सुनसरीमा नयाँ नोट अभाव
धरान : सुनसरीमा नयाँ नोट र खुद्रा पैसाको चरम अभाव भएको छ । दसैं सुरु भएपनस बैंक तथा वित्तिय संस्थाले ग्राहकलाई नयाँ नोट र खुद्रा पैसाको व्यवस्था मिलाउन सकेका छैनन् ।
सुनसरीका धरान, इटहरी, इनरुवा, रामधुनी, बराहाक्षेत्र, दुहबीलगायतका स्थानमा नयाँ नाट र खुद्रा पैसाको अभाव भएको छ। नेपाल बैंक लिमिटेड धरानका प्रबन्धक अमर थापाले राष्ट्र बैंकले नयाँ नोट र खुद्रा पैसा उपलब्ध नगराएका कारण यस पटक नयाँ नोटको चरम अभाव भएको बताए । उनले पटक-पटक नयाँ नोट र खुद्रा पैसा माग्दा समेत राष्ट्रबैंकले उपलब्ध नगराएको उनको गुनासो छ ।
सुनसरीका विभिन्न स्थानमा संचालनमा आएका नेपाल बैंक, बाणिज्य बैंक, सनराइज, एनआइसी एसिया, सानिमा, प्रभु, माछापुच्छ्रे, जनता, मितेरी, मुक्तिनाथ, ग्लोबल आइएमइ, लक्ष्मीलगायतका अन्य विकास बैंक र वित्तिय संस्था पाँच सय भन्दा बढीमा नयाँ नोट र खुद्रा पैंसाको अभाव छ।
सनराइज बैंक धरानका मेनेजर बारबरिक पोखरेलले राष्ट्र बैंकले नयाँ र खुद्रा नोट नदिएका कारण उपभोक्ताको मागलाई पूरा गर्न नसकिएको बताए। राष्ट्र बैंक प्रदेश १ का प्रमुख रोशन सिंग्देलले केही बैंकलाई नयाँ नोट र खुद्रा पैसा उपलब्ध गराएको दावी गरेका छन् । उनले नयाँ नोट र खुद्रा पैसा अभाव भएका कारण सबै बैंकलाई उपलब्ध गराउन नसकिएको दावी गरे।