'सिप्लोमेसी'बाट नेपालले के सिक्ने ?
चिनियाँ राष्ट्रपति सी चिनफिङको चतुर र होसियार कूटनीति यतिबेला सामाजिक सञ्जालमा ‘सिप्लोमेसी’को ‘ह्यासट्याग’ले लोकप्रिय भइरहेको छ। खासगरी कैयन् आपसी मतभेद हुँदाहुँदै पनि भारतसँगको सम्बन्ध सुदृढ गर्न चीन-भारत अनौपचारिक सम्मेलनको दोस्रो अध्यायमार्फत चिनियाँ राष्ट्रपति सी भारतलाई चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा सहभागी हुन सहमत गराउनेतर्फ अघि बढेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दक्षिण भारतको महाबल्लीपुरम्मा स्वागत गरे, जुन स्थान आफैंमा ऐतिहासिक सिल्क रुटको भाग मानिन्छ। भारतीय विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि जारी गरेको विज्ञप्तिमा दुई नेताले शदीयौं पुरानो वाणिज्य सम्बन्ध र सामुद्रिक सम्पर्कको सान्दर्भिकताका सम्बन्धमा छलफल गरेको उल्लेख गरेको छ।
चीन र भारतबीच मतभेद हुँदाहुँदै पनि आर्थिक सम्बन्ध पनि त्यत्तिकै प्रगाढ छ। यी दुई देशबीच झण्डै ८५ अर्ब अमेरिकी डलरको वार्षिक व्यापार हुन्छ भने निकट भविष्यमै एक सय अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। चीन र भारतबीचको आर्थिक सम्बन्धको सेतुका रूपमा नेपालले आफूलाई उभ्याउन चाहेको हो। यस्तो सम्बन्ध सेतु स्थापना हुने एउटा मात्र आधार भनेको दुवै देशको आर्थिक चासो हो। उत्तर-दक्षिण सघन सम्पर्कका लागि उन्नत पूर्वाधार विकास गरेको खण्डमा दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले सामरिक महत्वका आधारमा एक वा अर्काका पक्ष र विपक्षमा नलागी दुई ठूला अर्थतन्त्रबीचको ‘गतिशील पुल’ बन्न सक्छ। अर्कातर्फ, चीनसँगको पारवहन र यातायात सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न हामीलाई चीनसँग जोड्ने गुणस्तरीय सडक सञ्जाल अत्यावश्यक छ।
उत्तरी छिमेकी चीनका राष्ट्रप्रमुखको भ्रमणसँगै नेपालले दुवै छिमेकी नेतृत्वको मन जितेर समृद्ध बन्ने नेपालीको मृगतृष्णालाई यथार्थ बनाउनेतर्फ अघि बढ्ने पाठ नेपाली नेतृत्वले ‘सिप्लोमेसी’ अर्थात् चिनियाँ राष्ट्रपति सीको डिप्लोमेसी (कूटनीति) बाट सिक्न आवश्यक छ। त्यो राजनीतिक र कूटनीतिक कौशलले अविकास र गरिबीको नेपाली नियति फेरिन सक्छ। रूपान्तरण र बदलावका लागि त्यस किसिमको सोच र कौशल देखाउने समय आएको छ। तर नेपाली राजनीतिक नेतृत्वमा त्यस्तो सोच र कौशलको सधैं खडेरी देखिएको छ।
ससाना स्वार्थका लागि एकातिर ढल्केर अर्कातिर सत्तोसराप गर्ने सोचको मूल्य देशले चुकाउँदै आएको छ। सी नेपाल आउनुअघि सीको विचारधारामा बहस, विमर्श त्यसैको उदाहरण हो। हुन त, विचारधाराले व्यवहार अँगाल्ने हो। तर उनको राजनीतिक विचारधाराभन्दा हाम्रो अगाडि उनको व्यवहार जगजाहेर छ। त्यो व्यवहारले आज चीनलाई विश्वमा प्रभावशाली राष्ट्रका रूपमा दह्रोसँग उभ्याएको छ। सीका विचारधारामा अल्झिनेभन्दा आर्थिक विकासका सी व्यवहारलाई बुझेर आर्थिक विकासको बाटोमा लाग्ने हो भने नेपाल विकास र समृद्धिको मार्गमा अघि बढ्नेछ।
राजनीतिक स्वार्थप्रेरित नभई आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दा त्यसबाट हामीले हाम्रा दुई ठूला छिमेकीको साझा चासोलाई सम्बोधन गर्न सक्छौं।
विचारका हिसाबले चीन कम्युनिस्ट मुलुक भए पनि व्यवहारमा पुँजीवादी मुलुक हो। उदार र प्रजातान्त्रिक अभ्यास अवलम्बन गरेका पश्चिमा देशहरूबाट बजार अर्थतन्त्रलाई अनुसरण गरेर चीनले लगानी, उत्पादन र रोजगार सिर्जना तथा गरिबी निवारणमा बाँकी विश्वलाई चक्मा दिएको छ। पूर्वाधार विकासमा पनि चीनले लोभलाग्दो प्रगति गरेको छ। पश्चिमा देशहरूले भने चीनलाई बौद्धिक सम्पत्तिको अधिकारप्रति चीनको प्रतिबद्धता कमजोर रहेको सवालमा आलोचना गर्ने गरेका छन्। तर चीनले पछिल्लो दशकमा आर्थिक विकासमा आशातीत उपलब्धि हासिल गरेको छ।
सीको उदयअघि बाहिरी दुनियाँमा चीनको चासो कम देखिन्थ्यो। ऊ आफ्नै प्रगतिमा केन्द्रित थियो। शक्ति राष्ट्रका रूपमा उदय हुँदै गएपछि चीनका बाह्य चासो र प्रभाव बढ्दै गएका छन्। त्यसैको फलस्वरूप चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्भव भएको हो। यद्यपि नेपालमा सीको भ्रमण चीनका अन्य छिमेकी देशको तुलनामा धेरै ढिलो गरी भएको छ। चीनका सीमावर्ती १४ देशमध्ये नेपालभन्दा अघि राष्ट्रपति सीले ११ देशको भ्रमण गरिसकेका छन्। दक्षिण एसियामै पनि चीनको सहयोगका दृष्टिले नेपाल अन्य मुलुकभन्दा पछि छ। भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना भएकै छैन भने अन्य मुलुकले नेपालको भन्दा धेरै चिनियाँ सहयोग प्राप्त गरेका छन्। निकटको छिमेकी भएर पनि नेपालले चीनको आर्थिक विकासबाट लाभ लिन सकिरहेको थिएन।
विशेष आर्थिक क्षेत्र विकासका सवालमा हामीले चीनबाट सिक्नुपर्छ। नेपालमा औद्योगिक पतनका कारण आज हामी आयातमा निर्भर अर्थतन्त्रका रूपमा दर्ज भएका छौं। देशमा औद्योगिक उत्पादनको आधार मात्र कमजोर भएको होइन, कृषि उत्पादनको जगसमेत विस्तारै भत्किरहेको छ। हामीले प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका भनेका कृषि वस्तुको समेत आयात तीव्र रूपमा बढिरहेको छ। आयात प्रतिस्थापन र उत्पादन विकासमा ‘सेकेन्ड बेस्ट अप्सन’ का रूपमा हामीले विशेष आर्थिक क्षेत्र निर्माण र सञ्चालन गर्नुपर्ने हो। तर निर्माण भएका विशेष आर्थिक क्षेत्रको सञ्चालनमा समेत हामीले ठूलै चुनौती सामना गरिराख्नु परेको यथार्थ छ।
विशेष आर्थिक क्षेत्र निर्माणका सवालमा चिनियाँ अनुभव हाम्रा लागि फलदायी हुन सक्छ। चीनसँगको सहयोगमा निर्माण हुने विशेष आर्थिक क्षेत्रमा चिनियाँ लगानीमा औद्योगीकरण गर्ने र यसका अतिरिक्त विशेष आर्थिक क्षेत्र निर्माण र सञ्चालनमा चीनसहित अन्य मुलुकका लगानीकर्तालाई आकर्षण गर्नुपर्छ। यो सवालमा नेपालले सी व्यवहारबाट सिक्न जरुरी छ। राष्ट्रपति सी आफैं प्रमुख बढी निकासी गर्ने उद्योगहरूको समय-समयमा भ्रमण गर्छन्। तिनको समस्या समाधान गर्ने र तिनलाई प्रतिस्पर्धी बनाउन उनी हरहमेसा प्रयत्नरत छन्। उनको यो व्यवहारबाट हामीले सिक्न जरुरी छ। हाम्रो अर्थतन्त्रको संरचनात्मक समस्या समाधानका लागि हामीले लगानीसम्बन्धी व्यवस्थामा ठूलो सुधार गर्नुपर्नेछ। प्रणालीगतजस्तो बनिसकेको भ्रष्टाचारको समस्या र ढिलासुस्तीलाई अन्त्य नगरेसम्म आर्थिक समृद्धि र विकासको हाम्रो चाहना मृगतृष्णामा सीमित रहन्छ।
औद्योगिक उत्पादनको बलियो जगले मात्र नेपाली अर्थतन्त्रको दिगो र फराकिलो विस्तार तथा उत्थानशीलता सम्भव छ। पूर्वाधार र औद्योगीकरणमा नेपालले खोजेको चिनियाँ सहयोग सकारात्मक छ। यसको अर्थपूर्ण र प्रभावकारी उपयोग तथा लगानीको व्यवस्था सुधारमार्फत बाह्य लगानी भित्याउन हामीले ढिलाइ गर्न हुन्न।
चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ चासो बढेको स्पष्ट छ। चीन र नेपालका साझा चासोको पहिचान गरी त्यसमा एकले अर्कालाई सघाउने प्रतिबद्धतासँगै चीनको आर्थिक विकासको लाभ लिनेतर्फ केन्द्रित हुनुपर्छ।
केही समयअघि भेरी-बबई डाइभर्सनको सुरुङ छिचोल्ने क्रममा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी डब्लू बेरी र चिनियाँ राजदूत होउ यान्छी एउटै मञ्चमा देखिएका थिए। त्यसलगत्तै बेरीले सामाजिक सञ्जालमा चिनियाँ निर्माण कम्पनी र अमेरिकी प्रविधिबाट विकासको लाभ नेपालले लिएको उल्लेख गरेका थिए। यो निकै अर्थपूर्ण छ। कूटनीतिमा आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अन्य मुलुकसँग सम्बन्ध विकास गर्ने हो। आपसी सम्बन्ध विकास गर्दा दुई देशको साझा स्वार्थ तेस्रो मुलुकको हितसँग नबाझिने होस् भन्नेमा हामी सजग हुनुपर्छ।
सिप्लोमेसीबाट चिनियाँ राष्ट्रपति सीले नेपालीको मन जित्न सफल भएका छन्। आफ्नो वक्तव्यमा उनले समावेश गरेको ‘नेपाल र चीनबीच कुनै समस्या छैन, मित्रता मात्र छ।’ वाक्य अर्थपूर्ण छ। सिप्लोमेसीको यो सार केलाउने हो भने नेपालले छिमेकी र शक्ति राष्ट्रहरूसँग मित्रता मात्र कायम गर्नेतर्फ सोच्नुपर्छ। एउटासँग गठजोड र अर्कोसँग समस्या र मतभेद निम्त्याउने गरी अघि बढ्यौं भने ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। राजनीतिक स्वार्थप्रेरित नभई आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दा त्यसबाट हामीले हाम्रा दुई ठूला छिमेकीको साझा चासोलाई सम्बोधन गर्न सक्छौं। वास्तवमा, सिप्लोमेसीबाट नेपालले सिक्नुपर्ने विषय पनि यही हो।