नातीलाई छोरा बनाउन खोज्दा पक्राउ
कपिलवस्तु : झुठो विवरण दिएर नागरिकता बनाउन खोज्ने २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका ८ कुंवागाउँका जमदार बढई मुसलमानले आफ्ना भान्जा यशोधरा गाउँपालिका ४ पोखरभेटवाका सावर अली मुसलमानका छोरा १७ वर्षीय समीउल्लाह मुसलमानलाई आफ्नो छोरा बनाई नागरिकता बनाउन खोज्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जमदार बढई र उनका मामाका छोरा समीउल्लाह मुसलमान रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष शिव प्रसाद पाण्डेयले नागरिकताका लागि गरेको सिफारिस पत्रमा झुठो विवरण उल्लेख भएको थाहा पाएपछि सिफारिस पत्र बदर गर्न र नियम अनुसार कारवाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
वडाध्यक्ष पाण्डेयको झुठो विवरणबाट नागरिकता बनाउन खोजेको लिखित निवेदन प्राप्त भए पछि उनीहरु २ जनालाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका जमदार बढई मुसलमानको सन्तान छैनन्। आफ्ना भान्जाका छोरालाई आफ्नो छोरा बनाएर उनले नागरिकता बनाई आफ्नो सम्पत्ति उनलाई दिन खोजेका थिए । पक्राउ परेका समीउल्लाहले जमदारको हेरचाह गर्दै आएका थिए ।