दसैं मनाउन पाहाड जानेको भीड
धरान : दसैंको चहलपहल सुरु भएसँगै धरान बसपार्कमा प्रदेश १ का पाहाडी जिल्ला जाने सर्वसाधारणको भीड लागेको छ। सुनसरीको धरान उपमहानगरपालिका हुँदै पूर्वी पाहाडी जिल्ला जाने मानिसको भीड लागेको हो।
पूर्वी पाहाडी जिल्ला स्थायी घर भइ काठमाडौं, पोखरा, विराटनगर, बुटवल, नेपालगन्ज लगायत देशका विभिन्न जिल्ला तथा विदेशमा समेत बस्दै आएका सर्वसाधारणहरु धरान भएर पूर्वी पाहाडी जिल्ला प्रस्थान गरेका छन्। धरान बसपार्क हुँदै प्रदेश १ का पाहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, इलाम, पाँचथर, र ताप्लेजुङ जिल्ला जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ। तीनवर्षसम्म वैदेशिक रोजगारीका लागि दुबई गएका संखुवासभाका रमेश खड्काले यसपाली दसैं परिवारसँग राम्ररी मनाउन घर पर्किएको बताए।
खोटाङको दिक्रेल घर भएका प्रहरी हवल्दार ज्ञानप्रसाद आचार्यले पनि केहि दिनको छुट्टी मिलाएर बुढा भएका बाबु आमाको आर्शीवाद थाप्न दसैंमा घर हिँडेको बताए। विरटानगर बस्दै आएका भोजपुरकी सुष्मा खत्री पनि वर्षदिनमा आएको दसैंको अवसरमा बुवाआमाको हातको टीका लगाउन र गाँउका साथीभाईसँग भेटघाट गरी रमाइलो गर्न घर जान लागेको बताइन्।
धरानबाट दैनिक २० हजारभन्दा बढी सर्वसाधारणहरु यातायातका साधनमार्फत पाहाडी जिल्ला प्रस्थान गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनले सर्वसाधरणगलाई सहज रुपमा घर फर्काउनका लागि धरान बसपार्कमा प्रहरी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको बताए।