नेपालमै ‘इनर्जी ड्रिङ्क्स’ उत्पादन
विराटनगर : नेपालमा पेय पदार्थको लोकप्रियता बढ्दै छ। त्यसमा पनि इनर्जी ड्रिङसको माग अत्यधिक भएपछि उत्पादक कम्पनीले नेपाललाई उर्वर भूमिका रूपमा लिन थालेका छन्। यसै क्रममा नेपालमै पहिलो पटक काबरा जी समूहले ‘वान टू थ्री वाउ’ नामको इनर्जी ड्रिङस बजारमा ल्याएको छ।
विराटनगरका उद्योगी घनश्याम काबराको काबरा जी समूहले यसै साताबाट ‘यो इनर्जी ड्रिङसको उत्पादन सुरु गरेको हो। यसअघि यो ग्रुपले भियतनामबाट ‘रेड अक्स’ नामक इनर्जी ड्रिङस नेपाली बजारमा ल्याएर बिक्री गर्दै आएको थियो । नेपाल इनर्जी ड्रिङसको माग अत्यधिक रहेको र सरकारले तेस्रो मुलुकबाट आयात हुने इनर्जी ड्रिङसमा प्रतिबन्ध लगाएकाले पहिलोपटक उद्योग नै स्थापना गरी उत्पादन सुरु गरेको ग्रुपका मार्केटिङ म्यानेजर भरत पौडेलले बताए। ‘नेपाल सरकारले करिब चार महिनादेखि बाहिरबाट इनर्जी ड्रिङस ल्याउन प्रतिबन्ध लगाएको छ। नेपालमा अत्यधिक माग रहेकाले उत्पादन गरी बजारमा ल्याएका हौँ’, उनले भने।
हाल उत्पादन भएको इनर्जी ड्रिङस भखरै मात्र बजारमा ल्याउन सुरु गरिएको र भविष्यमा भारत निर्यात गर्ने योजना रहेको पौडेलले बताए। म्यानेजर पौडेलका अनुसार केही दिन अघिबाट उत्पादन सुरु भएको यस पेयपदार्थलाई पहिलो चरणमा झापाको बिर्तामोड र सुनसरीको दुहबी बजारमा बिक्रीका लागि पुर्याइएको छ। ‘पहिलो चरणमा दुई उत्पादन बजारमा पुर्याएका छौं, हामी फ्रुटी र लिची ड्रिङसजस्ता उत्पादन पनि सँगै गर्ने छौं, कात्तिक मसान्तसम्म कम्पनीले पूर्ण रूपमा उत्पादन गर्नेछ’, उनले भने। त्यसपछि अन्य बजारमा पुर्याइने उनको भनाइ छ।
मोरङको कटहरीमा प्लान्ट स्थापना गरी हाल बजारमा आयातित रेडबुल स्वादमा उत्पादन थालिएको वाउ इनर्जी ड्रिङस २ सय ५० एमएलको छ। दुइ वर्षको उपभोग्य मिति राखिएको वाउको प्रारम्भिक मूल्य १ सय १० रुपैयाँ कम्पनीले तोकेको छ। नेपालमा पहिलोपटक उत्पादन सुरु गरिएको वाउ स्वास्थ्यवद्र्धक, गुणस्तरीय र स्वच्छ रहेको उद्योगको दाबी छ। नेपाली बजारमा यसअघि थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, चीनलगायत देशबाट इनर्जी ड्रिङस आयात हुने गरेको थियो। तथापि सरकारले केही महिना तेस्रो मुलुकबाट आयात हुने इनर्जी ड्रिङसमा प्रतिबन्ध लगाएको छ।
काबरा समूहले बुलेट, वान टू थ्री, चाउचाउ, नुडल्स पनि उत्पादन गर्दै आएको छ। आफ्ना हरेक उत्पादन नेपाली उपभोक्ताको स्वाद र चाहना अनुरूप भएकै कारण उपभोक्तामाझ चाँडै लोकप्रिय बन्दै आएको र यो इनर्जी ड्रिङस समेतले राम्रो बजार ओगट्ने कम्पनीको अनुमान छ । क्लालिटीले यसअघि बुलेट नामक तयारी चाउचाउ बजारमा ल्याएको थियो । उक्त चाउचाउ छोटो समयमै उपभोक्तामाझ लोकप्रिय बनेको सञ्चालक घनश्याम काबराले बताए । औद्योगिक क्षेत्रमा चार दशकको अनुभव संगालेको काबरा ग्रुपले तयारी चाउचाउ, स्न्याक्स, खाने तेल, पास्तासँगै साबुनको उत्पादन गर्दै आएको छ।