प्रदेश २: लोकसेवा आयोगका दुई सदस्यले लिए सपथ
जनकपुरधाम : प्रदेश २ को लोकसेवा आयोगको सदस्यमा सिफारिस दुईजना सदस्यको सपथ ग्रहण गराइएको छ । लोकसेवा आयोगको अध्यक्ष नियुक्ति सुरेन्द्र यादवको नियुक्ति भएको झण्डै दुई महिना पछि थप दुई सदस्यको सपथग्रहण गराइएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सिफारिसमा महोत्तरीको एकडारा गाउँपालिका निवासी महारुद्र झा र नेकपाको सिफारिसमा सप्तरी सदरमुकाम राजविराजका डा. सुजाता देवलाई नियुक्ति गरिएको छ।
सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले दुईजना सदस्यलाई सपथ ग्रहण गराए लगत्तै लोकसेवा आयोगले पूर्णता पाएको हो । यसअघि आयोगको अध्यक्षमा समाजवादी पार्टीका सुरेन्द्र यादवलाई भदौ ५ गते नियुक्त गरिएको थियो ।
सपथग्रहण समारोहमा प्रदेश २ का मख्यमन्त्री मो. लालबाबु राउत गद्दी, सभामुख सरोज कुमार यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, समाजिक विकासमन्त्री नवलकिशोर साह (लालबाबु), उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितका व्यक्तिहरु सहभागी थिए ।
लोकसेवा आयोग संवैधानिक निकाय भएपनि संसदीय समितिबाट संसदीय सुनुवाई बिनै नियुक्ति गरिएकोमा अवैद्यानिक मानिने संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको कथन छ।