कलाकारको तिहार सम्झना : त्यो भैलो, त्यो देउसी

कलाकारको तिहार सम्झना : त्यो भैलो, त्यो देउसी

रवि गिरी, अभिनेता 

सानोमा देउसी–भैलो खेल्न खूब गइयो। देउसी खेल्न जाने भनेर हप्ता दिनअगाडिदेखि नाचगान गथ्र्यौं। भाइटीकाको दिनसम्म बिहानै उठेर देउसी खेल्न जान्थ्यौँ। कसैले दक्षिणा दिएन भने उसको बारीमा काँक्रा, अम्बा जे फलेको छ, त्यही चोरेर भाग्थ्यौँ। एक पटक देउसी खेल्दा २० रुपैयाँका लागि साथीहरूसँग झगडा परेको थियो।

सुशील श्रेष्ठ, अभिनेता 

देउसी–भैलो खेल्न २०–२५ जनाको टिम तयार पार्थें। रातभरि देउसी भट्याउँदै चिन्नेजतिको घरमा जान्थ्यौँ। जबसम्म हामीलाई दक्षिणा दिँदैनथे, तबसम्म गाएरै बस्थ्यौँ। अहिले साथीभाइसँग भेटघाट मात्र हुन्छ। पहिलाजस्तो रमाइलो हुँदैन। बच्चा बेलाको तिहार धेरै याद आउँछ। 

कमलमणि नेपाल, अभिनेता 

केटाकेटी बेला तिहारको एक मात्र रमाइलो भनेकै देउसी–भैलो हुन्थ्यो। टन्न पैसा कमाइन्छ भनेर रातभरि गाउँ–गाउँ डुलिन्थ्यो। दक्षिणाको रूपमा दिइएको धान, चामल पनि बेचेर पैसा भाग लगाउने गथ्र्यौं। देउसी खेल्न जानुअघि तिहारको गीत लेखेर रिहर्सल गर्थें। हरेक वर्ष देउसी खेल्न जाने गरेको छु। यसपालि पनि मिरमिरे क्लबबाट देउसी खेल्न जाने योेजना छ।

सुनीता दुलाल, गायिका 

सानो छँदा देउसी–भैलो खेल्न धेरै जान्थें। टीकाको दिनसम्म जान्थेँ। त्यो बेलामा केटीले भैलो मात्र खेल्ने हो भनिन्थ्यो। म केटा बनेर देउसी खेल्न पनि जान्थेँ। लक्ष्मीपूजाको दिनको सारी लगाएर जान्थेँ। दिदीहरूसँग भैलो खेल्न गइन्थ्यो। कसको घरमा कति दक्षिणा दिन्छन् भन्ने कुरामा मात्र मेरो ध्यान जान्थ्यो। देउसी–भैलो नखेलेको तीन वर्ष भयो।

शिव परियार, गायक 

तिहार आउन थालेपछि यसपालि कसलाई देउसी खेल्न लाने, कसलाई नलाने भन्ने विषयमा छलफल गरेर दिन बित्थ्यो। देउसी खेलेर पैसा कमाउनु ठूलो कुरा हुन्थ्यो। देउसी खेल्न जाने अघिल्लो रात त निद्रा पट्क्कै लाग्दैनथ्यो। भोलि कहिले आउलाजस्तो हुन्थ्यो। २०५७ सालयता देउसी–भैलो खेलेको छैन। 

सारा सिरपाइली, अभिनेत्री

देउसी–भैलो खेल्नुभन्दा पनि हेर्न रमाइलो लाग्छ। अहिलेसम्म देउसी–भैलो खेल्न गएकी छैन। सानो छँदा गाउँमा लक्ष्मीपूजाको दिन देउसी–भैलो कार्यक्रम हुन्थ्यो। त्यो हेर्न मज्जा लाग्थ्यो। मलाई घरमा ‘मागेजति पैसा दिन्छु तर राति खेल्न जानु पर्दैन’ भन्नुहुन्थ्यो। त्यसैले अरूले खेलेको हेरेर चित्त बुझाउँथेँ। 

श्वेता खड्का, अभिनेत्री

सारी–चोलो लगाएर देउसी–भैलो खेल्न जाने भनेपछि मेरो खुट्टा भुइँमा हुन्थेन। घर–घर गएर गाउने र नाच्ने मै हुन्थेँ। नाच्न÷गाउन औधी मन पर्ने भएकाले तिहारको देउसी–भैलो पनि साह्रै मन पथ्र्याे। सानो छँदा सधैँ देउसी–भैलो खेल्न गइयो। ठूलो भएपछि साथीभाइ छुट्दै गए, देउसी–भैलो पनि छुट्यो।

पुष्प खड्का, अभिनेता

सानोमा देउसी खेल्न जाने भनेपछि छुट्टै रमाइलो महसुस हुन्थ्यो। मादल, गिटार ठिक्क पाथ्र्यौं। को नाच्ने, को गाउने सबै योजना बनाइन्थ्यो। त्यसपछि मात्र देउसी खेल्न गइन्थ्यो। देउसी खेल्न जाँदा जसको घरमा जे फलेको छ, त्यही चोरेर भाग्ने गर्थें। त्यसैले दक्षिणाभन्दा गाली धेरै पाइन्थ्यो। 

जितु नेपाल, अभिनेता 

राति १÷२ बजेसम्म देउसी–भैलो खेलिन्थ्यो। जबसम्म दक्षिणा दिँदैनथे, तबसम्म भट्याएको भट्याई गथ्र्यौं। हाम्रो १०–१२ जनाको टिम हुन्थ्यो। कसको घरमा कति पैसा दिन्छन् होला भन्ने पिर हुन्थ्यो। दक्षिणामा दिएको धान, चामल बेचेर पनि पैसा भाग लगाउने गथ्र्यौं। पहिला पैसाको लागि खेलिन्थ्यो, अहिले रमाइलोका लागि खेलिन्छ।
 
निशान भट्टराई, गायक

देउसी–भैलो खेल्न जानका लागि तिहार कुरेर बस्थेँ। सधैँ तिहारमा भट्याउने काम मेरै भागमा पथ्र्यो। देउसी खेल्न आफन्तकोमा मात्र जाने गरेका थियौं। अरू गाउँमा जान लाज लाग्थ्यो। राति हिँड्न डर हुन्छ भनेर हामी ठूलो–ठूलो छडी बोकेर हिँड्थ्यौँ। अहिले पनि देउसी–भैलो खेल्न रमाइलो लाग्छ।

राजाराम पौडेल, अभिनेता

सानोमा देउसी खेल्न धेरै गइयो। २० वर्षको हुँदासम्म देउसी खेल्न भनेर रातभरि हिँडेको छु। थोरै पैसा दिनेको घरमा अझ धेरै दक्षिणा चाहिन्छ, यतिले पुग्दैन भनेर गीत गाउँथ्यौँ। देउसी खेलेर उठेको पैसाले पिकनिक जान्थ्यौँ। अहिले अरूले देउसी–भैलो खेलेको देख्दा बच्चा बेलाको याद आउँछ । 

कमल खत्री, गायक

भाइटीकाको दिनसम्म पनि ‘देउसी रे’ भन्दै हिँड्थेँ। त्यसका लागि खूब गाली पनि खाएको छु। देउसी–भैलो खेल्न भनेपछि हुरुक्कै हुन्थेँ। अहिले पनि रमाइलो लाग्छ। १०–१२ जना साथीभाइ भेला भएर देउसी–भैलो खेल्न जाने गथ्र्यौं। 

बुद्धि तामाङ, अभिनेता

गाउँका साना–ठूला सबै मिलेर देउसी–भैलो खेल्ने जान्थ्यौँ। बेसरी तिहार गीत गाउने भएकाले सबैले मलाई घरमै बोलाउन आउँथे। लक्ष्मीपूजादेखि सुरु गरेर भाइटीकासम्म देउसी खेल्थ्यौँ। अरू रातमा जान्थे, हाम्रो समूह दिनमा गएर देउसी खेल्ने गथ्र्यो। उठेको पैसाले क्लबका लागि आवश्यक सामान किन्ने गथ्र्यौं। 


प्रस्तुतिः आशक्ति फुयाल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.