‘विवाहपछि करिअर सकिँदैन’

‘विवाहपछि करिअर सकिँदैन’

काठमाडौं : जाउलाखेलकी रैथाने स्नेहा राउत थापा एक महिनाअघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल– २०१९ की रनरअप हुन्। नोभेम्बर १ तारिखदेखि सिंगापुरमा हुने मिसेस इन्टरनेसनल– २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छिन्।

१० दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वका ३५ देशका प्रतिस्पर्धीले आआफ्नो क्षमता प्रदर्शन गर्ने छन्। प्रतियोगितामा देश चिनाउन आफूले मेहनत गर्ने र नेपालको कलासंस्कृति प्रस्तुत गर्ने उनले बताइन्। सिंगापुर प्रस्थान गर्ने पूर्वसन्ध्यामा अन्नपूर्णसँग कुरा गर्दै उनले भनिन्, ‘विवाहपछि घर घन्दामै सीमित हुने नेपाली महिलाका लागि प्रेरणाको स्रोत बन्ने प्रयासमा छु। विवाहपछि करिअर सकिँदैन भन्ने उदाहरण प्रस्तुत गर्दैछु।’

पढेका र जागिरे युवतीलाई पनि विवाहपछि घरबाहिर निस्कन निकै सकस छ। आफूमा भएको खुबी, रुचि र क्षमता अघि बढाउन पनि महिलाहरूले केही गर्नै पर्ने जरुरी ठान्छिन् उनी। ‘लैंगिक असमानताविरुद्ध आवाज उठाउन सहकार्य गरौं’ भन्नै यो पटकको मिसेस नेपालको नारा नै मन परेको थियो उनलाई।

१७ महिनाको छोरा छ उनको। दूधेबच्चा छाडेर ब्युटी प्याजेन्टमा जान सजिलो थिएन उनलाई। श्रीमान्लाई कन्भिन्स् गरिन्। परिवारलाई सम्झाइन्। सासूससुराले सहयोग गरे। समाजका समस्या उठाउन सक्ने बन्नु छ उनलाई।

उनको यो हिम्मत र लगनशीलताले नै मिसेस नेपालको रनरअपको उपाधि जित्न सफल भइन् उनी। यसका साथै बेस्ट पर्सनालिटी अफ सेकेन्ड रनरअप २०१९ को टाइटल पनि प्राप्त गरिन्।

भन्छिन्, ‘बिहे गर्नासाथ महिलामाथि विभिन्न बहानामा भेदभाव हुन्छ। माया जताएर होस् या जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता देखाएर होस् वा बालबच्चाको बहानामा होस्, पछाडि परिने रहेछ। मलाई घरभित्रको मात्रै जिन्दगी स्वीकार थिएन। नेपालका महिला पनि कुनै हिसाबमा कम छैनन् भनेर प्रमाणित गर्न चाहन्छु।’

महिलाको क्षमताको प्रशंसा गर्दै राउत भन्छिन्, ‘महिलाहरू समाजका अत्यन्तै जिम्मेवार व्यक्ति हुन्। घरभित्र पनि फिट। अफिसमा बराबर काम गरेर कमाउन पनि तयार। बाहिर मिटिङ छलफलमा बसेर ह्यान्डल गर्न पनि तयार। राजनीतिमा समान क्षमता प्रदर्शन गर्न पनि सक्षम।’ अलराउन्डर महिलालाई किन पछाडि पारेका होलान् भन्ने उनको प्रश्न छ।

ब्युटी प्याजेन्टको तालिमका क्रममा उनले नाच्न सिकिन्। मासमा बोल्न र आफ्नो क्षमता देखाउन जान्ने भइन्। संविधान र ऐनका कुरा पनि सम्झिन्। प्रतियोगिता ब्युटी प्याजेन्ट भए पनि उनले धेरै विषयमा जान्ने मौका पाइन्। त्यतिबेलै हो उनले पहिलो पटक नेपालको संविधान पढेको। जब संविधान पढिन् उनलाई लाग्यो नेपालमा महिलाको पक्षमा संविधान मै संरक्षण गरिएको रहेछ।

‘हामीले त भएको कानुन पनि प्रयोग गर्न नजानेर पछि परेका रहेछौं’, उनले भनिन्।

सिंगापुरमा हुने कार्यक्रमका लागि उनले तयारी पनि मज्जाले गरेकी छन्। १० दिनसम्म चल्ने मिसेस इन्टरनेसनमा उनले सुरुआतमा कल्चरल डेस प्रस्तुत गर्नेछन्। त्यही बीचमा मलेसिया र इन्डोनेसिया पनि पुग्नेछिन्। ‘ओहो, म त देशको प्रतिनिधित्व गर्दैछु भन्ने लागिरहेछ’ उनले अनुभव सुनाइन्, ‘परिवारका सबैजना अत्यन्तै खुसी हुन’ भएको छ। श्रीमान्ले पनि तिमीले गर्न सक्छौ भनेर हौसला दिइरहनु भएको छ।’

भन्छिन्, सिंगापुरमा हरेक सेकेन्ड कम्पिटेसन हुन्छ। हरेक समय मेरा लागि चुनौतीपूर्ण छ। यो १० दिन म मेरो राष्ट्रका लागि काम गरिरहेको हुनेछु। सकभर जित्नकै लागि मेहनत गरिरहेको छु। १७ महिने छोरो छोडेर हिँड्दा अलि अप्ठ्यारो महसुस भइरहेको छ तर पनि भोलि छोराले गर्व गर्ने आमा बन्नु छ भन्ने लागेको छ।’ सिंगापुरबाट फर्किएपछि लैंगिक असमानता अन्त्यका लागि क्याम्पियन सञ्चालन गर्ने योजना छ उनको।

उनी सम्भाव्य फाउन्डेसनकी अध्यक्षसमेत हुन्। एक वर्षअघि स्थापना भएको यो फाउन्डेसनले बालबालिकाको मेन्टल हेल्थको क्षेत्रमा काम गर्दै आएको छ। स्नेहाले यही संस्थामार्फत बालपरामर्शदाताको रूपमा काम गर्दै आएकी छन्। काठमाडांै, गुल्मी, चितवन, मेलम्चीलगायतका स्कुल तथा कलेजका बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी काउन्सिलिङ गर्दै आएकी छन्। मेन्टल हेल्थमा पोस्ट् ग्र्याजुएसन गरेकी राउत सानैदैखि बालबालिकाप्रति आकर्षित थिइन्।

उनी केही समय स्कुलमा शिक्षिका पनि बनिन्। सोही क्रममा पढाउने बहानामा होस् या गृहकार्य नगरेको बहानामा स्कुलमा बालबालिकालाई दण्ड सजाय दिने गलत चलन उनले नजिकबाट अनुभव गरिन्। यसले बच्चामा पर्ने मानसिक असरबारे स्कुलका शिक्षक वा अभिभावक दुवै बेखबर थिए। ‘उमेर बढ्दै जाँदा किशोरकिशोरीमा हुने मानसिक, शारीरिक परिवर्तन, उनीहरूले फेस गर्नुपर्ने समस्या सही तरिकाले गाइड गर्नु जरुरी हुन्छ’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.