श्रीमती हत्या गर्ने फरार श्रीमान पक्राउ
सिरहा : ०६४ सालमा कल्याणपुर नगरपालिका ४ का सत्यनारायण यादवको हत्या भयो । उनकी पत्नी गीतादेवी यादवले देवर अक्षयकुमार यादवसँग ०६६ सालमा विवाह गरिन्। चार वर्ष नबित्दै गीताको पनि हत्या भयो । घटनाको ६ वर्षपछि उनको हत्या अक्षयले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले फरार रहेका अक्षयलाई पक्राउ गरी बिहीबार सार्वजानिक गरेका छन् । दाजुको मृत्युपछि अक्षयले भाउजुसँग समहमतिमै विहे गरेका थिए । पछि उनले दाइजोमा ५० हजार नगद र मोटरसाइकल माग गर्न थाले ।
दाइजो नदिएकै कारण गीताको हत्या गरिएको प्रहरीसमक्ष उनले बयान दिएका छन्। बिहेपछि अक्षय र गीता कर्जन्हा नगरपालिका २ बसाई सरे । ०७० साल पुष ९ गते उनीहरु मेला हेर्न मिर्चैया बजार आएका थिए। घर फर्किने क्रममा कर्जन्हा नपा ४ स्थित भेडवा खोलामा गीताको हत्या भएको प्रहरीले जनाएको छ।
अक्षयको बुवा रामनारायण यादवको पनि केही वर्ष पहिले हत्या भएको हो।त्यतिबेला माओवादीले बुवा र दाइलाई हत्या गरेको उनको आरोप छ । गीतादेवी शव नजिकै माओवादी नामबाट एउटा पर्चा भेटिएको थियो । घटना अन्तै मोड्न र आफू बच्नलाई अक्षयले त्यो पर्चा लेखेर घटनास्थलमा छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
'गीताको शव नजिकै भेटिएको पर्चाबाट अनुसन्धान थालिएका थियौं। पर्चामा लेखिएको अक्षर र प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष लेखेको नमुना अक्षर प्राविधिक परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठायौँ, 'सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले भने, 'हस्तलिपि मेल खाएको प्रतिवेदन आधारमा उनलाई पक्राउ गरिएको हो।'
जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको उनले बताए । घटनापछि अक्षय विदेश गएका थिए।गीतादेवीको ११ वर्षीय छोरा छन् ।
शंकामै पत्नी हत्या
३ वर्षअघि २३ वर्षीया मन्जु रायले सुखीपुर नगरपालिका ७ का राजेश पासवान भन्ने इलियास मियाँसँग प्रेम गरिन् । उनीहरु विहेपछि गोलबजार नगरपालिका ६ मा डेरा गरी बस्ने थाले । मन्जुले एक बालिकालाई जन्म दिइन् । त्यसपछि इलियासले आफ्नो बच्चा नभएको जिकिर गर्न थाले । त्यही विषयमा उनीहरुबीच विवाद बढ्दै गयो । गत वर्ष फाल्गुन २१ गते मन्जुको शव डेरामै फेला परेको थियो।
प्रहरी अनुसन्धानबाट मन्जुको हत्या पति इलियासबाटै भएको खुलेको छ। उनलाई पक्राउ गरी बिहीबार सार्वजानिक गरेको छ। घटनापछि इलियासले सासूलाई मन्जुको मृत्यु भएको खबर सुनाएका थिए। उनी डेरा गरी बसेका घर र ससुराली ५ सय मिटरको दुरीमा छ ।
प्रहरीले मन्जुको शव परीक्षण गर्न लहानस्थित रामकुमार उमाप्रसाद मुरारक (राउ)स्मारक अस्पताल पठाए ।त्यहाँ पोष्टमार्टम गरियो। रिपोर्टमा आत्महत्या वा विष सेवन गरेको नपाइएपछि इलियासलाई पक्राउ गरेको एसपी चतुर्वेदीले बताए । घटनाको सम्पूर्ण अनुसन्धान गरी रायसहितको प्रतिवेदन अदालतमा पेश गरेको एसपी चतुर्वेदीले बताए ।