आर्मी सेमिफाइनलमा
चितवन : मिडफिल्डर सन्तोष तामाङको निर्णायक गोलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नारायगढको क्याम्पाचौरमा जारी खेलमा आर्मीले साबिक विजेता सशस्त्र प्रहरी बलको एपीएफलाई १-० अन्तरले पराजित गरेको हो ।
दोस्रो हाफको दोस्रो मिनेटमा सन्तोषले गरेको गोल नै निर्णायक बन्यो । विकास रनिङ सिल्डको १३औं संस्करण विजेता एपीएफ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।
आर्मीका लागि सन्तोषले फ्रिकिकमार्फत गोल गरेका थिए । विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि पाएको फ्रिकिकको अवसरलाई उनले सदुपयोग गरेका थिए । उत्कृष्ट खेल प्रदर्शन गरेका आर्मीका विमल पाण्डेले म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । सेमिफाइनलमा आर्मीले घरेलु टोली चितवन- ११ सँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार जावलाखेल युथ क्लब र संकटा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले बताए ।
नारायणगढ जेसिजको आयोजना र चितवन जिल्ला फुटबल संघ सह-आयोजनामा जारी प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।