चाडपर्वसँगै भित्रिए विलाशिताका सामान
वीरगन्ज : मुख्य चाडपर्व नजिकिएसँगै भारत तथा तेश्रो मुलुकबाट विलाशिताका विद्युतीय सामान (टेलिभिजन, वासिंङ मेसिन , ,कम्प्युटर ल्यापटप , रेफ्रिजेरेटेर, एसी इत्यादि ) को आयातमा वृद्धि भएको छ ।
दसैं र तिहारका लागि लक्षित गरी वीरगन्ज नाकाहुँदै गत २ महिना (साउन र भदौं ) मै झण्डै साढे १ अर्ब मुल्यको विलाशिताका विद्युतीय सामान आयात भएको छ। वीरगन्जका दुई भन्सार नाका (वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार) हुँदै २ महिनाकै अवधिमा एक अर्ब ४९ करोड ३६ लाख मुल्यको टेलिभिजन, रेफ्रिजेरेटेर , वासिङ मेसिन , एसी ,कम्प्युटर , ल्यापटप , माइक्रो वेभेन र विद्यूतीय चिम्नी आयात भएको हो ।
यो अवधिमा वीरगन्ज नाका हुँदै ५३ करोड ६५ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ मुल्यको ३६ हजार ८ सय १ थान रेफ्रिजेरेटर, २८ करोड ८१ लाख ५० हजार ९२ रुपैयाँ मुल्यको ९ हजार ८ सय २४ थान वासिङ मेसिन , १६ करोड ३२ लाख ४१ हजार ३ सय ९ रुपैयाँ मुल्यको ६ हजार ५ सय २६ थान ल्यापटप र कम्प्युटर आयात भएको हो ।
यस्तै २९ करोड १७ लाख ९७ हजार ३ सय मुल्यको ८ हजार ६ सय २६ थान एसी , १७ करोड ६२ लाख ५५ हजार मुल्यको १५ हजार ८४ थान रंगीन टेलिभिजन सेट , २ करोड ६ लाख ५९ हजार ८ सय ५२ रुपैया मुल्यको २ हजार २ सय ८४ थान माइक्रो ओवेन र १ करोड ६९ लाख ५८ हजार १ सय ५७ रुपैयाँ मुल्यको २ हजार ३ सय ६० थान विद्युतीय चिम्नी भित्रिएको हो ।
दुई महिनामा आयात भएका विलाशिताका विद्युतीय सामनको आयातबाट मात्रै दुवै भन्सार कार्यालयले ६७ करोड ४० लाख ५० हजार ८ सय ९३ रुपैयाँ राजश्व संकलन गरेका छन् ।
गत वर्षको दसैं र तिहारका बेला भने उक्त दुई महिनाको अवधिमा वीरगन्ज नाकाहुँदै १ अर्ब ३१ करोड ४९ लाख मुल्यका मात्रै टेलिभिजन , रेफ्रिजेरेटेर , वासिङ मेसिन , एसी ,कम्प्युटर , ल्यापटप , माइक्रो वेभेन र चिम्नी आयात भएका थिए ।
गत वर्षको भन्दा यस वर्षमा १७ करोड ८७ लाख १५ हजार ३ सय ४० रुपैया बढी मुल्यको विलाशिताका विद्युतीय सामान नेपाल भित्रिएको हो ।
चाडबाडमा उत्पादक कम्पनी र अधिकृत विक्रेताले ग्राहकका लागि बिक्री मुल्यमा विशेष छुट र उपहार सहितका विशेष स्कीम (योजना ) ल्याउने गर्छन् । जसका कारण चाडबाड नजिकिएसँगै बजारमा विलाशिताको सामानको कारोबार बढी हुने गरेको छ ।
'दसैं तिहारका बेला छुट र उपहारका स्किम हुन्छ, यो बेलामा ग्राहकसँग पैसा पनि हुन्छ। वीरगन्जको मेनरोडमा रहेको एलजी कम्पनीको शोरुमका सन्चालक सौरभ शर्माले भने, 'जसका कारण अरु बेलाको भन्दा दसैं तिहारमा कारोबार बढी हुने गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले यसपाली पनि दसैं तिहार सुरु हुनुभन्दा २ महिना पहिले साउन देखि नै विलाशिताका सामानको आयातमा वृद्धि भएको बताए ।
'अरु बेला पनि यी सामान छिटफुटरुपमा भित्रिन्छ, उनले भने, 'तर चाडबाडका बेला बजारमा कारोबार बढ्ने हुँदा दसैं तिहारका लागि लक्षित गरेर एक दुइ महिना पहिलेदेखि नै आयातकर्ता र व्यापारीले विलाशिताका सामान भित्र्याउन थालेका हुन्।
वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहको गोदाममा भन्सार जाँचपासका लागि भण्डारण गरेर राखिएका विदेशबाट आयात गरिएका टिभी, फ्रिज , कम्युटर , वासिङ मेसिन र कप्युटर ल्यापटप । तस्बिर : क्रान्ति शाह