११९ स्थानीय तहमा ‘शान्ति पार्क’ निर्माण गर्दै प्रदेश सरकार
हेटौंडा : एक दशक अघिसम्म स्थानीयले गाई-बाख्रा चराउने खुला डाँडा हरियाली मात्र भएको छैन। हेटौँडा नजिकै नयाँ पर्यटकीय गन्तव्य पनि थपिएको छ। हेटौंडाबाट करिब ६ किमि पूर्वमा रहेको मकवानपुरगढी ४ कालिखोलमा रहेको खुला डाँडा रुद्र स्मृति बाटिकामा परिणत भएपछि पर्यटकीय गन्तव्य बनेको हो।
‘आखिर सबै मिलेर काम गर्ने हो भने खुला डाँडा पनि पर्यटकीय स्थलको रूपमा विकास हुनसक्ने रहेछ’, रुद्र बाटिका प्रतिष्ठानकी अध्यक्ष मानकुमारी नेपालीले भनिन्, ‘हेटौँडा नजिककैको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले हामी काम गरिरहेका छौँ।’
करिब ५ बिगाह क्षेत्रफलमा फैलिएको बाटिकामा तारबारसहित बगैँचा, बस्ने कुर्सीहरू, ट्रस, सभाहल, पर्खाल, निर्माण गरिएको छ। प्रतिष्ठानले करिब ७ करोड रुपैयाँ लागतमा निर्माण हुने विभिन्न संरचनाको डीपीआर तयार पारेको छ। यहाँ वनभोज खाने ठाउँ, स्वीमिङपुल, बाल उद्यान, तामाङ संग्राहलय र सहिद स्तम्भ निर्माण गर्ने योजना रहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए।
‘गाउँपालिकाभित्रको प्रमुख ३ पर्यटकीय गन्तव्यमध्ये हेटौँडाबाट सबैभन्दा नजिकको गन्तव्यको रूपमा विकास गर्न हामी लागि परेका छौँ’, उनले भने, ‘यो बाटो हिँड्नेहरू एकपटक छिरेर मात्र जाने ठाउँ बनेको छ, विस्तारै ब्यस्त पर्यटकीय गन्तव्य बन्नेमा हामी आशावादी छौँ।’
तारबार गरेर छाडिएको उक्त संरचनालाई ३ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा व्यवस्थित गरिएको हो। मन्त्रालयले गत आर्थिक वर्षमा उपलब्ध गराएको १ करोड रुपैयाँ सहयोगले तारबार, पर्खाल, सभाहल, कार्यालय भवन र ट्रस निर्माण गरिएको प्रतिष्ठानकी अध्यक्ष नेपालीले बताइन्।
मन्त्रालयले रुद्र बाटिका जस्तै ३ नम्बर प्रदेशका १ सय १९ वटै स्थानीय तहमा २०७९ सालसम्म शान्ति बाटिका, शान्ति पार्क र संग्राहलयहरू निर्माण गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा ११९ वटै स्थानीय तहमा शान्ति पार्क, बाटिका र संग्राहलय निर्माणको लागि प्रस्ताव माग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताए। त्यसको लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए। ‘सबै स्थानीय तहलाई प्रस्ताव पठाउन आह्वान गरिएको छ, यसको कार्यविधि पनि भर्खरै निर्माण सकिएको छ’, मन्त्री जम्कट्टेलले भने, ‘अब स्थानीय तहहरूसँगको सहकार्यमा निर्माणको काम सुरु हुन्छ।’ गत वर्षबाट मन्त्रालयले यो अभियान थालेको हो। गत आर्थिक वर्षमा मन्त्रालयले प्रदेशका बिभिन्न स्थानमा शान्ति पार्क निर्माणको लागि २ करोड विनियोजन गरेको थियो।
मन्त्रालयले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा मारिएकाहरूको सम्झनामा पार्कहरू निर्माण गर्न लागेको हो। ‘पछिल्लो पुस्ताहरूलाई देशमा कस्तो परिवर्तन भएको थियो, त्यहाँ क–कस्ले योगदान दिए भन्ने थाहा हुँदैन, त्यसैले इतिहास सम्झाउनको लागि पनि पार्कहरू निर्माण थालेका हौँ’, मन्त्री जम्कट्टेलले भने, ‘यो भावनासँग पनि जोडिएको कुरा भएकाले पार्क निर्माणसँगै पार्ककै आम्दानीबाट नियमित सञ्चालन हुने बातावरण निर्माणको लागि अहिले उपयुक्त स्थान छनौटको काम भइरहेको छ।’