हार्मोनियमका चिकित्सक

हार्मोनियमका चिकित्सक

काठमाडौं : विमल साह (२९) लाई हार्मोनियमको चिकित्सकभन्दा फरक परोइन। हार्मोनियम बिरामी भएमा उनी होम डेलिभरी सेवाका लागि कुदिहाल्छन्। सिनामंगलको तारा हल चोकमा उनको पसल छ, ‘पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द्र।’ प्रयोगकर्ताहरू हार्मोनियममा कुनै खराबी आएमा यसको बनावटका कारण बोकेर मर्मत केन्द्र पुर्‍याउन अल्छी मान्छन्। यस्तोमा विमललाई एक कल गरे पुग्छ, उनी रुट मिलाएर घरमै सेवा दिन हाजिर हुन्छन्।

हार्मोनियमलाई घाम, पानी, धुलोबाट जोगाउन सकियो भने पुस्तौं टिक्छ। पुस्तांैपुस्ता टिक्ने भएकाले बाबुबाजेको चिनोको रूपमा पनि यसलाई नाति पुस्ताले सम्म सम्हालेर राख्छ। विमलका अनुसार काठमाडौं उपत्यकाका प्रायःजसो नेवार घरमा हार्मोनियम छ। भजन, पूजापाठका लागि यो बाजा चाहिन्छ।

हार्मोनियम मुक्त पत्तीवाला बाजा हो। हातले धौंकनी तान्दा धातुपत्तीलाई कम्पन दिन्छ र बाजा बज्छ। प्रत्येक पत्तीले अलगअलग सुर दिन्छ। संकुचित कक्षले शक्तिशाली र तिखो स्वर दिन्छ। नियमित दबाबका कारण ६ महिनादेखि वर्ष दिनभित्र अनिवार्य यसको ट्युनिङ गराउनुपर्छ, नभए चाहेको जस्तो आवाज निस्किँदैन। ट्युनिङ भनेकै हार्मोनियमको सुर हो। संगीत साधना गर्ने व्यक्तिको हार्मोनियमको सुर हरायो भने उसको गायनको सुर पनि हराउँछ। त्यसैले, संगीत साधना गर्नेहरू हार्मोनियमको सुर ठीक भए नभएको सचेत रहन्छन्। विमलको विशेषता भनेको उनी ट्युनिङमा पनि ओस्ताद छन्। उनको चर्चा स्वदेश मात्रै होइन, विदेशसम्म फैलिएको छ। अस्ट्रेलियादेखि अमेरिका बस्ने नेपालीहरू पनि घर आइपुग्दा हार्मोनियम समस्या सुल्झाउन उनीकहाँ पुग्छन्। लामो यात्रामा हार्मोनियम राख्दा, झार्दा यसको ट्युनिङ बिग्रिने सम्भावना धेरै हुन्छ।

बलिउडबाट काठमाडौंमा कहिलेकाहीँ प्रस्तुति दिन आउने उदितनारायण झा हुन् या कुमार सानु, अनुप जलौटादेखि सोनु निगमसम्मले कार्यक्रममा हार्मोनियमको ट्युनिङ मिलाउन विमललाई नै सम्झिन्छन्। अहिले भोजपुरी गीतसंगीतले पनि बजार तातिएको छ। यस सम्बद्ध पवन सिंह, दिनेशलाल यादव ‘निरहुवा’, खेसारीलाल यादव, कल्पना पटवारी, मनोज तिवारीलगायतले हार्मोनियमको ट्युनिङ मिलाउन उनको सेवा लिने गरेका छन्।

विमल भन्छन्, ‘यो सबै पशुपतिनाथको कृपा हो। त्यसैले, उनकै नामबाट पसलको नाम पनि राखेको छु।’ उनले पशुपतिनाथमा हार्मोनियम नै उपहारस्वरूप चढाएका छन्। पशुपतिनाथको भजनमण्डलीदेखि रेडियो नेपालको संगीत विभागसम्मले हार्मोनियमबारे सेवा लिनुपरे विमललाई नै सम्झिन्छन्। संगीत विद्यालय, संगीत प्रशिक्षण संस्था, राष्ट्रिय नाचघर, म्युजिक नेपालमा रहेका हार्मोनियम पनि विमलका हातको पारखी छन्। गायक शिशिर योगी भन्छन्, ‘नेपाली संगीतमा विमल नछुटाउने नाम भएको छ। मैले पनि हार्मोनियमको ट्युनिङका लागि उनलाई नै सम्झिन्छु।’

ईश्वरपुर नपा– १३, श्रीनगर, सर्लाहीका विमल २०६२ सालमा एसएलसी सकाएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं उक्लिए। उनले आरआर क्याम्पसमा संगीत पढ्दै बीए सकाए। साथै, असनस्थित हरेराम, रूपनारायण भिनाजुको हार्मोनियम पसल पनि सम्हाले। पसलमा बस्दा हार्मोनियमको ट्युनिङ बनाउन जान्नैपर्ने अवस्था आएपछि उनी कलकत्ता हानिए। दुई वर्ष सोही विषयमा स्पेसल कोर्स गरेर आए। अन्ततः आफ्नो छुट्टै पसल खोले। राजेशपायल राई, राजनराज शिवाकोटी, दीपक जंगम, शिव परियार, रामकृष्ण ढकाल, सुरेश अधिकारी, राजु लामा, यम बराल, यश कुमार, बद्री पंगेनीदेखि शम्भुजित बाँस्कोटासम्म हार्मोनियमको ट्युनिङका लागि विमललाई सम्झिन्छन्।

हार्मोनियम कर्ममा डेढ दशक बिताएका विमल नेपाल आइडलदेखि, द भ्वाइस आफ नेपाल, लोक स्टारसम्मको प्रतियोगितात्मक कार्यक्रमका लागि पनि ट्युनिङ कमाल देखाइसकेका छन्।

विमल विराटनगरदेखि धनगढीसम्म पनि हार्मोनियम बनाउन पुग्छन्। उपत्यका बाहिर जाँदा पसल उनकी श्रीमती सोनियाले सम्हाल्छिन्। हार्मोनियम र उनी एक अर्काको पर्यायवाची झैं भएका छन्। हार्मोनियम नै उनको जीवनको आधार भएको छ। हार्मोनियम नेपालले समेत चिनिन थालेका विमलको एउटा धोको छ, ‘मेड इन् नेपाल’ अंकित हार्मोनियम बनाउने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.