कृषि र पशुपालनबाट सफलता
भोजपुर : पौवादुङमा गाउँपालिका तिवारीभञ्ज्याङका दिपक सुवेदी ०७६ मा मलेसियाबाट फर्के। दुई÷चार पैसाको मोहले करिब ४ वर्ष बिदेसिएका उनले न कुनै सोचे जस्तो काम पाए न पारि श्रामिक। अन्ततः निराश बनेर घर फर्किए। विदेशमा बगाएको पसिनाले केही नभएपछि गाउँमै केही गर्ने चाहले ५ वर्षअघि कुखुरा पाल्न थाले। नभन्दै उनको मेहनतले अहिले गाउँमै एक सफल उद्यमी बनेका छन्। कुखुरापालनबाटै उनी मासिक एक लाख ४० हजारसम्म आम्दानी गर्छन्।
गाउँमै व्यावसायिक ‘सुवेदी पोल्ट्री फर्म’ नामको फर्म खोलेर मनग्गे पेसा धानिरहेका दिपकले ब्रोइलर कुखुराबाट सुरुवात गरी अहिले लेयर्स जातका कुखुरा पालेका छन्। ‘पैसा कमाउन के विदेश गइरहन पर्यो र, मलाई यहीँ ठीक रहेछ, विदेशमा व्यर्थै ४ वर्ष खेर फालेँ’, उनले भने, ‘विदेशमा कमाइ हुने पैसाभन्दा घरमै कुखुरा पालेर त्योभन्दा तेब्बर आम्दानी गर्छु।’ फर्ममा २७ सयभन्दा बढीका लेयर्स कुखुरा छन्। यसबाट उनले दैनिक ११ सय दानासम्म अन्डा उत्पादन गर्छन्।
खुकुराको अन्डबाटै जिल्लालाई आत्मनिर्भर बनाउने उनको लक्ष्य छ। फर्ममा उत्पादित अन्डा र कुखुरा जिल्लाभित्र र धनकुटा लेगुवा हुँदै बाहिरसम्म निकासी हुन्छ। करिब ५० लाखको लगानीमा बनाईएको फर्ममा उनले पाँच जना कामदारलाई रोजगार दिएका छन्। परम्परागत खेतीलाई थाती राखेर आधुनिक व्यावसायिक कृषितर्फ भोजपुरका किसानको आकर्षण बढ्दो छ। खेतीले परिवार धान्न गाह्रो भएपछि गाउँमै प्रशस्त आम्दानी गर्न थालेका छन्।
टेम्के मैयुङ गाउँपालिका गोगनेका शम्भुप्रसाद नेपालले पनि गाउँमै व्यावसायिक कृषि कर्म खोलेर राम्रो आम्दानी गरिरहेका छन्। कागती, ड्रागनफ्रुटलगायत खफलफूल र लोकल कुखुरापालनबाटै मासिक २ लाखसम्म आम्दानी गर्छन्। सुविधा र रोजगारको शिलशिलामा ३१ वर्षअघि विराटनगर छिरेका उनले ०७० सालमा गाउँ फर्किएर कृषिमा हात बढाए। धानखेत मासेर कागती लगाउँदा छिमेकीले कुरा पनि काट्ने गर्दथे। तर, अहिले त्यही खेत बगानमा परिणत भएको छ। त्यही कागतीबाट राम्रो आम्दानी आउन थालेपछि छिमेकी देखासिखी गर्न थालेका छन्।
‘केही काम पाईएला, घरजम राम्रै बसौला भनेर सहर छिरे तर सोचेजस्तो केही भएन, केही गर्छ भन्ने हेतुले गाउँ नै फर्किंए’, उनले भने, ‘सुरुमा त छिमेकी पागल भएसम्म पनि भने, तर अहिले यही बगान देखेर मेरो खेतीको देखासिखी गर्न थालेका छन्।’ करिब ४३ रोपनी खेतमा लगाएको ८ सय बढी कागती बोटबाट उनले वार्षिक लाखौंको आम्दानी लिन्छन्। एक हजारभन्दा बढी बिरुवा लगाइएको छ। सिजनका बेला एक हजारभन्दा बढी कागती बेच्ने गरेको उनले सुनाए। कागतीसँगै सोही बगानमा उनले ३ सय ड्रागन फुटको बोट लगाएका छन्। यस्तै घरमा फर्म बनाएर उनले पाँच सय बढी अस्ट्रोलो हेमसायर जातको लोकल कुखुरा पालेका छन्। ती कुखुराबाट दैनिक एक सयको हाराहारीमा अन्डा समेत उत्पादन हुने गरेको छ।
भोजपुर टक्सारका ३४ वर्षीय बमबहादुर श्रेष्ठले पनि साढे ५ रोपनी जग्गामा व्यावसायिक तरकारीबाली, फलफूल लगाएका छन्। साढे ५ वर्षअघि विदेशबाट फर्कि ४० हजारको लगानीमा सुरुवात गरेको तरकारी खेतीबाट उनले वार्षिक लाखौंको आम्दानी गर्न थालेका छन्। ८ रोपनी जग्गामा उनले ताजा गोलभेंडा, काउली, बन्दा, सागसब्जी फलाउँछन्। उनले भने, ‘मकै, कोदोले वर्षमा एकबाली मात्र उब्जनी दिन्छ, तरकारीबाट ४ बालीसम्म फाइदा लिन सकिन्छ’, वैदेशिक रोजगार जाने दक्ष युवा जनशक्तिलाई देशभित्रै व्यावसायिक क्षेत्रमा रोजगारको सिर्जना गराउन सरकारबाटै नीति बन्नुपर्ने उनी बताउँछन्।