किसानको रोजाइमा प्रतिबन्धित भारतीय चल्ला

किसानको रोजाइमा प्रतिबन्धित भारतीय चल्ला

वीरगन्ज : नेपाल सरकारले भारतीय पन्छी भित्र्याउन प्रतिबन्ध लगाएको छ भारतमा बर्डफ्युको संक्रमण देखिएपछि सरकारले २०६३ असोज ८ गतेदेखि आयातमा प्रतिबन्ध लगाएको हो। 

यद्यपि पर्साका ग्रामीण क्षेत्रमा भारतको बिहार र उत्तरप्रदेशमा उत्पादित कुखुराको चल्ला, अवैध रुपले व्यापक परिमाणमा आयात भइरहेको छ। प्रहरीले दुई दिनमै भारतबाट अवैध रुपमा आयात गरिएका करिब साढे १० हजार भारतीय चल्ला बरामद गरेको हो। 

प्रहरीले बिहीबार बिहान पर्सागढी नगरपालिका ६ बागेश्वरी तित्रौनाबाट ४ हजार ८ सय भारतीय कुखुराको चल्ला बरामद गरेको हो। भारतबाट ल्याएर बागेश्वरी तित्रौनाको बगैंचामा भण्डारण गरेको अवस्थामा प्रहरीले ४८ कार्टुन चल्ला बरामद गरेको हो। 

मंगलबार बिहान पनि प्रहरीले पर्साकै  बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टीबाट प्रहरीले ५ हजार ५ सय ४४ वटा भारतीय चल्ला बरामद गरेको थियो। तस्करले भरियामार्फत ल्याएका ६६ कार्टुनमा रहेको चल्ला, प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो। 

 भारत बिहारको नरकटीयागन्ज र उत्तर प्रदेशको गोरखपुरमा रहेका ह्याचरीबाट उत्पादित चल्ला भारतीय गाउँसम्म गाडीमा र त्यहाँबाट मोटरसाइकल, साइकल र भरियाको सहयोगमा सीमा कटाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

ग्रामीण क्षेत्रका नाकामा सुरक्षाकर्मीको उपस्थिती कम हुँदा कारोबारीलाई सीमा कटाउन सहज भएको स्थानीय बताउँछन्। पर्साबाट भारतीय चल्ला चितवन, मकवानपुर र धादिङका पोल्ट्री फर्ममा पुग्ने गरेका छन्। 

पर्साको जीराभवानी गाउँपालिका महादेवपट्टीका कुखुरा पालक किसान हरिदेव साह भारतीय चल्ला सस्तो पर्नुका साथै छिट्टै हुर्कने भएका कारण किनेर पाल्ने गरेको बताउँछन्। 

वीरगन्जको ह्याचरीले उत्पादन गरेको चल्ला प्रति गोटा ८० देखि ९० रुपैयाँ पर्छ। भारतबाट ल्याएका चल्ला ५०–६० रुपैयाँमा पाइन्छ।  ग्रामीण कुखुरा पालक व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ किसानको आकर्षण भारतीय चल्लामा रहेको बताउँछन्। 

‘भारतीय चल्ला भन्दा नेपालमा उत्पादन भएका चल्ला बढी मर्छन्’, श्रेष्ठ भन्छन्, ‘हुर्किएका कुखुराको तौलमा पनि उताको र यताकोमा आधादेखि १ किलोसम्मको फरक पर्छ।’

पशु क्वारेन्टाइन कार्यालय पर्साका चिकित्सक अरुणकुमार सिन्हाले भने नेपालमा प्रतिबन्धित गरिएकाले भारतीय कुखुरा, चल्ला वा अण्डा आयात गर्न नपाइने बताए। पर्साका नाका हुदै अवैध रुपमा भित्र्याइएका भारतीय चल्ला र कुखुरा प्रहरीले बरामद गरेर आफूहरुकै रोहबरमा नष्ट गर्ने गरेको बताए। 

प्रतिबन्धित भारतीय  चल्लाको तस्करी बढेपछि प्रहरीले पर्साका नाकामा एक सातादेखि निगरानी बढाएको छ। भारतीय चल्लाको तस्करी बढेको सूचना पाएपछि निगरानी बढाएको पर्साका प्रहरी प्रवक्ता नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.