चालक नै इन्जिनियर !
विराटनगर : ताप्लेजुङ फुङ्लिङ नगरपालिका–८ की जसमाया बोखिम (लिम्बू) विस्थापित भएको तीन वर्ष भयो। घर माथिबाट झरेको पहिरोले घर सँगैको मतान बगाएपछि घरमा बस्न सक्ने अवस्था भएन। अहिले उनी माइली छोरीको शरणमा छिन्। घर माथिबाट एस्काभेटर प्रयोग गर्दै सडक खनेको केही दिनमै पहिरो झरेपछि उनीसहित गाउँका दर्जन परिवारले एकै समय गाउँ छाड्नुपर्यो।
‘घर माथिबाट सडक नलैजाऊँ, घरमुनिकै सडकले भएकै छ। गोरेटो बाटोलाई सडक बनाउन डोजर ल्याए, पहिरो गयो, घर–खेत छाडेर विस्थापित हुनुपर्यो’, जसमाया भन्छिन्। प्राविधिकको सल्लाहबिना डोजर चालकको भरमा खनेको सडकबाट झरेको पहिरोले सडकमाथिको गाउँसमेत जोखिममा छन्। अहिले पनि वर्षात्को समयमा पहिरो रोकिँदैन। ‘पल्लो गाउँका मान्छेले जबर्जस्ती गर्दा र सडक बने जग्गाको भाउ बढ्ने लोभमा गाउँको ख्यालै गरेनन्, हामीले रोक्न प्रयास गर्दासमेत डोजर लगाएरै छाडे, हामी विस्थापित भयौं’, विस्थापितमध्ये एक गंगादेवी अधिकारी (भट्टराई) बताउँछिन्।
हिमाली जिल्ला भएकाले भिरालो भूभागमा सडक खन्न समस्या हुन्छ। त्यसमाथि बिनाप्राविधिक ठेकेदार, स्थानीय र डोजर चालकले हेरेको भरमा सडक खन्दा ताप्लेजुङका अधिकांश स्थानीय तहका बस्ती पहिरोको जोखिममा छन्।ताप्लेजुङ फुङ्लिङ नगरपालिका–८ मा सडक खनेपछि गाउँ माथिबाट झरेको पहिरो। तस्बिर : रविन भट्टराई
‘स्थानीय जनप्रतिनिधिलाई पनि विकास भनेको बाटोजस्तो मात्रै लागेको छ, इन्जिनियर नै डोजर चालक हुन्, उनीहरूले जता खने पनि हुने भएको छ’, फुङ्लिङ नगरपालिका–८ का स्थानीय हर्क लिम्बू भन्छन्, ‘यहाँ डोजर चालक नै इन्जिनियर हुन्, सडक खनेर इन्जिनियरलाई पैसा खुवाए पास हुन्छ।’
गत असारमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर मुनिबाट खनिएको सडकबाट सुरु भएको पहिरोले लावतीको घर भत्काएको हो। मिक्लाजुङका विभिन्न स्थानमा सडक आसपासबाटै पहिरो जान सुरु भएको छ। गाउँले धमाधम विस्थापित भइरहेका छन्।
स्थानीयको चाहनाविपरीत र अवैज्ञानिक रूपमा डोजर चालक र ठेकेदारका भरमा खनिएका दर्जन बढी सडकले पाँचथरमा पहिरोको रूप लिए। ‘ठेकेदार र जनप्रतिनिधिको मिलेमतो हँुदो रहेछ, स्थानीयले पनि रोक्दा भएन, सडक लाने÷नलाने पक्षमा विवादकै बीच प्राविधिक अध्यायनबिना डोजर चलाए अहिले पहिरोले गाउँ सक्यो’, फालेलुङ ३ ताङ्लेपाको स्कुल टोलका ६२ वर्षीय विष्णुभक्त लावतीले भने। ०७४ साउन २६ गते रातिदेखि चार दिनसम्म निरन्तर परेको वर्षापछि घरछेउकै सडकबाट सुरु भएको पहिरोले घर भत्काएपछि उनी विस्थापित छन्।
भोजपुर उत्तरी साल्पासिलिछो गाउँपालिकाले जथाभावी सडक खोलेपछि चौंकीडाँडा तीनतामाका आधा दर्जनबढी स्थानीयको घरजग्गा क्षति पुगेको छ। तीनतामादेखि चौकीडाँडा बजारसम्म जाने कृषि सडकमा जबर्जस्ती स्काभेटर लगाएर १० मिटरको बाटो खोलेपछि स्थानीयको घरमा क्षति पुग्यो।
भोजपुरका सबै गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदा र सडक खन्नमा डोजर बढी प्रयोग गर्दा पहिरोले गाउँलाई कुरुप बनाएको स्थानीय जितबहादुर सुजी गुनासो गर्छन्।
प्रदेश १ का पहाडी जिल्लामा डोजर प्रयोग गरी खनिएका सडक वैज्ञानिक छैनन्। गाउँपालिका, नगरपालिका र स्थानीयले नै प्राविधिक प्रयोग नगरी सडक खनेकै कारण जोखिम बढेको छ। केही रकम जुटे डोजर किन्ने र मन लागेको स्थानमा खन्ने, स्थानीय सरकारको निर्देशन नमान्ने परिपाटीका कारण तराईमा भन्दा बढी पहाडमा डोजरले जोखिम बढाएको जनप्रतिनिधि नै बताउँछन्। ‘डोजरले काम छिटो हुन्छ तर सदुपयोग राम्रो स्थानमा गर्नुपर्यो, चालक र ठेकेदारलाई मनोमानी रोक्न सके समस्या नहोला,’ धनकुटा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले भने।