बेवारिसे बिरामीले अस्पतालमा सास्ती
धरान : निको भएर डिस्चार्ज दिएका बिरामी घर नजाँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आउने बिरामी समस्यामा पर्ने गरेका छन्। प्रहरीले सडकमा भेटेका बेवारिसे बिरामीलाई उपचारका लागि भर्ना गर्ने गरे पनि उनीहरू निको भएर घर नफर्कंदा अन्य बिरामीको उपचारमा गम्भीर समस्या उत्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत रहेका प्रहरी कार्यालयले सडकमा भेटिएका बेवारिसे बिरामीलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गर्ने गरेको छ। उपचारपश्चात् निको भए पनि प्रहरीले उनीहरूलाई घर नफर्काउँदा प्रतिष्ठानमा उपचारका लागि आउने अन्य बिरामीको उपचारमा समस्या आएको छ।
प्रहरीले दैनिकजसो बेवारिसे बिरामी भर्ना गर्ने गरे पनि उनीहरूको उपचारमा सहयोग नगर्दा चिकित्सक र नर्सलाई समेत समस्या परेको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. पशुपति चौधरीले गुनासो गरे। उनले बेवारिसे बिरामीलाई प्रहरीले भर्ना गर्ने गरे पनि कुरुवा नबस्दा चिकित्सक र नर्स नै अन्य बिरामीको उपचार गर्न छाडेर बेवारिसे बिरामीको कुरुवा बस्न बाध्य हुनुपरेको बताए।
बेवारिसे बिरामीलाई प्रतिष्ठानमा भर्ना गरेपछि प्रहरी फर्केर नआउने गरेको डा. चौधरीले बताए। कतिपय बेवारिसे बिरामीको उपचारका क्रममा निधन हुँदासमेत शव उठाउने आफन्त नआउँदा महिनौंसम्म मर्जरीमा राख्नुपरेको प्रतिष्ठानका सहायक निर्देशक विकास शाहले बताए। बेवारिसे बिरामीको उपचार प्रतिष्ठानले निःशुल्क गर्ने गरे पनि उनीहरूको व्यवस्थापनमा प्रहरी र स्थानीय सरकारले सहयोग नगर्दा समस्या उत्पन्न भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले बताए। उनले प्रहरीले मासिक रूपमा १० देखि २० जनासम्म बेवारिसे बिरामीलाई प्रहरीले प्रतिष्ठानमा भर्ना गर्ने गरेको जानकारी दिए। सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बेवारिसे बिरामीलाई डिस्चार्ज गरी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन प्रतिष्ठानका चिकित्सकसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।