विद्यार्थीलाई वन र वन्यजन्तु पढाउँदै सेनाका शिक्षक (फोटो)

विद्यार्थीलाई वन र वन्यजन्तु पढाउँदै सेनाका शिक्षक (फोटो)

रंगपुर टाडी (पर्सा) : विद्यालय र विद्यार्थी उही। तर शिक्षक र पाठ्यक्रम भने फरक। बुधवार न त विद्यार्थीका हातमा किताबकपी थियो न त उनीहरू सामु ब्ल्याकबोर्ड नै। उनीहरू सेतो बोर्ड नियाल्दै थिए। अर्थात् ‘प्रोजेक्टर’।

पर्साको रंगपुर टाडीस्थित नेपाल राष्ट्रिय लक्ष्मण साह चन्द्र ज्योती माध्यमिक विद्यालयमा बुधवार देखिएको यो दृश्यले सबैको ध्यान खिचिरहेको थियो। विद्यालयको प्रांगणमा करिब ३०० छात्रछात्रा एकै ठाउँमा भेला भएका थिए। प्रांगणमै उनीहरूको कक्षा चलिरहेको थियो। तर उनीहरूको पाठ्य विषयवस्तु र शिक्षक फरक थिए।

छात्रछात्रालाई नेपाली सेनाले पढाइरहेका थिए भने पाठ्यक्रमको विषयवस्तु ‘वन र वन्यजन्तु’ संरक्षण केन्द्रित थियो। पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सिद्धिबक्स गणका नेपाली सेनाले चेतनामुलक कार्यक्रम अन्तर्गत विद्यालयमै पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको हो। प्रोजेक्टरमा वन र वन्यजन्तुको महत्त्वका बारेमा विद्यार्थीलाई प्रष्ट्याउँदै सेनाले यसको संरक्षणको अभियानमा जुट्न आग्रह गरे।

विद्यार्थीसँगै स्थानीय जनप्रतिनिधि, शिक्षक र अभिभावक सहभागी थिए। सेनाको आग्रहमा सबैले सहमत हुँदै ताली बजाए। निकुञ्ज वरपरका वस्तीमा बसोबास गर्ने स्थानियको भूमिका वन र वन्यजन्तुको संरक्षणमा अझ बढी हुने सेनाको भनाई थियो। गणका प्रमुख सेनानी प्रकाश थापाले निकुञ्ज सुरक्षार्थ खटिएको सेनालाई स्थानीयबासिन्दाको सहयोग अपरिहार्य रहेको बताए।

‘वन र वन्यजन्तुको संरक्षणमा हाम्रो भन्दा बढी भूमिका स्थानियबासीकै हुन्छ। उहाँहरूलाई वन र वन्यजन्तुको महत्वका बारेमा थाहा नहुन सक्छ’ प्रमुख सेनानी थापाले भने, ‘त्यसैले पनि हामीले चेतनामुलक अभियान थालेका हौँ। यस्तो अभियानले उहाँहरूलाई सचेत र जिम्मेवार बनाउँछ।’

गणका सेनानी योगेश महतले झण्डै एक घण्टा वन र वन्यजन्तुको महत्व तथा संरक्षणका विषयमा विद्यार्थीसँग साक्षात्कार गरे। अन्य मुलुक र नेपालमा वन तथा वन्यजन्तु संरक्षणका लागि अपनाइएका रणनीति, वन्यजन्तुको अवस्था, चोरीशिकारी र वन्यजन्तुको आवश्यकताका विषयमा महतले प्रष्ट्याएका थिए। सेनानी महतले निकुञ्ज वरपरको बस्तीमा वन्यजन्तुका कारण हुने मानवीय क्षति रोक्ने विषयमा समेत विद्यार्थीलाई जानकारी गराए।

‘निकुञ्ज वरपरको क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढ्दो हुन्छ। स्थानीय त्रसित हुनु स्वभाविक हो। त्यसैले पनि वन्यजन्तु संरक्षणमा उहाहरूको चासो नहुन सक्छ’, सेनानी महतले भने, ‘तर हामीले पहिला संरक्षण र त्यसपछि सचेत हुनुपर्छ भन्दै सिकाइरहेका छौँ। वन्यजन्तुले यतिकै आक्रमण गर्दैन। यदि वन्यजन्तु बस्ती पसेमा सुरक्षित हुने विषयमा समेत जानकारी गराएका छौँ।’

विद्यार्थीसँगको साक्षात्कार फलदायी हुनेमा गणका प्रमुख सेनानी थापा आशावादी छन्। समाजमा चेतना अभिबृद्धि गर्नका लागि विद्यार्थीको भूमिका निकै महत्वपूर्ण रहने हुँदा आफूहरू विद्यालयमा आएर अभियान थालेको थापाको भनाई छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले विद्यार्थी केन्द्रित सेनाको अभियान निकै उपलब्धीमूलक हुनेमा आफू विश्वस्त रहेको बताए। वन र वन्यजन्तुको संरक्षणका निम्ति स्थानीयको भूमिका अहम हुने भन्दै महर्जनले साना बालबालिकामै चेतना अभिबृद्धि गर्न सकिए यसको परिणाम सकारात्मक आउने बताए।

छात्र सुनिलकुमार गिरिले विद्यालयमै पहिलो पटक यस्तो कार्यक्रम गरिएको भन्दै खुसी ब्यक्त गरे। सेनाको कक्षाबाट आफूले पनि वन र वन्यजन्तुको संरक्षणको विषयमा धेरै कुरा सिकेको भन्दै गिरिले यस्तो अभियानलाई प्रत्येक विद्यालयमा लैजानुपर्ने बताए।

‘कक्षामै पढाए जसरी पढाउनुभयो। हामीले धेरै कुरा सिक्यौ। यस्तो कार्यक्रमलाई धेरै भन्दा धेरै विद्यालयमा लग्न सकियो भने धेरै उलपब्धि हुन्छ’, गिरिले भने ‘अनि सिकेका कुरालाई विद्यार्थीले पनि समाजसम्म पुर्‍याउनुपर्छ। अनि मात्र वन र वन्यजन्तुको संरक्षणमा समाज गम्भीर हुन्छ।’

सेनाले वन र वन्यजन्तुसँगै पछिल्लो समय समस्याको रुपमा देखिएको डेंगु रोगबाट बच्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी गराएको थियो। उपसेनानी डा. रक्षा भण्डारी राणाले डेंगु रोग र यसबाट बच्ने तरिकाको विषयमा जानकारी गराएकी थिइन्। नेपाली सोही अवसरमा विद्यार्थीलाई खेलकुद र शैक्षिक सामग्री समेत वितरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.