गढीमाईको पशुबली निरुत्साहन गर्न सरकारी तहबाटै पहल
वीरगन्ज : बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई निरुत्साहन गर्नका लागि बिहीबार वीरगन्जमा सर्वोच्च अदालतले सरकोरवालाहरुसंग छलफल तथा अन्तरकृया गरेको छ।
अन्तरकृयामा सहभागीहरुले यसपालीको गढीमाई मेलामा पशुबली प्रथालाई निरुत्साहित गर्न सरकारले थालेको पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
गढीमाई मेलामा दिइने पशुबली रोक्ने माग गर्दै २०७१ सालमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७३ साल साउन २० मा पशु् बली प्रथालाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो। अदालतको उक्त फैसला कार्यान्वयन गर्नका लागि यसपालिको गढीमाई मेलामा पशुबली दिने प्रथालाई निरुत्साहित गर्न सबै पक्ष लाग्नु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए।
अन्तरकृयामा बोल्दै जनकपुर उच्च अदालत अस्थायी इजलाश वीरगन्जका मुख्य न्यायधीश डिल्लीराम आचार्यले गढीमाई मेलामा पुश बलीलाई निरुत्साहित गर्ने सर्वोच्चको फैसला, कार्यान्वयनका लागि स्थानीय तह, मेला समिति र सरकारी निकाय सबै पक्षलाई आग्रह गरे। तर सर्वोच्च अदालतको आदेशले मात्रै गढीमाई मेलामा पशुबलीको प्रथा रोकिने अवस्था नरहेको भन्दै उनले भने, ‘यसमा सबैभन्दा बढी भूमिका स्थानीय जनताको हुन्छ, बली प्रथालाई निरुत्साहित गर्न हरेकले पशुको मारकाट रोक्न घरबाटै सुरुवात गर्नु पर्छ।'
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले गढीमाई मेलामा दिइने पशुबलीको प्रथालाई निरत्साहित गर्न वीरगन्ज महानगरपालिकाले पनि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता जनाए। धार्मिक शक्तिपिठहरूमा मानिसले आफ्नो स्वार्थका लागि निरिह पशुको बली दिने गरेको भए पनि पशुको बली दिएर पुण्य प्राप्ति वा मनोकांक्षा पुरा नहुने उनको जिकिर थियो।
'म आफैँ पनि पशुबली प्रथाको घोर विरोधी हुँ', नगर प्रमुख सरावगीले भने, ‘यदि बली दिनै नै हो भने पशुको बदलामा आफूभित्र रहेका दुर्गुणहरुको बली दिनु पर्छ।'
गढीमाई मेलामा दिइने पशुबलीलाई निरुत्साहित गर्न सर्वोच्चले गरेको फैसला स्वागत योग्य रहेको उनले बताए। सरावगीले भने, ‘गढीमाई मेलामा पशुबली रोक्न गाँउ गाँउमा जनचेतनामुलक अभियान चलाउनु पर्छ, त्यति गर्दा पनि पुश बली रोकिने अवस्था भएन भने सरकारले कानुनी डण्डा लगाएर भए पनि पशुबली रोक्नु पर्छ।'
बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सर्वोच्चले पशुबलीलाई पूर्ण रुपमा रोक्न नभइ निरुत्साहित गर्न मात्रै आदेश दिएको स्पष्ट पारे। सर्वोच्चको फैसला कार्यान्वयनका लागि स्थानीय प्रशासनले सम्भव भएसम्मको प्रयास गर्ने उनले बताए।
केहि वर्षदेखि शक्तिपिठमा नरिवल, कुभिण्डो, घिरौँला आदिको सात्विक बली दिने प्रचलन पनि चलिरहेको भन्दै उनले भने, ‘यसपालीको गढीमाई मेलामा निरिह पशुको बली दिनुभन्दा सात्विक बली दिने प्रथालाई जोड दिनुपर्छ।'
पशुबली रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गरेका दि जेन् गुडअइल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमले पशुबली रोक्न आफूहरुले ११ वर्षदेखि संघर्ष गर्दै आइरहेको जानकारी गराए। ढिलै भए पनि सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य रहेको उनले बताए ।
अबको गढीमाई मेलामा पशुबली प्रथालाई कसरी सकेसम्म कम गर्न सकिन्छ भन्ने अभियान लिएर गाउँ-गाउँमा अहिले पनि आफूहरु पुगिरहेको उनले बताए। बुद्ध र शान्तिको देश भनेर विश्वमा चिनिएको नेपालको छवि माथि गढीमाईमा दिने पशुबलीका कारण उल्टो असर परेको गौतमको तर्क थियो।
यसपालीको गढीमाई मेला, पशुको काटमार र रक्तपातबिना सम्पन्न गरेर शान्ति र बुद्धको जन्मभूमि नेपालमा दया र करुणाको भाव छ भन्ने सन्देश विश्वमा प्रवाह गर्न आफूहरु सफल हुने विश्वास लिइएको पनि उनले बताए।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गोविन्दबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका निर्देशक शीवकुमार पोखरेल, पुर्वमन्त्री कलावती पासवान, जिल्ला अदालत पर्साका न्यायधीश प्रकाश खरेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौर, बाराका सशस्त्र प्रहरी नायव उपरीक्षक न्युटन पुरी, बाराका दलित अधिकारकर्मी सिकेन्द्र पासवानका साथै पर्सा र बाराका सरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, पशु संरक्षण अभियन्तता, युवा, विधार्थी, सञ्चारकर्मी लगायतको पनि सहभागिता रहेको थियो।
तर गढीमाई मेलासँग सम्बन्धित अन्तरकृया कार्यक्रममा गढीमाई मेला ट्रष्ट सेवा, मेला सन्चालक समिति र स्थानीय पालिकाका जनप्रतिनिहरुको सहभागिता नभएको भन्दै कार्यक्रमको प्रभावकारिता माथि केहि सहभागीले गुनासो गरेका थिए।
गढीमाई ट्रष्ट सेवाका अध्यक्ष रामचन्द्र साह तेलीले भने कार्यक्रमका बारेमा आफूलाई ढिलो खबर आएकाले सहभागी हुन नसकेको अन्नपुर्ण पोष्टकर्मीलाई बताए।
बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो। महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षको अन्तरालमा मेला लाग्छ। यो पालीको मेला मंसिर १७ गतेदेखि सुरु हुँदैछ। ३ दिन चल्ने मेलामा मंसिर १९ गते बली दिने दिन परेको छ। गढीमाईको मेलामा एकैदिन राँगा र पाडा गरी करिब २५ हजार पशुको बली दिने गरिन्छ।