मिक कक्षमा बेड नपाउनु त सामान्य हो। ओपीडीमा भनसुन गर्दा पनि बेड पाउन मुश्किल छ। हेटौंडा ९ की रेनु मल्लले हेटौंडा अस्पतालमा रगत परीक्षण गर्दा डेंगु देखिएपछि हेटौंडाका सबै अस्पताल चहारिन्। तर निजी मेडिकलमा समेत बेड नपाएपछि घरमै आराम गरेर बसिन्।

तीन दिनदेखि भने उनी मकवानपुर सहकारी अस्पतालमा बसेर उपचार गरिरहेकी छिन्। ‘अहिले अस्पतालमा बेड पाउनु भनेको युद्ध जित्नुजस्तै भएको छ’, मल्लले भनिन्, ‘अस्पताल थोरै बिरामी धेरै भएपछि सोर्सफोर्स लगाउँदा पनि कतै बेड पाउन मुस्किल छ।’

एक सातायता हेटौंडाको एकमात्र हेटौंडा अस्पतालको क्षमता भन्दा दोब्बर बढि बिरामीको चाप बढेको छ। ‘हाम्रो अस्पतालको क्षमता दैनिक ३०० बिरामीको लागि हो’, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरि बहादुर खड्काले भने, ‘तर दैनिक ६०० बिरामी अस्पतालमा आउने गरेको छ।’ अस्पतालमा १२० बेड रहेकामा बिरामीको चाप बढेकाले उपचारमा असहज भएको खड्काले बताए। डेंगुसँगै मौसमी भाइरल ज्वरोको संक्रमण बढेको उनले जानकारी दिए।

हेटौंडा अस्पतालसँगै हेटौंडामा रहेका आधा दर्जन निजी अस्पतालमा पनि बिरामीको चाप बढेको छ। मकवानपुरमा सोमबार साँझसम्म ९८८ जनालाई डेंगुको संक्रमण देखिएको जिल्ला स्वाथ्य कार्यालय मकवानपपुरले जनाएको छ।

हेटौंडा ४ स्थित कमलडाँडा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणमा जुटेका निकायको आलोचना हुन थालेको छ। ‘स्वास्थ्य कार्यालय मात्रैले चाहेर हुँदैन,जनता आफै सचेत हुनुपर्छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले भने, ‘आफ्नो घर वरपरको पानी जमेको खाल्डो पुर्ने र नागरिक आफैं सचेत हुने हो भने यो संक्रमण घट्दै जान्छ।’

प्रदेश ३ मा ३ हजार ७०२ जनालाई डेंगु

बेड नपाएपछि अस्पतालको गल्लीमा बेड राखेर उपचार गराउँदै। फोटोः अन्नपूर्ण

प्रदेश ३ मा बुधबार साँझसम्म ३ हजार ७०२ जना डेंगुबाट संक्रमित भएका छन्। चितवनमा २ र सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सबैभन्दा बढी चितवनमा २ हजार २३१, काठमाडौंमा १ हजार ३७०, मकवानपुरमा १ हजार ७०, ललितपुरमा २०५, भक्तपुरमा १४६, धादिङमा ३२, काभ्रेमा १२, नुवाकोटमा ६ जनमा डेंगुको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

सिन्धुलीमा १, रसुवामा १ र सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्क छ। निर्देशनालयका डेंगु रोग हर्ने हेल्थ असिस्टेन्ट जयस नेपालका अनुसार हालसम्म दोलखा र रामेछापमा डेंगुको संक्रमण देखिएको छैन।

अभियानमा प्रदेश सरकारको असहयोग

३ नम्बर प्रदेश सरकारले गत शनिबारदेखि कात्तिक मसान्तसम्म प्रत्येक शनिबार प्रदेशभर एकसाथ डेंगु सार्ने लामखुट्टे, लार्भा र प्युपा नष्ट गर्ने अभियान सञ्चालान निर्णय गरेको थियो।

प्रदेशभित्रका १३ जिल्लाका ११९ स्थानीय तहभित्रका सबै नागरिकलाई अ–आफ्नो घरको  १०० मिटर वरपरको डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज र नष्ट गर्ने अभियानमा शनिबार बिहान ७ बजेदेखि १ घण्टा जुट्न सामाजिक विकास मन्त्रालयले आब्हान गरेको हो।

तर मन्त्रालयले जिल्लास्थित स्वास्थ्य कार्यालयहरुमार्फत गरिएको सर्कुलर गत शनिबार अधिकांश स्थानीय तहले कार्यान्वयन गरेनन्।

‘हामीले सर्कुलर तल्लो तहसम्म गरेका छौं तर ब्यापक प्रचार हुन सकेको छैन’, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भने, ‘जनताको सहभागिता बिना डेंगु नियन्त्रण अभियान सफल हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.