मिलेमतोमा भ्रष्टाचार

मिलेमतोमा भ्रष्टाचार

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित सुक्खाग्रस्त क्षेत्र सोक्माटाका लागि निर्माण गरिएको सिँचाइ आयोजना बनिनसक्दै पाइप फुटेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेकेदार र उपभोक्ता परिचालन गरी निर्माण गरेको यस आयोजनाका पाइप कतै पानी सञ्चालन नहुँदै फुटेका छन् । कतै पहिरोले बगाएको छ । आयोजना सञ्चालनमा आएपछि सिँचाइ हुने आशमा रहेका सोक्माटारका किसान पानी नआउँदै पाइप फुटेपछि निराश बनेका छन् ।

स्थानीय दिलराम राईले गुणस्तरहीन पाइप जडान गरेकाले पानी चलाउँदा फुटेर आयोजना अलपत्र परेको बताए । उनले भने, ‘ठेकेदारले ल्याएका पाइप गुणस्तरहीन भएकाले पानी सञ्चालन हुनासाथ फुटेका छन् । कतै पहिरोले बगायो ।’ ठेकेदारसँगको मिलेमतोमा गुणस्तरहीन काम गरिएको उनको आरोप छ । रुम्दुखोला मुहान गरी ल्याइएको आयोजनाबाट सातदेखि नौ सय रोपनी क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य थियो ।

०७५ वैशाख १९ गते सम्झौता भइ ०७६ साउन १८ गते फरफराक भएको आयोजनाको साउन २६ गतेको बाढीपहिरोले दुई सय मिटर पाइप बगाएको छ । ७.५ किलोमिटर दूरीमा एक सय २५ एमएमको पाइप बिछ्याएर पानी ल्याइएको थियो । नयाँ प्रविधिमा आधारित भनिएको सिँचाइ आयोजनामा एक हप्ता पनि पानी चलेन । पाइप फुटेर भत्कियो । वर्षाका कारण आएको खहरेले पाइप पनि बगाएपछि सुक्खा क्षेत्रमा सिँचाइ गरेर खेती गर्ने किसानको सपना अधुरै रहेको अर्का स्थानीय क्षमाराज राईले बताए ।

एक करोड ६ लाख ३ हजार लागतमा निर्माण गरिएको आयोजना भत्किएपछि स्थानीय आक्रोशित छन् । मिलेमतोमा भ्रष्टाचार भएको उनीहरूको आरोप छ । पाइप जडान गर्दा बीचबीचमा क्रस च्यानल बनाएर पानीको चाप कम गर्नुपर्नेमा मुहानदेखि खेतबारीसम्मै एकोहोरो पाइप जडान गरेकाले अत्यधिक चापले पाइप फुटेको स्थानीयको भनाइ छ । पानी चलाउन हालिएको पाइप पानीको चापले फुटेको भन्दै कार्यालय पन्छिनु मिलेमतोमा पाइप कमसल ल्याएको पुष्टि भएको उपभोक्ता क्षमाराज राईले दाबी गरे । उनले माफदण्ड पूरा नगरी काम गरिएकाले पाइप फुटेको बताए ।
आयोजना बनिनसक्दै भत्किएको विषयमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख महेश यादवले पानीको चाप कति हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए । ‘पानीकै चापले पाइप फुटेका हुन्, गुणस्तरहीन भएर होइन’, उनले भने । यादवले बीचबीचमा ट्यांकी तथा क्रस च्यानल नबनाउँदा समस्या आएको स्वीकार गरे । त्यस्तो समस्या र पानीको चापबारे अनुमान नगरिएको उनको भनाइ छ ।

कार्यालयले चालु अर्थिक वर्षमा समेत उक्त आयोजना मर्मतका लागि १५ लाख बजेट प्रस्ताव गरेको छ । बनिनसक्दै भत्किने र बर्सेनि मर्मत गर्ने गरी गुणस्तरहीन योजना बनाएर मिलोमतोमा भ्रष्टाचार भएको उपभोक्ताको आरोप छ । उपभोक्ताको गुनासोपछि उक्त आयोजनाको लागत तथा अन्य विवरणको सूचना माग्दा कार्यालयका सूचना अधिकारी देवकृष्ण शाहले दिन अस्वीकार गरेका थिए । उपभोक्ताले भने सिँचाइ आयोजनामा भएको अनियमितता छानबिन गर्न माग गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.