ब्याडमिन्टनप्रेमी ‘सिते बा’

ब्याडमिन्टनप्रेमी ‘सिते बा’

काठमाडौं : पछिल्लो समय ‘अन्नपूर्ण पोस्ट् ब्याडमिन्टन’ले अन्तर्राष्ट्रिय वृत्तमै गतिलो चर्चा बटुलेको छ। वल्र्ड ब्याडमिन्टन फेडरेसनको क्यालेन्डरमा समेत समावेश भएपछि अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको चर्चा झनै चुलिएको छ। यही सोमबारदेखि सुरु हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीदेखि कर्पोरेट क्षेत्रका व्यक्तिहरूले पनि तयारी गर्दै आएका छन्।

अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनमा उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन्, मधुसूदन पाठक अर्थात् ‘सिते बा’ पनि। टेलिचलचित्र ‘भद्रगोल’मा सिते बाको नामबाट चर्चाको शिखरमा रहेका पाठक ब्याडमिन्टनप्रेमी हुन्। कर्पोरेट ब्याडमिन्टनको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएका पाठक यस पटक सिंगल्स र डबल्स दुवै स्पर्धामा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

‘अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छु। यसअघिका प्रतियोगितामा क्वार्टरफाइनलभन्दा अगाडि पुग्न सकेको छैन’, पाठकले भने, ‘यस पटक भने फाइनलमा पुग्ने हिसाबले तयारी गरेको छु।’ काभ्रे कोशीदेखाका ३१ वर्षीय पाठक सानैदेखि ब्याडमिन्टन भनेपछि हुरुक्क हुन्थे। घरनजिकैको डाँडामा प्लास्टिकको ‘कक’ले उनी साथीसँगै ब्याडमिन्टन खेल्थे।

हावा चलेको बेला प्लास्टिकको ककलाई उडाउँथ्यो। ककलाई हावाले जता लग्यो त्यतैतिर दौडिन्थे। यसरी दौडँदा उनी दुर्घटनामा पनि परे। त्यही बेलादेखिको ब्याडमिन्टन मोहकै कारण अहिले पनि यस खेलमा सक्रिय छन्। उनले २०७२ सालदेखि सामाखुसीमा जेस्ट ब्याडमिन्टन एकेडेमी सञ्चालन गर्दै आएका छन्। एकेडेमीमा एक हजारभन्दा बढीले प्रशिक्षण गर्दै आएका छन्।

एकेडेमीका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। ब्याडमिन्टन खेल्ने आफ्नो रहरका कारण नै एकेडेमीले मूर्त रूप लिएको पाठक बताउँछन्। ‘ब्याडमिन्टनका लागि स्थान खोज्ने क्रममा सुदीप योञ्जनको प्रेरणाबाट एकेडेमीले मूर्त रूप पाएको हो’, पाठकले भने।

पहिले रहरमा ब्याडमिन्टनको पछि लागेका पाठक अहिले भने स्वास्थ्यका लागि खेल्ने गरेका छन्। त्यसैले अरू खेलाडीसँगै उनी पनि हरेक दिन र्‍याकेट बोकेर एकेडेमी धाउने गर्छन्। उनी ब्याडमिन्टन अति उपयोगी खेल भएको बताउँछन्। ‘ब्याडमिन्टन स्वास्थ्यका लागि अति उपयोगी खेल हो’, पाठक भन्छन्, ‘यसले मानसिक लाभ दिनुका साथै शरीरलाई पनि फिट राख्छ।’

स्वास्थ्य, शिक्षा, सहकारी, कलाकारितालगायत विभिन्न क्षेत्रमा हात हालेका पाठक आफूले समयको उचित व्यवस्थापन गर्न सकेकै कारण हरेक क्षेत्रमा सफलता हासिल गरेको बताउँछन्। आफ्नो स्वास्थ्यप्रति सचेत रहनेहरूकै कारण पछिल्लो समय नेपालमा ब्याडमिन्टनको क्रेज निकै बढेको पाठकको ठम्याइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.