सामान्य घर यसरी बन्छ ‘स्मार्ट होम’
बढ्दो शहरीकरणले जति सेवासुविधा उपलब्ध गराएको छ, जोखिम पनि उत्तिकै निम्त्याएको छ। घर, अफिसलगायत स्थानमा हुन सक्ने असुरक्षा र जोखिमलाई कम गर्न पछिल्लो समयमा विकास भएको ‘होम अटोमेसन’ फलदायी देखिन थालेको छ। घरमा भएका विभिन्न उपकरण र सरसामानलाई प्रविधिको सहायताले नियन्त्रण तथा सञ्चालन गर्नुलाई होम अटोमेसनको नाम दिइएको छ।
होम अटोमेसनको सहायताले आफू घरमा नहुँदा पनि घर र घर वरिपरिको निगरानी गर्न सकिन्छ। आफू टाढा हुँदा पनि घरमा भएका फ्रिज, टेलिभिजनजस्ता उपकरणको सञ्चालन, तापक्रम नियन्त्रण प्रविधिको मद्दतले गर्न सकिन्छ। घरको झ्याल–ढोका खोल्ने, बन्द गर्ने काम पनि होम अटोमेसनबाट गर्न सकिन्छ। आफू घरभित्रै हुँदा घरको मूल गेट खोल्न सकिन्छ भने झ्याल वा ढोका लगाउन बिर्सिएर कतै बाहिर निस्किए पनि त्यसलाई बन्द गर्न सकिन्छ।
नेपालमा स्मार्ट होमको सुविधा प्रदान गरिरहेको ‘होम अटोमेसन नेपाल’का अनुसार पछिल्लो समय काठमाडौँका रेसिडेन्सल र अपार्टमेन्टमा अटोमेसनको प्रयोग बढ्दो छ। कम्पनीका अनुसार मुख्य गरी फायर अलार्म, भिडियो डोर फोन, डिजिटल डोरलगायत प्रविधिको प्रयोग काठमाडौँमा बढी भइरहेको छ। कम्पनीका बिजनेस डेभलपमेन्ट हेड प्रशान्तराज मोक्तानका अनुसार स्मार्ट पावर सकेट, स्मार्ट क्यामेरा, युनिभर्सल रिमोट तथा मोटरबाट आफैँ खुल्ने÷बन्द हुने पर्दाको पनि प्रयोग बढी भइरहको छ। ‘घरभन्दा पनि कमर्सियल तथा अपार्टमेन्टमा यसको प्रयोग बढी भइरहेको छ,’ उनी भन्छन्, ‘घरलाई अटोमेसन गरेपछि सुरक्षित मात्र होइन, समय पनि बचत हुने गर्छ। घरको बत्ती बाल्न वा निभाउन स्विच भएकै ठाउँमा पुग्नुपर्दैन। ढोका खोल्न गेटमै पुग्नुपर्दैन। एक क्लिकमा सबै काम हुन्छ। सुरक्षासँगै समयको बचत पनि हुन्छ।’
अटोमेसन प्रणालीले घर पूर्ण स्वचालित तथा प्रविधिको नियन्त्रणमा हुने उनी बताउँछन्। भन्छन्, ‘घरभित्र वा बाहिर एकैठाउँमा बसेर घरको धारादेखि तापक्रमसम्मलाई नियन्त्रण गर्न अटोमेसनले सघाउँछ। विद्युत खेर जानबाट पनि जोगाउँछ।’
अटोमेसनका लागि आवश्यक हुने उपकरण नेपालमा नबन्ने मोक्तान बताउँछन्। ‘प्रायः सबै उपकरण जापान, अमेरिका, भारत र चीनबाट निर्यात गरिन्छ,’ उनी भन्छन्, ‘घर कस्तो अवस्थामा छ, कस्ता उपकरण जोड्ने, के–के जोडने भन्ने कुराले लागतमा फरक पार्छ।’ अहिले बजारमा एक लाखदेखि चार लाखसम्म रुपैयाँका होम अटोमेसनका प्याकेज पाइने उनी बताउँछन्।