भन्सार छली र विद्युत् चुहावट गर्ने ४५ पक्राउ
कलैया : जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली र विद्युत चोरी गर्ने ४५ जनालाई नियन्त्रणमा लिई कारवाही थालेको छ। कार्यालयले भन्सार छली गर्ने दुई र विद्युत् चुहावट गर्ने ४३ जनालाई पक्राउ गरेको थियो।
प्रहरी कार्यालयका अनुसार भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको चिनीसहित कलैया उपमहानगरपालिका २५ का दिनेश पाण्डे र रमेश तिवारी पक्राउ परेका हुन्। भारतबाट ल्याएको चिनी नेपाली बजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।
पक्राउ परेकामध्ये पाण्डेको श्रीमती इन्दुकुमारीको नाममा दर्ता रहेको जय हनुमान ट्रेडर्समार्फत भारतीय चिनीलाई नेपाली बनाएर बिक्री गर्न लागिएको प्रहरीको भनाइ छ। मनहर्वास्थित रिलायन्स सुगर मिलबाट ट्रेडर्सको नाममा खरिद गरिएको चिनी गोदाममा भण्डारण गरी सोही बोरामा भारतबाट ल्याएको चिनी बजार पठाउन लागेको सूचना पाएपछि गोदामबाटै नियन्त्रणमा लिइएको प्रवक्ता राठौरले बताए।
प्रहरीका अनुसार गोदामबाट एक लाख ५० हजार मूल्य बराबरको ३८ बोरा चिनी र बोरा सिउने मेसिन बरामद गरिएको छ। पक्राउ परेका पाण्डे र तिवारीलाई राजश्व ऐनअनुसार कारवाहीका लागि बरामद गरिएको चिनीसहित पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रवक्ता राठौरले जानकारी दिए।
यसैगरी प्रहरीले बाराको करैयामाई गाउँपालिकाको विभिन्न स्थानबाट विद्युत चोरी गरी प्रयोग गर्ने ४३ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले करैयामाई गाउँपालिकाको हरैया, मधुवन, तेतरिया, सिसुवा, बोधवनलगायतका गाउँबाट विद्युत् चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता राठौरले जानकारी दिए।