युवा नेताको तिहार : कोही भाइको यादमा, कोही विदेशमा

युवा नेताको तिहार :  कोही भाइको यादमा, कोही विदेशमा

काठमाडौं : नेपालीले मनाउने दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। तिहारका अवसरमा विभिन्न कार्यक्रम हुन थालेका छन्। विदेशिएका युवाहरू दिदीबहिनीको हातबाट टीका थाप्न स्वदेश फर्कन थालेका छन्। देउसीभैलोको कार्यक्रम पनि सुरु भइसकेको छ।

वर्षभरि राजनीतिक कार्यक्रमहरूमा व्यस्त हुने विभिन्न पार्टीका युवा नेताहरूले पनि तिहारका लागि आआफ्नै योजना बनाएका छन्। विभिन्न पार्टीका केही युवा नेताको योजना यस्तो छ।

गगन थापा

कांग्रेसका युवा नेता तथा सांसद गगन थापाको तिहार यसपटक देशबाहिर बित्छ। उनी नन्याङ टेक्नोलोजिकल युनिभर्सिटीमा पढ्नका लागि लागि आइतबार सिंगापुर गएका छन्। त्यहाँ उनी एक साता बस्ने छन्। थापाले त्यहीँ बहिनी निर्मला नकर्मीको हातबाट टीका लगाउँदै छन्।

‘संयोग भन्नुपर्छ, यसपटक म हाम्रो परिवारले टीका लगाउँदै आएको परिवारमध्येकी एक सदस्य निर्मला भएकोमा पुगेको छु। उनी सिंगापुरका नागरिकसँग विवाह गरेर उतै बस्छिन्,’ उनले भने, ‘यसपटकको भाइटीका उनीसँगै लगाउँछु।’

यसभन्दा अघिका पर्वमा पनि गगन निकै व्यस्त हुन्थे। उनलाई टीका लगाउन भ्याइ–नभ्याइ हुन्थ्यो। ‘मेरो आफ्नो एक जना दिदी हुनुहुन्छ। उहाँसहित एकजना तामाङ बहिनी, अग्रवाल समुदायका ६ जना दिदीबहिनी र २ जना नकर्मी बहिनीबाट टीका लगाउँदै आएको छु’, उनी भन्छन्, ‘तिहारमा त म पूरै व्यस्त हुन्छु। तर, यसपटक यो सबै मिस हुने भयो।’ थापा यसअघिका तिहारमा देउसीभैलो खेलेर रमाइलो गर्दै आएका थिए।

विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको तिहार यसपटक खासै उत्साहजनक छैन। आफ्ना जेठाबडा हेमप्रसाद भण्डारीको निधनका कारण उनी टीका लगाउँदैनन्।

यसपटकको तिहारभरि उनी काठमाडौंमै हुन्छन्। यो समय परिवारसँग बस्ने र विभिन्न मठमन्दिर गुम्ने योजना बनाएका छन्, शर्माले। यो बीचमा राम्रा फिल्म आए हेर्ने उनी बताउँछन्। शर्माका लागि तिहार निकै विशेष पर्व हो। उनी दसैंलाई त्यति महत्त्व दिँदैनन्।

तर, तिहार निकै महत्वका साथ मनाउने गर्छन्। ‘म दसैंमा घर पुगिनँ भने पनि तिहारमा सधैँ पुग्थेँ। त्योबेला बुबाआमाले विश्वप्रकाश दसैंमा आएन तिहारमा पक्कै आउँछ भनेर पर्खनु हुन्थ्यो। यो विद्यार्थी राजनीति गर्दाको समयको कुरा हो। त्यसबेला अहिलेको जस्तो आउँदैछु भनेर जानकारी गराउन फोन थिएन’, उनी भन्छन्, ‘तिहार मलाई घरमै मनाउनु पथ्र्यो र सरस्वती पूजा सकेसम्म धुलाबारी स्कुलमै गएर मनाउने गर्थेँ।’

रामप्रसाद सापकोटा ‘दीपशिखा’

नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ तिहारलाई खासै महत्त्व दिँदैनन्। १३ वर्षको उमेरबाटै टीका लगाउन छाडेका उनी तीन वर्षयता फेरि टीका लगाउन सुरु गरेका छन्।

‘जनयुद्धमा लागेदेखि टीका लगाएको थिएन। तर, तीन वर्षदेखि लगाउन थालेको छु’, उनले भने, ‘टीका लगाउने विषयमा हामी कम्युनिस्ट विश्वास राख्दैनौँ।’ तीन वर्षअघिको दसैंमा आमाले कर गरेपछि टीका लगाउन थालेको उनले बताए।

‘२०६२÷०६३ को जनआन्दोलनपछि घर जाँदा पनि टीका लगाउँदिनथें। आमाले कर गर्नु भयो अनि लगाउन थालेँ। दिदीबहिनीको हातबाट पनि लगाउँछु’, उनी भन्छन्, ‘हामी धर्मसंस्कृति बदल्न लागेका थियौँ सकेनौँ। समाजले हामीलाई बदल्यो।’ उनी तिहारका बेला समय निकाल्न सके पछिल्लो समय प्रकाशित पुस्तक पढ्ने योजनामा छन्।

प्रदीप पौडेल

कांग्रेसका युवा नेता प्रदीप पौडेलको तिहार काठमाडौंमै बित्दैछ। विमलाबाट टीका थापेर तिहार मनाउने योजना बनाएका छन्, उनले। ‘सांस्कृतिक पर्व तिहार चलिआएको परम्पराअनुसार नै मनाउने योजनामा छु’, उनले भने, ‘खासै त्यस्तो विशेष योजना त छैन। रमाइलो गर्न धेरैले तास खेल्छन्। तर, मेरो बानी छैन। अघिपछि फुर्सद नभएर पनि होला खेल्नै आउँदैन।’

केशव झा

राजपा महासचिव केशव झाको तिहार यसपटक काठमाडौंमै बित्दैछ। पारिवारिक कारणले सप्तरीको तिलाठीस्थित घर जान नपाएका झाले पार्टीका कार्यक्रममा सहभागी भएर तिहार मनाउँदैछन्। उनी काठमाडौंमै दिदीबहिनीबाट टीका थाप्ने योजनामा छन्।

गाउँ जान नपाएका झालाई गाउँमा हुने मेलाको याद झलझली आइरहेको छ। ‘लक्ष्मीपूजाको भोलिपल्ट गाउँमा भैँसी जुधाउने कार्यक्रम हुन्थ्यो’, उनी भन्छन्, ‘यसले आठ सय वर्ष पुरानो इतिहास बोकेको छ। यो मेलाको याद आउँछ।’ उनको गाउँमा देउसीभैलो भने खेलिँदैन।

तर, उनले नेपालगन्ज बसेर पढ्दा देउसीभैलो खेलेका छन्। तिहारमा यसको पनि निकै याद आउने बताउँछन्। ‘हामी त खेल्दैन थियौँ। नेपालगन्ज गएपछि फरक संस्कृतिमा घुलमिल भइयो’, उनी भन्छन्, ‘त्यहाँ हुँदा देउसी खेलेर उठेको पैसा विद्यालयको भौतिक संरचना निर्माणमा खर्च गथ्र्यौँ।’

हिमाल शर्मा

नेकपाका युवा नेता हिमाल शर्माको तिहार काठमाडौंमै बित्दैछ। दिदीबहिनीको हातबाट टीका लगाउने उनको योजना छ। पार्टीका विभिन्न संगठनले आयोजनामा गर्ने कार्यक्रममा सहभागिता जनाउने उनी बताउँछन्। ‘चाडपर्वलाई धर्मको हिसाबले भन्दा पनि संस्कृतिका हिसाबले हेर्नुपर्छ’, उनी भन्छन्, ‘सभ्य भएर चाडपर्व मनाउनुपर्छ।’

नविना लामा

नेकपा नेत्री तथा सांसद नविना लामाको तिहार परदेशमा रहेका भाइ किशोरको सम्झनामा बित्दैछ। अस्ट्रेलियामा रहेका भाइ नविनाको हातबाट टीका थाप्न आइपुगेनन्। ‘भाइ नहुँदा नराम्रो त लाग्छ नै। तर, परिपक्व भएपछि बुझ्नु पनि पर्छ’, उनी भन्छिन्, ‘देशमा रोजगारीको अवसर छैन। अधिकांशको बिदेसिनु पर्ने अवस्था छ।’

तर, प्रविधिले भने टाढा रहेको भाइलाई नजिक बनाउन केही सहयोग गरेको छ। ‘प्रविधिले जोडिदिएको छ। भिडियोमार्फत कुरा गरेर भए पनि जोडिन्छौँ’, उनले भनिन्, ‘तर, प्रविधिले मात्रै नजिक बनाउँदैन रहेछ। भाइ यहीँ भएको भए अझ रमाइलो हुने थियो।’ यसपटक नविना तिहार काठमाडौंमै बिताउँदै छिन्। बानेश्वरमा रहेको आफ्नै क्याफेमा दिपावली गर्ने र दाइका छोरालाई माला लगाएर तिहार मनाउने योजनामा छिन्।

तिहारमा देउसीभैलोको केही योजना बनेको छैन, नविनाको। अनेरास्ववियुको नेतृत्वमा रहँदा सधैँ आफैँ नेतृत्व गरेर देउसीभैलो कार्यक्रम गर्दै आएकी लामा यसपटक नेतृत्वमा छैनन्। अनेरास्ववियुले देउसीभैलो गरेमा र बोलाएमा उनी जाने योजनामा छिन्। तिहार र देउसीभैलोको कुरा आउँदा अनेरास्ववियुका पूर्वअध्यक्ष रवीन्द्र अधिकारीको याद आउने उनी बताउँछिन्। ‘तिहार भन्ने बित्तिकै रवीन्द्र दाइको याद आउँछ’, उनले भनिन्, ‘उहाँ (रवीन्द्र) नेतृत्वमा रहँदा देउसी–भैलो कार्यक्रम हुन्थ्यो। उहाँ नाच्न खुबै मन पराउने। रातभरि नाचेरै बिताउने।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.