लभर ब्वायका पर्याय

लभर ब्वायका पर्याय

काठमाडौं : सनम कठायत पछिल्लो समयका व्यस्त कलाकार हुन्। उनले पाँच सयभन्दा बढी आधुनिक गीतमा अभिनय गरिसकेका छन्। दुई दर्जनभन्दा बढी बेस्ट मोडलको उपाधि पाइसकेका सनम आधुनिक गीतमा लभर ब्वायका रूपमा पनि परिचित छन्।

डोटीको विकट गाउँ मुडभराका सनमको गाउँमा एसएलसी दिने बेला मात्रै बिजुलीको उज्यालो छिर्‍यो। हेडमास्टर बुवाको प्रेरणाले लालटिनको उज्यालोमा उनले कखरा सिके। एसएलसी पछि उनको पढाइले उडान लियो, सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगरबाट आईएस्सी सकाए। त्यस्तै, मेडिकल माइक्रोबायोलोजी विषय लिएर त्रिचन्द्र कलेजबाट बीएस्सी र एमएस्सी सकाए। पढाइमा अब्बल सनम स्कुल र कलेजका टपर पनि हुन्। उनले छात्रवृत्तिमै औपचारिक पढाइ सकाए।

काठमाडौंको बसाइमा उनी पढाइ र रेडियोको जागिर सँगसँगै गर्न थाले। भ्वाइस अफ युथ, गोर्खा एफएमलगायतमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरे। कार्यक्रम चलाउने क्रममा विभिन्न सांगीतिक हस्तीहरूसँग कुराकानी हुन्थ्यो। यो २०६८ सालको कुरा थियो।

बीएस्सी दोस्रो वर्ष पढ्दा नै उनले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरे। निरुता सिंहले आवाज दिएको ‘लुट्यो तिमीले’ बोलको गीतमा वसन्त सापकोटाको संगीत र लोकेन्द्र कार्कीको शब्दमा रहेको यो गीतले औपचारिक रूपमा सनमको अभिनय क्षेत्रको ढोका खुल्यो। त्यसपछि आठ वर्षदेखि यही क्षेत्रमा सक्रिय छन् सनम। प्रेमध्वज प्रधानदेखि, उदय मनिला सोताङ, सत्य–स्वरूप, शिव, प्रमोद अञ्जु, सीबी अधिकारीदेखि रवि ओडसम्मका गीतमा उनकै अभिनय देख्न सकिन्छ। पछिल्लो पुस्ताका सबै गायकहरूसँग काम गरिसकेका सनम दर्शकले रुचाएका मोडल हुन्।

नरेन्द्र प्यासीको स्वरमा रहेको ‘अपार माया हाम्रो’ बोलको गीत, ‘माया ए मेरी माया’ बोलको स्वरूपराज आचार्यले स्वर दिएको गीतमा उनको अभिनय दर्शकको रोजाइमा पर्‍यो। उनको अभिनय रहेको ‘अन्त माया लाको भए, ‘पहिलो माया’, ‘आफू दुःखी भएर’, ‘तिमीले साथ छाडे पनि’, ‘तिमीले भुल्न खोजे पनि’, ‘तिम्रै संसार’ लगायतका दर्जनौं गीत चर्चामा छन्। छुट्टै प्रोफाइल बनाउने लालसाले अभिनयमा लागेको बताउने सनम अहिले प्रोफेसनल मोडल भइसकेका छन्। भन्छन्, ‘अहिलेसम्म हैट, यस्तो गीतमा नि काम गरे भन्ने पश्चाताप लाग्ने गरी कुनै काम गरेको छैन।’ उनले गीत छान्नुअघि शव्द सुन्छन्।

हरेक कलाकारको रियल लाइफ र रिल लाइफलाई फरक तरिकाले बाँच्न जान्नुपर्ने उनको अनुभव छ। रिल लाइफको जस्तो चमकधमक र सोअप देखाउने खालकै जिन्दगी बाँच्छु भनेर सोच्यो भने रियल लाइफ पनि बिग्रिने सुनाउँछन् उनी। उनले प्रायः वियोगान्त गीतमा अभिनय गरेका छन्। आफूलाई छोडेर गएकी प्रेमिकाको यादमा बाँचेको अभिनय गर्नुपर्ने, माया गर्ने मान्छे गुमाउँदाको पललाई वास्तविक सम्झेर नाच्नुपर्ने एक खालको मजा लाग्छ उनलाई। धोका खानेले फिल गर्ने अनुभव सदैव उस्तै हो। यसैले वियोगान्त गीतहरू अजर अमर बनेको देख्छन् उनी। भन्छन्, ‘म सानैदेखि सुगम संगीतका ट्रेजेडी गीत सुनेर हुर्किएको हुँ। रेडियोमा पनि आधुनिक गीतकै कार्यक्रम चलाउँथेँ। यसले पछि अभिनयमा सहज भयो।’

उनको विचारमा अभिनय गर्दा शब्दको चरित्रअनुसार पात्रलाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास हुनैेपर्छ। ‘काम गर्दागर्दै मेरो चरित्र नै लभर ब्वायजस्तो भइसक्यो।’ उनी मुस्कुराउँदै भन्छन्, ‘कहिलेकाहीँ त म सनम नभएर धोका पाएको कुनै प्रेमी हुँ जस्तो लाग्छ चरित्रहरूकै वरिपरि घुमिरहन्छु म।’

धेरै प्रेमिल गीतमा अनेकलाई मुटुमा सजाएका सनम वास्तविक जीवनमा भने सिंगल नै छन्। क्यामराका सिनहरूमा धेरै कलाकारसँग प्रेम गाँसेका उनलाई पहिलो पटक वास्तविक प्रेमको फिल भने टिनएजमै भएको थियो। भन्छन्, ‘प्लस टु पढ्ने बेला कम्प्युटर क्लासमा भेट हुने एक युवती खुब मन पथ्र्याे। उनलाई देख्नकै लागि घण्टौं कुरी बस्थे। म तर भेटेर गफ गर्ने मौका कहिल्यै मिलेन।’ सनम पढ्न काठमाडौं आएपछि प्रेम गर्छु भन्नै नपाई सकियो पहिलो प्रेम। त्यसपछि भने सिरियस सम्बन्ध कसैसँग नगाँसेको जनाउँछन्। ‘सायद पढाइ र कामको टाइट सेड्युअल भएर होला धीत मरुन्जेल प्रेम गर्ने अवसर नै पाइन मैलै।’ उनी थप्छन्।

मेडिकल माइक्रोबायोलोजीमा एमएस्सी गरेका सनम अभिनयका अलावा स्वास्थ्य क्षेत्रका संस्थाहरूमा पनि काम पनि गर्छन्। उनका क्लोज साथीहरू छन्। उनीहरूसँग सुखदुःख सेयर हुन्छ। ‘काम गर्नेले कमाउन सक्ने माहोल बनेको छ अहिले। म्युजिक भिडियोमा होस् या फिल्म या अन्य कुनै फिल्डमा होस् तत्कालै पैसा कमाउन नसकिए पनि कामको रिजल्ट राम्रो आउन थालेपछि पछाडि फर्कनु पर्दैन।’ उनी भन्छन्। आधुनिक गीतमा अभिनय गरेर सन्तुष्ट छन् सनम।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.