दसैंमा तलब नपाएको भन्दै शिक्षक आन्दोलित

दसैंमा तलब नपाएको भन्दै शिक्षक आन्दोलित

उदययपुर : चाडपर्वको मुखमा तलब नपाएको भन्दै उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्। जिल्लाका ८ स्थानीय तहमध्ये ७ वटाका शिक्षकले तलब बुझिसक्दा पनि आफूहरुले नपाएको भन्दै उनीहरु आन्दोनलमा उत्रिएका हुन्। चौमासिकरुपमा तलब बुझ्दै आएका शिक्षक आधा मात्र तलब पाउने भएपछि आन्दोलित भएका हुन्। 

आइतबारदेखि सांकेतिकरुपमा आन्दोलनमा उत्रिएका शिक्षकले त्रियुगा नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। घेराउसँगै सभाहलमा उपमेयर देवीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापा, वडाध्यक्ष एवं सामाजिक विभाग प्रमुख मानबहादुर राईलगायत सरोकारवाला शाखाका कर्मचारीबीच वार्ता जारी राखेपनि वार्ता निष्कर्षबिहीन भएको छ।

शिक्षकले चौमासिकरुपमा बुझ्दै आएको तलब र दसैं खर्च दसैंअघि नै पाउनुपर्ने माग अघि सारेका छन्। यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले भने कोष तथा लेखा नियन्त्रण कार्यालयले कुल बजेटको २५ प्रतिशत मात्र बजेट निकासा दिएकाले सबै रकम उपलब्ध गराउन नसकेको बताए। 

उनले भने, 'राजश्व बाँडफाँडमा ढिलाइ, आन्तरिक स्रोतको व्यवस्थापन नहुँदा खुवाउन नसकिएको हो। यधपि प्रयास जारी छ, संचित रकम पनि शून्य रहेकाले सापटी खोज्ने काम भइरहेको छ, कतैबाट उपलब्ध भए निकासा छोड्छौँ।'
 
आधा तलबसमेत नपाएका शिक्षकलाई प्रमुख थापाले आइतबार सबै विद्यालयको खातामा दुई महिनाको तलब र एक महिना बराबरको दसैं खर्च रकम जम्मा हुने बताए। विगतदेखि नै दसैंमा चार महिनाको तलब र एक महिना बराबरको दसैं खर्च बुझ्दै आएका शिक्षकले यसपटक दुई महिनाको तलब र दसैं खर्च मात्र उपलब्ध गराउने गरी नगरपालिकाले तयारी थालेको हो।

निजामतीलगायत अन्य सेवाका कर्मचारीलाई मासिकरुपमा तलब उपलब्ध गराउँदै आएपनि शिक्षकको हकमा भने चार महिनामा एक पटक निकासा छोड्ने व्यवस्था सरकारले नै गरेको छ। गाउँमा विद्यालय रहेको र शिक्षक मासिकरुपमा तलब बुझ्न सदरमुकाम धाउँदा बालबालिकाको पढाइ प्रभावित हुने भन्दै सरकारले चार महिनामा तलब खुवाउने व्यवस्था गरेको हो। 

त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिले कोलेनिकाले कम पैसा निकासा दिएकोले शिक्षकलाई विगतमा जस्तो चौमासिक निकासा दिन नसकिएको बताए। शिक्षकका लागि मात्रै १० करोड ५० लाख रकम माग गरिएकोमा कोलेनिकाले शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखाका कर्मचारीकोसमेत गरी करिब आठ करोड निकासा दिएको प्रजापतीले बताए।

दसैंको तलब आउला र चार महिनाअघिदेखि ऋण खोज्दै घर चलाउँदै आएका शिक्षकले आधा रकमले उधारो खाएको तिर्नसमेत सक्ने अवस्था नरहेको आधारभूत विद्यालय रातमाटेका शिक्षक रामानन्द तिमल्सिनाले बताए।

उनले भने, 'त्यो पैसाले साहुकै ऋण तिर्न पुग्दैन, कसरी दसैं मान्नु, हाम्रा पनि लालावाला छन्, सबैका छोराछोरीले नयाँ कपडा किनेर लगाउँछन् हामीले पनि फेर्नै पर्यो, उधारो माग्दा पहिलाकै तिरेको छैन।'

समान प्रकृतिको कर्मचारी गोजी भरेर घर जाने, हामी चाहिँ रित्तो हात पारेर अनुहार नै कालो बनाएर फर्कनु पर्ने त्रियुगा नमुना माध्यमिक विद्यालय गाइघाटका प्रधानाध्यापक सुवास बिष्टले भने। उनले नगरपालिकाका कर्मचारीको चरम लापरवाहीका कारण समस्या सृजना भएको बताए।

त्रियुगा नगरपालिका क्षेत्रमा माध्यमिक तहको कक्षा ११, १२ मा २८, कक्षा ९, १० मा ६८, आधारभूत तहको कक्षा ६, ८ मा एकसय १३, कक्षा १, ५ मा तीनसय ३० र प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता एक सय ११ समेत गरी कुल छ सय ५० जना शिक्षक कार्यरत रहेको नगर शिक्षा अधिकारी जसबहादुर कार्कीले बताए। 

कोष तथा लेखानियन्त्रण कार्यालय उदयपुरका प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले प्रथम चौमासिकमा कूल बजेटको २५ प्रतिशतमात्र निकासा गर्न सकिने आर्थिक ऐनले स्पष्ट गरेकोले सोहीअनुसार निकासा दिएको बताए।

तर जिल्लाको चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाले भने शिक्षकहरुलाई चौमासिक तलब नै निकासा गरेका छन्। नगर प्रमुख बलदेव चौधरीले नगरको आन्तरिक श्रोत नगरकै कर्मचारीलाई तलब दिँदै सकिएको र भदौ महिनाको सुरुमै दिइनुपर्ने राजश्व बाँडफाँडको रकमसमेत हालसम्म पनि सरकारले नदिएकाले सरकारी दरबन्दीमा कार्यरत शिक्षकलाई चाडबाडको मुखमा आएर पुरा तलब दिन नसक्दा आफू दुखी भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.