द्वन्द्वपीडितको पीडा : चाडपर्व नआए हुन्थ्यो
सिरहा : महान् चाड दसैं नजिकिँदैछ। यतिबेला सहर बजारमा दसैंको चहलपहल सुरु हुन थालेको छ।दसैंका लागि सामान किनमेल र बिक्री गर्नेको दिनप्रतिदिन भीड बढ्न थालेको छ। प्राय सबैको अनुहारमा खुसी देखिन्छन्। धनगढीमाई नगरपालिका १० की मालतीदेवी सिंहको परिवारमा भने यो माहोलले छोएको छैन।४६ वर्षीया मालतीदेवीले १५ वर्षदेखि भयो चाडपर्व मनाउन छोडेको । ०६१ सालको आन्दोलनमा सुरक्षाकर्मीको गोली प्रहारबाट उनले पति विरकुमार सिंह गुमाइन्।
सखुवानन्कारकट्टि गाउँपालिका-२ जगतपुरकी ३५ वर्षीया समुन्द्रादेवी यादवको अवस्था पनि उस्तै छ । सशस्त्र द्वन्द्व कालमै उनले पनि पति गुमाइन्। माओवादीमा लागेका उनका पति हरिनारायण यादवले पार्टी छाडेपछि ०६२ सालमा उनको हत्या भएको थियो । पति बितेपछि घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा थुप्रियो। एकातिर श्रीमान गुमाउँदाको पीडा उनमा थियो नै त्यो सँगसँगै छोराछोरी पालनपोषणको चिन्ता थपियो।श्रीमान बितेदेखि नै राम्रोसँग चाडपर्व नमनाएको उनले बताइन्।
उनले भनिन्,' चाडवाड पनि दु:ख सम्झेर बित्नेगर्छ।'
द्वन्द्व प्रभावितको कथा पढ्दै र सुन्दै पशुपति मावि लहानका विद्यार्थी।तस्बिर : शम्भु यादव
उनी दुवैजस्तै दर्जनौं द्वन्द्व पीडित महिलाले महिला शान्ति संवाद अन्तरक्रियामा आफ्ना व्यथा सुनाए। सबैको एउटै प्रश्न थियो, , 'पति के कारणले गुमायौं ? छोराछोरी पालनपोषण, आर्यआर्जनमा समस्या भएको उनीहरुले बताए । सरकारले न्याय गर्न नसकेको उनीहरुको गुनासो छ । 'धनगढीमाई चौक प्रहरी चौकीमा माओवादीले आक्रमण गरेका थिए । गाउँमा बिहान घटनाबारे गाइगुई हल्ला चलेपछि घरमै सुतिरहेका पतिलाई घटना सुनाए,' मालतीले भनिन, 'के थाहा घटना सुनाउनु नै जीवनभरि दु:ख पाउनु हो। पसल सरसफाई गरी घटनास्थल पुगेका पतिमाथि एकछिनै गोलीको वर्षात भयो ।श्रीमान ठाउँका ठाउँ रहे।'
मालतीको चार छोराछोरी छन् । उनले सरकारको तर्फबाट किस्ता-किस्ता गरी १० लाख क्षतिपूर्ति पाएको बताइन्। जायज्यथाको नाममा १ कठ्ठा घडेरी छ । उनी हाटबजारमा समान्य खुद्रा व्यापार गर्छिन् । रकम तिर्न नसकेर स्कुलबाट छोराको सर्टिफिकट छाड्नु परेको उनले दुखेसो सुनाइन् । 'पतिको मृत्युपछि संघसंस्थाको सहयोगमा जेठो छोरा सन्तोषलाई निःशुल्क कक्षा १० सम्म पढाइयो, 'उनले भनिन, 'तर १० हजार रुपैयाँ तिर्न नसक्दा सर्टिफिकेट स्कुलमै थन्किएको छ।कहाँबाट तिर्नु ?' राहत स्वरुप पाएको रकमले छोराछोरी पाल्नमै सकिने गरेको उनले सुनाइन्।
द्वन्द्व प्रभावितको कथा पढ्दै र सुन्दै पशुपति मावि लहानका विद्यार्थी।तस्बिर : शम्भु यादव
समुन्द्रा देवीलाई भन्ने छोरीको विवाहको तनाव छ । 'छोरी ठूला हुँदै छन्। किस्तामा पाएको राहत रकम पनि छाक टार्नमै सकियो,'उनले भनिन, 'बीना दाइजो बिहे हुँदैन। कसरी बिहे गर्नु ?' उनको दुई छोरी र एक छोरा छन्।मन्जु २ वर्षपहिले एसईई उत्तिर्ण भएकी हुन् ।अर्की छोरी ९ कक्षामा र छोरा ७ कक्षामा पढ्दैछन्। घरको अभिभावक गुमाएपछि सन्तानको पालनपोषण र पठनपाठनमा समस्या हुने गरेको उनले सुनाइन् ।
'सम्पतिको नाममा १५ कठ्ठा मोही जग्गा छ। 'कमाउने कोही छैन्, 'उनले भनिन, 'चाडपर्वमा पैसा हुँदैन। खल्लो लाग्छ ।' द्वन्द्व पीडित परिवारको परिचय पत्रसमेत आफूले नपाएको उनले दुखेसो पोखिन। सरकारले पीडित परिवारका लागि ठोस काम नगरेको उनको गुनासो छ।
स्थानीय सरकारले द्वन्द्व पीडित परिवारलाई मलहम लगाउने कार्यक्रम बनाउनुपर्ने अधिकारकर्मी श्यामकुमार साह तर्क गर्छिन् । 'द्वन्द्वका परिवारले दु:ख भोगेका छन् । पीडितले न परिचय पत्र पाएको छ न त न्याय,' उनले भनिन, 'सरकारले उनीहरुलाई आफ्नो दु:ख भुलाउने योजना तथा कार्यक्रम बनाउनुपर्छ । जसले उनीहरुको जीवनयापनमा सहयोग पुगोस्।कार्यक्रममा सहभागी ।