अर्थमन्त्री नयाँ दिल्लीमा, भारतीय वित्तमन्त्रीसँग भेट्दै
नयाँ दिल्ली : अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आएका छन्। बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट–२०१९(भारत आर्थिक सम्मेलन)मा भाग दिन उनी दिल्ली आएका हुन्। अहिले उनी नेपाली दूतावासमा छन्।
बिहीबार उनले आफ्ना समकक्षी भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम रहेको छ। बिहीबारदेखि सुरु हुने दुइ दिने सम्मेलनमा भाग लिन आएका अर्थमन्त्री खतिवडा शनिबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
शुक्रबार दिउँसो 'दक्षिण एशियाली मुलुकको आर्थिक दृष्टिकोण' विषयमा हुने प्यानल डिस्कसनमा भाग लिनका लागि आमन्त्रित खतिवडाले सम्मेलनको बिहीबार र शुक्रबारको अधिकांश सत्रमा भाग लिनेछन्।
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि खतिवडा दोश्रो पटक दिल्ली आएका हुन्। यस अघि इन्डिया फाउन्डेसनले १४–१६ मार्च २०१८(३०फागुन–२ चैत्र २०७४)मा आयोजना गरेको ‘प्रतिआतंकवाद सम्मेलन २०१८’मा भाग लिन एक दिनका लागि उनी दिल्ली आएका थिए। त्यसको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा उनले सम्बोधन गरेका थिए।
यही अक्टोबर ३–४ मा हुन लागेको सम्मेलन जेनेभास्थित विश्व आर्थिक मंच(वर्ल्ड इकोनोमिक फोरम), भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय तथा भारतीय उद्योग परिसंघ(सीआईआई)को सहकार्यमा हुन लागेको हो। ‘इनोभेटिंग फर इन्डियाः स्ट्रेन्थिंग साउथ एशिया, इम्प्याक्टिंग दि वर्ल्ड’, समिटको नारा रहेको छ।
डब्लुईएफका अनुसार यो समिटमा चारवटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाई सम्बोधन गरिनेछ। नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली। दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न यो सम्मेलन केन्द्रित रहने बुझिएको छ।
सम्मेलनलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र टेनिस खेलाडी तथा दक्षिण एशियाका लागि युएन वुमन गुडविल एम्बेसेडर सानिया मिर्जाले सह अध्यक्षता गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस !