जन्माउन नचाहेकी छोरी ईशा

जन्माउन नचाहेकी छोरी ईशा

गायक सन्तोष परियारको स्वर र संगीतमा रहेको ‘महलकी राजकुमारी’ गीतमा मोडल छिन् ईशा परियार (२१)। ‘वल्र्ड नेपाली म्युजिक अवार्ड’मा फिमेल मोडेलबाट उनी सोही गीतमा उत्कृष्ट टप टेनमा परेकी छन्।

सानैदेखि नाच्न, गाउन मन पराउने ईशा स्कुलका विभिन्न कार्यक्रममा भाग लिँदा सधैं पहिलो, दोस्रो हुन्थिन्। कहिलेकाहीँ त स्कुलबाट भागेरै स्थानीय प्रतियोगितामा सहभागी हुन्थिन्। अभिभावकले गाली गर्थे रे, ‘नाचेर तेरो जिन्दगी चल्छ ? खुरुखुरु नपढेर किन यो केटीलाई कम्मर मर्काउन जानुप¥या होला ? ’

अहिले त्यही कम्मर मर्काइ ईशाको दिनचर्या भएको छ। अहिले उनी नृत्यांगनासँगै मोडेल पनि भएकी छन्। विभिन्न कार्यक्रममा नृत्यका लागि भ्याइनभ्याइ छ। बराह नगरपालिका–५, कालाबन्जर, सुनसरीकी उनी अहिले आफ्नो थप प्रतिभा निखार्न काठमाडौंमा छिन्। अनामनगरको बिगमार्टबाट पूर्व जाने सानो गल्ली छिचोल्दै गएपछि देवीनगर पुल आइपुग्छ। त्यही पुलपारि उनको क्याफे पनि छ। कार्यक्रमबाट उब्रिएको समय उनको यही क्याफेमा बित्छ। ‘म खाली बस्नै सक्तिनँ। केही न केही काम गर्नैपर्छ’, ईशा भन्छिन्।

२०७० सालमा गाउँकै महेन्द्र माविबाट एसएलसी गरेपछि विद्यालयको अनुशासनबाट उनी धेरै होलो भइन्। प्लस टु ज्वाइन गरिन् तर कार्यक्रमको चापले रेगुलर कटाउन सकिनन्। अहिले प्लस टु त कटेको छ तर बीए पढ्न मेलोमेसो मिलिरहेको छैन।

गायक रमेश परियार र गायिक बीमाकुमारी दुराको ‘आँसुको मूल फुट्यो’ बोलको गीतमा उनी पहिलो पटक मोडेल भइन्। मोडेलका लागि अफर गर्ने गायक रमेशलाई उनी ‘गड फादर’ मान्छिन्। यही गीतको सुटिङका लागि उनी पहिलो पटक २०७२ सालमा काठमाडौं आइन्। अहिले काठमाडौंले उनलाई च्याप्पै समाएको छ। राजधानीको चर्चित होटेलमा विभिन्न कार्यक्रममा उनको नृत्यको माग बढ्दो छ।

उनले मोडलिङ गरेको गीत करिब डेढ दर्जन भएको छ। मोडेलभन्दा नृत्यांगनाकै रूपमा आफूलाई चिनाउन चाहने ईशा जथाभावी युट्युबका गीतमा नाचेर संख्या धेरै पु¥याउने पक्षमा नरहेको बताउँछिन्। भन्छिन्, ‘वर्षमा एक÷दुइटाबाहेक धेरै युट्युब गीतमा नाच्ने मुडमा छैन।’ कन्सेप्ट नै नभएको मान्छेले जथाभावी भिजुअल बनाउँदा गीतको मर्ममा अन्याय हुन गएको उनको तर्क छ। त्यस्ता धेरै निर्माताको प्रस्ताव अस्वीकार पनि गरेकी छन् उनले।

सञ्जीव पराजुलीको ‘नाइँ मलाई था छैन’ बोलको गीतको कभर गीतमा गरेको अभिनयले पनि उनलाई चर्चामा ल्यायो। सन्तोष परियारको ‘अल्लारे’ बोलको गीतमा रविन भुजेलसँग गरेको मोडलिङ पनि उनलाई उत्कृष्ट लागेको छ। त्यसमा उनको जोडी ‘फुलन्देकी आमा’ छन्।

सिविन नेपाल, इन्सेकलगायत विभिन्न संघसंस्थामा आबद्घ रहिसकेकी ईशाले कुनै समय सडक नाटक पनि गरिन्। तर उनलाई फिल्ममा खेल्न हतार छैन। ‘फिल्ममा कुनै गीतमा आइटम डान्सको अफर आए गर्न सक्छु’, उनी भन्छिन्। २०७३ सालमा ‘पूर्वाञ्चल डान्सिङ सुपर स्टार’को उत्कृष्ट ७ मा परेकी ईशा अब कुनै प्रतियोगितामा भाग लिने इच्छा राख्दिनन्। उनलाई लाग्छ, प्रतियोगितामा भाग लिन पनि एउटा उमेर हुँदो रहेछ।   

उनको कालाबन्जर गाउँमा छ, सुनगाभा सांस्कृतिक क्लब। यही क्लबले पनि उनको प्रतिभा उजागर गर्न मद्दत पु¥यायो। स्थानीयवासीले पनि उनको नृत्यलाई ‘वाह वाह’ भने। इटहरीको ‘नागी डान्स सेन्टर’बाट नृत्यको आधारभूत तालिम मात्रै लिएकी ईशा भन्छिन्, ‘घरबाट एक घण्टाको दूरीमा डान्स सेन्टर भएकाले नियमित जान सकिएन। घरमै टीभीमा गीत सुन्दै, हेर्दै अभ्यास गरेकी हुँ।’

ईशाको प्रेरणाले उनको परिवारका अन्य सदस्य उनको पाइला पछ्याउँदै छन्। दाइकी छोरी मनिता (१४) उनीजस्तै राम्रो नृत्यांगना भएकी छन्। भतिजा मनोज परियार र फुपूकी छोरी पूजा राम्रो गाउँछन्।

दुई दाइ र दुई दिदीपछिकी कान्छी हुन् ईशा। ‘सन्तान धेरै भए अब नजन्माऊँ क्यारे’, उनका बाले भनेछन्। तर आमाले गर्भ तुहाउन मानिनन्। आज आएर उनका बाबु कहिलेकाहीँ भन्छन्, ‘जुन छोरीलाई जन्माउन चाहेको थिइनँ, आज उसैले हाम्रो परिवारको इज्जत बढाएकी छ।’

उनका सहकर्मी धेरै साथीहरूको बिहे भइसकेको छ। तर उनलाई बिहेको हतारो छैन। करिअर उचाइमा पु¥याउने इच्छा छ। जापानको ‘रोयल गार्डेन’ होटेलमा हालै दुई साता नृत्य पस्किएर आएकी ईशालाई गत वर्षको दसैंमा कार्यक्रममा नाच्न भ्याइनभ्याइ थियो। त्यसैले यो दसैंमा धेरै कार्यक्रम स्थगित गरिन्। भन्छिन्, ‘चाडबाडमा परिवारका सदस्यहरूलाई समय दिन मन लाग्छ। भोलि बिहे गरेर गए के हो के हो ? कुन भूगोलमा पो पर्छ खसमको ठेगाना ? ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.