सिन्धुलीमा नाइट हेलिप्याड
सिन्धुली : सिन्धुलीमा नाइट हेलिप्याड निर्माण सम्पन्न गरिएको छ ।सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको नेपाली सेनाको श्री नम्बर ९ बाहिनी अड्डामा त्रिभुवन विमानस्थलपछिको पहिलो र एक मात्र नाइट हेलिप्याड निर्माण गरिएको हो।
कमलामाई नगरपालिका सिन्धुली र नेपाली सेनाको संयुक्त लागतमा निर्माण गरिएको नाइट हेलिप्याडको बुधबार एक कार्यक्रमका बीच नेपाली सेनाको हेटौंडास्थित पृतनका पृतनापति उपरथी ताराध्वज पाण्डेले उद्धघाटन गरे।
सेनाको सिन्धुलीमा रहेको श्री बर्दबहादुर गणले कमलामाई नगरपालिकाको ६ लाख ५० हजार रुपैयाँ सहयोग र सेनाको श्रमदान गरी कुल २२ लाख रुपैयाँमा हेली प्याड निर्माण सम्पन्न गरेको बर्दबहादुर गणका गणपति राजीव थापाले जानकारी दिए ।
उनले भने, 'जिल्लामा एउटा पनि हेलिप्याड नभएको अवस्थामा नेपाली सेनाको प्रयासमा चौबिसै घण्टा सञ्चालमा रहने गरी रात्रीकाली समयमा अवतरण र उडान गर्न सकिने मध्य आकारको मिलिटरी स्ट्याण्डरको हेलिप्याड निर्माण गरिएको छ।'
सिन्धुली जिल्ला र आसपासका जिल्लामा आपद विपदको समयमा उद्धार तथा मौसम प्रतिकुलताको समयमा सैनिक तथा गैर सैनिकले पनि अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको हेली प्याड ३ नम्बर प्रदेशकै पहिलो र एक मात्र भएको सेनाको दावी छ ।
निकट भविष्यमा सम्बन्धित निकायलाई पत्रचार गरी परीक्षण उडान गरिने हेलिप्याड सिन्धुली जिल्लामा बढ्दो सडक संजाल सँगै हुने सडक दुर्घटनाका घाइतेको उद्धारमा निक्कै प्रभावकारी हुने अनुमान समेत गरिएको छ।
जिल्लामा वीपी राजमार्ग,मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमाग तथा जिल्ला सदरमुकाम माढीबाट ३७ किलोमिटर दुरीमा पूर्वपश्चिम महेन्द्र राजमार्गसमेत जोडीएकाले यस्ता क्षेत्रमा दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेको समयमा उद्धार हुन नसक्दा मृत्यु हुने गरेको थियो।
'तर, अब त्यस्ता दुर्घटना तथा अन्य विपद्का समयमा समेत हुने आपत्तकालिन उद्धार रात्रीकालिन समयमा समेत गर्न सकिने गरी नाइट हेलिप्याड स्थापना गरिएको छ । यो जिल्लाबासीका लागि निक्कै महत्वूर्ण र खुसीको कुरा हो, 'कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भने ।