‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट फाइदा लिनुपर्छ’
विराटनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले २३ वर्षपछि चीनका राष्ट्रपतिले गर्न लागेको नेपाल भ्रमण नेपालका लागि उपलब्धिमुलक रहने बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने दाबी गरे। ‘यो भ्रमणबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिन सक्नुपर्छ, भ्रमणले सबै नेपालीलाई उत्साहित बनाएको छ,’ उनले भने।
दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिदै उनले चिनियाँ राष्ट्रपतिको भ्रमणको उपलब्धी हात पार्दै भ्रमण सफल बनाउनु नेपाल सरकारका लागि परिक्षाको घडी समेत रहेको तर्क गरे।
नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरु कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पार्दै उनले नेपालमा स्वतन्त्र रहनेमा विश्वका अन्य मुलुक प्रष्ट हुनुपर्ने बताए।