कमिसन नमिल्दा बजेट कार्यान्वयनमा समस्या, होटलबाटै योजना

कमिसन नमिल्दा बजेट कार्यान्वयनमा समस्या, होटलबाटै योजना

वीरगन्ज : स्थानीय तहमा बजेट विनियोजन र कार्यान्वयनमा समस्या रहेको जनप्रतिनिधिहरुले स्वीकार गरेका छन् ।

सोमबार वीरगन्जमा आयोजित स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन विषयक अन्तरक्रियामा पर्सा र बाराका जनप्रतिनधिहरुले यस्तो औंल्याएका हुन् ।

कर्मचारी र जनप्रतिनिधि बीचको द्वन्द्ध र कमिसनमा हुने भागबण्डाको विवादले बजेट विनियोजन र कार्यान्वयनमा समस्या भएको उनीहरुको भनाइ छ । प्रदेश २ का पालिकाहरुको वडाका लागि योजना तर्जुमा सदरमुकामको होटलमै बसेर गर्न थालिएपछि आलोचना बढेको छ ।

होटलमै बसेर योजना विनियोजन गरिने र योजनाको भुक्तानी पनि होटलबाटै गर्ने प्रवृति बढेको भन्दै जनप्रतिनिधिहरुले नै आलोचना गर्न थालेका हुन् । स्थानीय तहमा उपभोक्ता समिति मार्फत भइरहेका योजनामा सबै भन्दा बढी अपरादर्शिता र अनियमितता भइरहेको पनि उनीहरुको गुनासो छ ।

केही जनप्रतिनिधिले कमिशनको लोभ र दलको दबाबमा आफू निकटका व्याक्ति र दलका कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर योजना बाँड्ने काम गर्दैआएको उनीहरु बताउँछन् । र त्यस्ता काम गुणस्तरीय नभएको पनि उनीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागी पर्सा र बाराका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले योजना छनोट, बजेट वितरण र कार्यान्वयन प्रक्रियामा अहिले पनि समस्या रहेको स्वीकारे ।

पटेर्वा सुगौली गाँउपालिका उपाध्यक्ष ममता महतो थारुले अधिकांश पालिका अध्यक्ष र वडाध्यक्षले कमिशनको लोभमा होटलको कोठामै बसेर योजना तर्जुमा गरी आफू निकटका व्याक्तिलाई योजना बाँड्ने गरेको बताइन् ।

योजना तर्जुमा र विनियोजन प्रक्रियामा पालिका अध्यक्ष र वडाध्यक्षले महिला जनप्रतिनिधिलाई उपेक्षा गर्दैआएको पनि गुनासो उनले गरिन् । कतिपय पालिकामा प्रमुख प्रशाकीय अधिकृतले पनि जनप्रतिनिधिलाई पत्तो नै नदिइ सामाजिक विकासका कार्यक्रम आफैँले गैरसरकारी संस्थालाई दिने गरेको भेटिएको पनि थारुले बताइन् ।

बाराको परवानीपुर गाँउपालिका अध्यक्ष हरिनारायण साहले वडाध्यक्षहरुले भएभरको योजना आफ्नै वडामा लान खोज्ने प्रवृत्ति रहेको बताए । अहिले पालिकाहरुमा जनप्रतिधिनिको एउटा धार र कर्मचारीहरुको अर्कोे धार रहेको भन्दै त्यसले पनि योजना र बजेटको विनियोजन र कार्यान्वयनमा समस्या भएको उनले बताए ।

पोखरीया नगरपालिका उपप्रमुख सल्मा खातुनले पालिकाहरुमा प्रमुख र उपप्रमुख र वडाध्यक्ष बीच समन्वय नहुँदा योजना कार्यान्वयनमा प्रभावकारिता नदेखिएको बताइन् । उपभोक्ता समिति मार्फत भइरहेका योजनाको काम गुणस्तरीय हुन नसकेको पनि उनले बताइन् ।

‘जहाँ भागबण्डा मिल्दैन त्यहाँ समस्या हुन्छ’

योजनामा जनप्रतिनिधि र कर्मचारी बीच कमिसनको भागबण्डामा कुरा मिल्छ त्यहाँ मात्रै समस्या नहुने कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए । कमिशनको भागबण्डा नमिलेको ठाउँमा मात्रै समस्या देखिने गरेको उनीहरुको भनाइ छ ।

प्रा.डा. सुष्मा द्धिवेदीले योजनाको बाँडफाँडमा कमिसनको कुरा नमिलेकै कारण अधिकांश पालिकामा जनप्रतिधिनि र कर्मचारीहरु बीच द्वन्द्ध रहेको बताइन् । सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले उपभोक्ता समितिले आफूले पाएको योजना, निश्चित  लिएर ठेकेदारलाई बेच्ने गरेको घटना पर्सा जिल्लाकै पालिकामा भेटिएको बताए ।

नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी लगायत नेताहरुले पनि स्थानीय तहका जनप्रतिधिनिहरुमा निजी र दलीय स्वार्थ हावी रहेका कारण योजना विनियोजन र कार्यान्वयनमा प्रभावकारिता नदेखिएको बताए ।

प्रदेशसभा सदस्य शोभा लामाले सदरमुकाम र कठमाडौंको होटलमा बसेर योजना तर्जुमा गरी बाँड्ने र होटलमै बसेर भुक्तानी दिने चलन रहेको बताइन् । जनप्रतिनिधिहरुको नियत नै ठीक नभएका कारण समस्या भएको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य रमेश कुर्मीले पालिकाहरुमा जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द्ध रहनु र कर्मचारी संयन्त्रले असहयोग गरेका कारण योजनाको विनियोजन र कार्यान्वयनमा समस्या देखिएको बताए ।

कार्यक्रममा प्रदेश २ का ८ जिल्लाका १५ पालिकामा बजेट बिनियोजन तथा कार्यान्वयनको अवस्थाका बारेमा डेमोक्रेसी रिसोर्स सेन्टरले अनुसन्धान गरेर तयार पारिएको प्रतिवेदन सेन्टरका अनुसन्धानकर्ताद्वय चिरन घिमिरे र सोभित सुवेदीले सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनमाथि सानो पाइलाका कञ्चन झा र बिक्रम उपाध्यायले टिप्पणी गरेका थिए ।

कार्यक्रममा पर्सा र बाराका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, प्राध्यापक, सामाजिक अभियन्ता, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, युवा, विधार्थी लगायतको पनि सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.