स्वास्थ्य बिमामा सास्ती
धरान : स्वास्थ्य बिमा गराएका व्यक्तिले बिरामी हुँदा उपचारभन्दा बढी सास्ती पाएको गुनासो गरेका छन्। देशभरि अभिकर्तामार्फत १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गरेका सर्वसाधारण सम्झौताअनुसार औषधि उपचार नपाउँदा निरास बनेका छन्।
सरकारले प्रति परिवार ३ हजार ५ सय शुल्क लिएर स्वास्थ्य बिमा गरी १ लाखसम्मको औषधि उपचार निःशुल्क दिने व्यवस्था मिलाएको छ। तर बिमा सम्झौताअनुसार सर्वसाधारणले सरकारी र निजी स्वास्थ्य संस्थाबाट सहज उपचार पाउन सकेका छैनन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र दैनिक ५ सयदेखि ६ सयको संख्यामा स्वास्थ्य बिमा गरेका व्यक्ति उपचारका लागि आउने गरेका छन्।
प्रतिष्ठानले बिमा गरेका व्यक्तिको सहज उपचार व्यवस्था मिलाउन सकेको छैन। स्वास्थ्य बिमा गरेका बिरामीलाई १ लाखसम्मको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्नुपर्ने सम्झौता छ। चिकित्सकले तर प्रतिष्ठानमा भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षण मात्र गर्ने गरेका छन्। चिकित्सकको सल्लाहअनुसार रगत परीक्षण, एक्सरे, शल्यक्रिया र औषधि निःशुल्क नपाउँदा सरकारले सम्झौता अनुसारको स्वास्थ्य सेवा दिन नसकेको धरान उपमहानगरपालिका–६ का केदार बस्नेतले बताए। उनले सम्झौताअनुसार औषधि उपचार नपाएपछि सरकारबाटै ठगिएको गुनासो गरे।
सुनसरीकै इटहरी उपमहानगरपालिका–२० की ७९ वर्षीया यशोधा पराजुलीले पनि सरकारले स्वास्थ्य बिमाको सम्झौताअनुसार सुविधा नदिएर वृद्धवृद्धालाई समेत दुःख दिएको बताइन्। उनले स्वास्थ्य बिमा गरेकालाई छुट्टै उपचारको व्यवस्था मिलाउन माग गरेकी छन्। प्रतिष्ठानमा एउटा मात्र टिकट काउन्टर भएकाले बिरामीलाई पुर्जी काट्नसमेत समस्या भएको सप्तरीको फत्तेपुर नगरपालिकाकी प्रमिला विष्टले गुनासो गरिन्। उनले प्रतिष्ठानमा भिडियो एक्सरे र सिटी स्क्यान, एमआरआईलगायत सेवा लिन चिकित्सकहरूले महिना दिनसम्म पर्खाउने गरेको बताइन्।
प्रतिष्ठानमा प्रदेश १ का सुनसरी, मोरङ, झापा, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, इलामबाट उपचारका लागि बिरामी आउने गरेका छन्। त्यस्तै प्रदेश २ को सप्तरी, सिराहा, महोत्तरी र धनुषाबाट पनि उत्तिकै संख्यामा स्वास्थ्य बिमा गरेका बिरामी उपचारका लागि आउने गरेका छन्। तर बिमा गराएकाहरू अन्य बिरामीसरह नै लाइन बस्दा पनि सहज उपचार पाउन सकेका छैनन्।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका ४२ वर्षीय राम विष्टले सरकारले बिमा सम्झौताअनुसारको औषधि उपचार नगरेको गुनासो गरे। उनले बिमा गरेका बिरामीलाई प्रतिष्ठानले निःशुल्क औषधि दिनु पर्ने भए पनि उपलब्ध नगराउने गरेको बताए।
प्रतिष्ठानमा सीटी स्क्यान मेसिन बिग्रिएको र क्याथ ल्याब बन्द भएकाले बिरामीलाई झन् समस्या भएको छ। प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले सरकारले बिमामार्फत निःशुल्क स्वास्थ्य सेवाको सुरुवात गरेको भए पनि जनशक्तिको प्रबन्ध नमिलाएकाले सर्वसाधारणलाई सहज उपचार गर्न नसकिएको बताए। उनले प्रतिष्ठानले फार्मेसी सञ्चालन गर्न ढिलो भएकाले बिमित बिरामीलाई औषधि उपलब्ध गराउन नसकिएको बताए।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. गुरु खनालले प्रतिष्ठानबाट दिने स्वास्थ्य सेवामा केही कमजोरी भएको स्विकार्दै सुधार गरि सहज बनाइने बताएका छन्।