खै चिनियाँ नेपाली साहित्य

खै चिनियाँ नेपाली साहित्य

मानिस घर फर्किसके हाट बजारबाट

तर मेरो कविता फर्केको छैन

उसलाई मातेको देखिएको थियो

हतास मुद्रामा लडबडाइरहेको

हातमा सुनौलो हारपिन बाजा लिएर

एउटा घरको पालीमुनि

साँझपख चौबाटोमा।

चिनियाँ चर्चित कवि जिदी माजियाका कविता अंश हुन् यी। जसलाई कवि युयुत्सु आरडी शर्माले अनुवाद गरेका हुन्। नेपाली बजारमा हिन्दी साहित्यका अनुवाद पुस्तक छ्याप्छ्याप्ती छन्। तर अर्को छिमेकी मुलुक चीनका साहित्यकारहरूको पुस्तक भने नितान्त अभाव देखिन्छ।

साहित्यकार शार्दूल भट्टराई भन्छन्, ‘एउटा समय थियो– माओ र उनका रेडबुकको। माओका रेडबुक हातमा बोक्ने, पढ्ने वा पढेजस्तो गर्ने र तिनलाई कोठामा सजाएर राख्ने लहर नै चलेको थियो। विशेषगरी विचारमा स्पष्ट नभएका, भूमिगत कम्युनिस्ट पार्टीमा नलागेका तर कम्युनिस्ट बन्न आतुर नवयुवाहरूमा त्यसको प्रभाव बढी थियो। म पनि त्यस्तै थिएँ।’

अर्का साहित्यकार स्नेह सायमीका अनुसार २०३२÷३३ सालतिर भोटाहिटीस्थित प्रगति पुस्तक पसलबाट माओ र उनका रेडबुक, लुसुनका पुस्तक उनले निकै पढे। उनका निजी पुस्तकालयमा अझै पनि ती पुस्तक सुरक्षित छन्। भन्छन्,

‘निरञ्जनगोविन्द वैद्यले प्रगति पुस्तक पसल चलाएका थिए। मात्र १०—१२ रुपैयाँमा पूरै चिनियाँ सेटको किताब पाइन्थ्यो। सस्तो भएकाले हामी युवाहरू ती किताब खोजीखोजी पढ्थ्यौं।’ सायमीका अनुसार २०४६ को आन्दोलनपछि २०४८ सालमा कांग्रेसको सरकार बन्यो। नेपालमा चिनियाँ लगानीका उद्योग भटाभट बन्द गराइयो। सोही क्रममा चिनियाँ पुस्तक पनि लुप्तझैं भए। यसमा तत्कालीन कांग्रेस सरकारकै हात देखिन्छ।

नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष श्रवण मुकारुङ भने यो कुरा मान्न तयार छैनन्। भन्छन्, ‘कांग्रेसको सरकारको पालामा चिनियाँ पुस्तक बन्द भएको होइन। हाम्रोमा चिनियाँ भाषाकै समस्या छ।’ उनी अघिल्लो कार्यकालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रहेको बेला दुई पटक चीन गएको तर भाषा नबुझेर टाउको मात्रै हल्लाउने, खाइपिई गरेर आउने काम मात्रै भएको बताए। चिनियाँ नेपाली साहित्य अघि बढाउने हो भने विज्ञ समूह बनाइनुपर्ने उनको राय छ।

यही वैशाखको अन्तिम सातामा पोखरामा भएको तीनदिने विचार गोष्ठीमा नेपाली साहित्यलाई एकसाथ अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा अनुवाद नगरेसम्म नेपाली साहित्यकारको स्तर वृद्धि हुन नसक्ने निष्कर्ष निकालिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो। ‘समय परिवर्तन भइसक्यो। विशाल छिमेकी मुलुकको बीचमा भएर पनि हामीले त्यसको फाइदा उठाउन नसक्नु ठूलो विडम्बना हो।’ अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले भनेका थिए,

‘यसका लागि हाम्रा सिर्जनाहरू अंग्रेजीमा मात्र होइन, चिनियाँ र हिन्दी भाषामा पनि अनुवाद गर्नुपर्छ।’

पहिले नेपालमा चिनियाँ पुस्तक सजिलै पाइन्थ्यो। चीनको बेइजिङ प्रकाशनले पुस्तक विभिन्न देशहरूमा पठाइरहन्थ्यो। विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्य भन्छन्, ‘त्यो बेलामा मैले पनि केही बालकथा संग्रह पुस्तकहरू फेला पारे। ती पुस्तकका लेखिएका कथाहरूमा नेपाली परिवेशसँग धेरै हदसम्म मिल्ने हुनाले नेपाली अनुवाद गर्नु राम्रो होला भनेर ती कथाहरूको अनुवाद गरेँ।’ पहिलो चिनियाँ किताब सजिलै पाउन सकिन्थ्यो तर, पछि पुस्तक एकदमै महँगो भयो र सहज रूपमा उपलब्ध नभएपछि समस्या आयो। यसरी अनुवाद कार्यमा कमी आएको जस्तो लाग्छ। पहिले अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुन्थ्यो। तर अहिले त्यो पनि हुँदैन त्यसैले सहज रूपमा पुस्तक प्राप्त नभएका कारण अनुवादमा कमी आएको आचार्यको भनाइ छ।

चिनियाँ साहित्यको पुस्तक नेपालीमा किन अनुवाद भइरहेको छैन भन्ने प्रश्नमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भने, ‘यसका लागि म आधिकारिक व्यक्ति होइन, प्रज्ञाकै पदाधिकारीहरूसँग सोध्नोस्।’

कहाँ पुग्यो अनुवादको काम ?

गत कात्तिक १३ र १४ गते काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थापित संस्था चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगद्वारा संयुक्त रूपमा ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौं सम्मेलन’ आयोजना गरिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले अनुवादसम्बन्धी सम्झौता गर्ने गृहकार्य भइरहेको बताए। उनले भने, ‘नेपाली भाषामा प्रकाशन भएका प्रतिनिधि कथा र कविता चिनियाँ भाषामा अनुवादका लागि दिन छनोटको काम भइरहेको छ।’

दुवै देशमा प्रकाशन भएका इतिहास, भूगोल, कला, संस्कृति, साहित्य, सभ्यता, द्विपक्षीय सम्बन्ध, विकास, विज्ञान प्रविधि, बालसाहित्य, जीवनी एवं समसामयिक विषयका पुस्तक अनुवाद गरी जनस्तरसम्म पुर्‍याई सम्बन्ध सुदृढ बनाइने उद्देश्य रहेको उनले बताए।

चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले सम्मेलनमा नेपाली भाषामा अनुवादका लागि चीनका ६० पुस्तकको सूची प्रस्तुत गरेको थियो। आगामी वर्ष एक सय वटा चिनियाँ पुस्तकको सूची नेपालीमा अनुवादका लागि दिने गृहकार्य भइरहेको चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईले गत वर्षकै कार्यक्रममा जानकारी दिएका थिए। तर यससम्बन्धी कुनै कार्य अघि बढेको छैन। सदस्यसचिव उपाध्याय भन्छन्, ‘आगामी असोज २८ देखि कात्तिक ३ सम्म ६ दिने चीन र दक्षिण एसियाली साहित्य सम्मेलन प्रज्ञामा हुँदैछ। यसमा गत वर्ष उठेको अनुवाद कार्यबारे पनि कुराकानी हुनेछ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र धर्मरत्न यमीले नेपाल भाषामा लेखेको सोँदे अर्थात् ‘तिब्बतको जवाफ’ नामक पुस्तक चिनियाँ भाषामा अनुवाद भइसकेको छ। डायमण्डशमशेर राणाको उपन्यास ‘सेतो बाघ’ अनिश मल्लले नेपालीबाट चिनियाँ भाषामा अनुवाद गरेका छन्। ‘मुनामदन’ अंग्रेजी भाषाबाट चिनियाँमा अनुवाद भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.