भोजन, भोक र स्वास्थ्य मन्त्रालय

भोजन, भोक र स्वास्थ्य मन्त्रालय

‘मैले अब छोरीलाई खाजा बनाउँदा नानाथरीका बाहिरका खानेकुरा दिनै पर्दैन। म त डाक्टरले भनेअनुसार घरकै खाना र खाजा दिन्छु। खानामा अमिलो, तिल, आलस आदि मिसाउँदा खानाको स्वाद बढ्छ साथै पोसिला तत्वहरू पनि बढ्छ’, एउटी महिला खुसी भएर आफ्ना साथीलाई सुनाउँदै थिइन्। उनलाई स्वास्थ्यकर्मीले फलामका भाँडामा पकाएको दाल, तरकारी र भातसँग अलिकता कागतीको रस वा गोलभेंडाको अचार छोरीलाई ख्वाउनु भनेर सिकाएका रहेछन्।

ती महिलाले दालमा कागतीको रस मिसाउँदा यसले दालमा रहेको लौहतत्व (आइरन) शोषण गर्न मद्दत गर्छ भन्ने जानकारी पनि पाएकी थिइन्। उनी भन्दै थिइन्, ‘छोरीलाई स्वस्थ राख्नका लागि अब बाहिरका भिटामिन चक्की किन्नै पर्दैन।’ विज्ञापन र अन्य ठाउँबाट उनले भ्रमपूर्ण कुरा सुनेकी थिइन्, ‘घरको खानाले मात्रै ससाना बालबालिकालाई पोषण पुग्दैन, बाहिरको खाना वा औषधि ख्वाउनै पर्छ।’

केही महिनाअघि एकजना जनस्वास्थ्य विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्नुपर्छ। त्यसका लागि अध्ययन–अनुसन्धान गर्न तपाईंसँग छलफल गर्नुपर्छ’ भनी मलाई निम्त्याए। छलफलमा उनले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमी भएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाले। ‘फलामको माछामा रहेको फलाम खानेकुरामा जान्छ र महिलाले पर्याप्त लौहतत्व पाउँछन् भनेर आविष्कार गरे। आविष्कारलाई प्रयोगमा पनि ल्याए अनि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो’ भनेर बिबीसीमा पनि समाचार आयो। तर, नेपालमा फलामकै भाँडामा खाना पकाउने चलन नै छ।

 त्यसका लागि भिन्नै ‘फलामको माछा’ बनाउनु पर्दैन। अझ हाम्रो देशमा त फलामका भाँडामा पकाएका दाल र तरकारीमा भात मुछेर खाने गरिन्छ। अझ अचारमा रहेको भिटामिन ‘सी’ ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ। दालको प्रोटिन शरीरमा पुगेपछि त रक्तअल्पता कम हुन्छ। बरु यो ज्ञानचाहिँ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने हो कि, ‘लौ, नेपाली स्थानीय खानाले नै रक्तअल्पता कम गर्छ।’

अहिले स्वास्थ्य मन्त्रालयले पनि बालबालिकालाई स्वस्थ राख्न भोजनलाई ‘फोर्टिफाइ’ (बाहिरका वस्तु मिसाएर खानाको पौष्टिकता बढाउने काम) गर्नुपर्छ भनेर अनेक थरीका प्याकेटका वस्तु ल्याउन थालेको छ। महिला स्वयंसेविकाले आमाहरूलाई ‘बालभिटा’ खानामा छर्कनु, यसले शिशुहरूका खानामा अनेक भिटामिन बढाउँछ’ भनेर भ्रमपूर्ण कुरा सिकाउने गरेका छन्। तर स्वास्थ्य मन्त्रालयले कहिल्यै पनि भोजन ‘फोर्टिफाइ’ गर्न हाम्रा सांस्कृतिक मान्यता र परम्परागत ज्ञान प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई बेवास्ता गरेको छ। मन्त्रालयले सस्तो र सहज तरिकाले भान्छामा पाइने पौष्टिक तत्वका कुरा बिर्सेर ‘प्याकेट’ र औषधिमै जोड दिन्छ। किन यस्तो गरिन्छ ?

आधुनिक विज्ञानले पनि सिद्ध गरिसकेको छ कि हाम्रो भोजन नै औषधि हो। प्रोटिन धेरै पाइने दाल पकाएर जिम्बु, जिरा र लसुनले झानेपछि पेटमा उत्पन्न हुने ग्यास कम गर्छ। टिमुरको छोपले स्वास्थ्य र स्वाद दिन्छ। म पोषणविद् त होइन, तर नेपाल र विश्वका विभिन्न तेस्रो देशहरूमा काम गरेको अनुभवबाट म के भन्न सक्छु भने स्वस्थकर खाना खान धेरै पैसा तिर्नुपर्छ भन्ने मान्यता गलत हो।

हामी आफ्नै वरिपरि पाइने पौष्टिकताले भरिपूर्ण भोजनलाई वास्ता गर्दैनौं। हामीलाई थाहा छ– शरीर स्वस्थ राख्न प्रोटिन चाहिन्छ। तर प्रशस्त प्रोटिन पाइने खानेकुरा भटमासलाई हेलाँ गर्छौं। बढ्ने बालबालिकालाई प्रोटिन झन् महत्वपूर्ण मानिन्छ। तर सजिलोसँग त्यही प्रोटिन पाइने बोडी, मास, गहतको प्रयोग गर्नेतर्फ त्यति ध्यान दिँदैनौं। बालबालिकालाई ‘प्रोटिन’ खुवाउनुपर्‍यो भनेर औषधिको बट्टा किन्छौं वा ‘प्रोटिनले भरिपूर्ण भएको’ भनेर विज्ञापनमा देखाइएका खाना किन्छौं। जबकि हामी बढी पैसा तिरेर कम पोषण प्राप्त गरिरहेका छौं।
हामी विभिन्न गलत विज्ञापनबाट बढी प्रभावित छौं र नजिकको तीर्थ हेलाँ भने झैं भान्छाका सस्ता खानामा ‘पौष्टिक’ हुँदैन भन्ने भ्रम पाल्छौं। उदाहरणका लागि विभिन्न विज्ञापनमा हामी देख्छौं, सुन्छौं, ‘ल्याक्टो व्यासिलाई खाए पेट स्वस्थ रहन्छ।’ यसबाट प्रभावित भएर ल्याक्टो व्यासिलाई भएको क्याप्सुल किन्छौं र खुवाउँछौं। अनि हाम्रो पेट स्वस्थ भयो भन्ठान्छौं। तर ‘ल्याक्टो’ व्यासीलाई हाम्रै भान्छामा छ भन्ने बिर्सन्छौं। जबकि दूधबाट दही बनाउने क्रममा नै ल्याक्टो व्यासिलाई उत्पन्न हुन्छ। ‘ल्याक्टो’ व्यासीलाई किन्न बाहिर जानै पर्दैन।

हाम्रा पुर्खाहरूले दहीभात, मोही र मकै खान्थे। उनीहरू स्वस्थ रहने र पेट कब्जियत नहुने कारण नै दही हो। तराईतिर दहीमा पानी मिसाएर मठ्ठा, मोही, छाछ बनाएर खान्छन्। गर्मीका बेलामा खाँदा यसले शरीरमा पानीका साथै क्याल्सियम पनि पाइन्छ। दहीले शरीरका रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्छ।
हाम्रा पुर्खालाई सायद ‘ल्याक्टो व्यासिलाई’ भन्ने वैज्ञानिक नाम थाहा थिएन, तर पञ्चामृत अर्थात् पाँच अमृतमध्ये एक दही उत्तम भोजन हो भन्ने ज्ञानचाहिँ थियो।
हाम्रै भान्छामा पाइने अमिल्याएका वस्तुहरूले पनि पेटको स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ। भोजनमा भएका अनेक पौष्टिकतत्वहरू सानो आन्द्रामा राम्रोसँग शोषण हुन मद्दत गर्छ। गुन्दु्रक, सिन्की, आदि अमिल्याइएका वस्तु हुन्, जसले स्वाद त बढाउँछन् नै, स्वास्थ्य पनि दिन्छन्।

भोजनको पौष्टिकता बढाउने र भान्छामै तयार गर्न सकिने अर्को स्वस्थकर परम्परागत खाना हो टुसा उमारेका गेडागुडी। विभिन्न गेडागुडी मिसाएर टुसा उमार्न सकिन्छ। यसले गेडागुडीमा रहेका सूक्ष्म पोषणतत्वहरू धेरै गुणा बढ्न जान्छ। टुसा उमारेको गेडागुडीको तरकारी पचाउन पनि सजिलो हुन्छ। खाँदा पनि स्वादिलो हुन्छ। शरीर र मनमा आनन्द आउँछ।

त्यसैगरी तिल, चाकु, घिउ, खिचडी, सक्खरखण्ड पनि बढी पौष्टिक भएका खाना हुन्। यी खाना खाने विशेष दिन हो– माघ १ गते। जाडोका बेलामा शरीरमा बढी ऊर्जा चाहिन्छ भनेर हाम्रा पुर्खाहरूले माघ १ गते यस्ता खाना खाने चलन चलाएका थिए। शरीरमा क्याल्सियम पुर्‍याउने उत्तम स्रोत हुन्– चाकु र तिल। साना नानीबाबूलाई तिलको लड्डु बनाएर दिन सकिन्छ, दही र चिउरामा अलिकता चाकु, सक्खर हालेर खुवाउन सकिन्छ। सहजै नानीबाबूहरूलाई पौष्टिकताले भरिपूर्ण भोजन दिन सकिन्छ। अनि किन बाहिरबाट ‘फोर्टिपाइ’ आयात गर्नुपर्‍यो ?

आफ्नै वरिपरि पाइने गेडागुडी, कन्दमूल, अन्नअनाज आदिलाई सन्तुलित तवरले प्रक्रिया पुर्‍याएर बनाएको परिकार खाँदा महिला र बालबालिकालाई पौष्टिक तत्व भरिपूर्ण प्राप्त हुन्छ भन्ने जानकारी स्वास्थ्य मन्त्रालयले किन दिन सक्दैन ?

‘आइरन चक्की’ र ‘बालभिटा’ जस्ता वस्तु बाँडेर महिला र शिशुको स्वास्थ्य सुधार हुँदैन भन्ने कुरा स्पष्ट छ। तर विभिन्न तथ्यांकलाई बेवास्ता गरेर स्वास्थ्य मन्त्रालय के बालबालिकाको स्वास्थ्य राम्रो पार्न सक्ला ? उनीहरूलाई चाहिने पौष्टिक तत्व पुर्‍याउन सक्ला ?सरकारले केवल भिटामिन र क्यालोरीका विषयमा मात्र छलफल गरेर महिला र बालबालिकाको कुपोषण ठीक पार्न सकिन्छ भन्ने ठानेको छ ? हाम्रा परम्परागत ज्ञान र सांस्कृतिक महत्वलाई बेवास्ता गरेर जनस्वास्थ्य राम्रो पार्न सकिन्छ भन्ने ठानेको छ ? हजारौं वर्षदेखिको हाम्रो पोषणका ज्ञानलाई लिखित रूपमा राखेर भविष्यका पुस्तालाई उपहार दिनुपर्छ भन्ने लाग्दैन स्वास्थ्य मन्त्रालयलाई ?

बाहिरका खानामा भिटामिन, क्याल्सियम आदि जति मिसाइएको छ भनेर लेखिएको छ, त्योभन्दा धेरै कम र नुन र चिनीको मात्रा भनिएभन्दा बढी मिसाएको पाइयो।स्वास्थ्य मन्त्रालयले यसरी गलत लेबल लगाउने निजी व्यापारीलाई रोक्ने काम गर्ला ? व्यापारीहरूले जनस्वास्थ्यप्रति कुनै उत्तरदायित्व छ भनेर अनुभव गरेका छन् ? गर्छन् भने किन भ्रमपूूर्ण विज्ञापन दिन्छन् ? त्यस्ता कम्पनीलाई बोलाएर ‘गलत विज्ञापन गर्न पाउँदैनौ, नभएका भिटामिन छ भनेर पत्रु खानालाई स्वस्थकर छ भनेर भन्न पाउँदैनौ’ भन्ने साहस के सरकारसँग छ ?
हाइलाइट
आफ्नै वरिपरि पाइने गेडागुडी, कन्दमूल, अन्नअनाज आदिलाई सन्तुलित तवरले प्रक्रिया पुर्‍याएर बनाएको परिकार खाँदा महिला र बालबालिकालाई पौष्टिक तत्व भरिपूर्ण प्राप्त हुन्छ भन्ने जानकारी स्वास्थ्य मन्त्रालयले किन दिन सक्दैन ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.