कृष्णनगर घटनाका मृतक परिवारले शव बुझे
कपिलवस्तु : कृष्णनगरमा बिहीबार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका स्थानीय २१ वर्षीय सुरज पाण्डेयका परिवारले शव बुझेका छन्। मृतकका हजुरबुवा ओम प्रकाश पाण्डेय, काका लक्ष्मी पाण्डेयले जिल्ला अस्पतालबाट शव बुझेका हुन्।
प्रदेश सभासदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीका प्रतिनिधिसँग बिहीबार राति स्थानीय प्रशासनले १० बुँदे सहमति गरेको थियो। सो सहमतिपछि राति नै लक्ष्मीपूजाको मूर्ती बिर्सजन र मृतक पाण्डेयको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पताल लगिएको थियो।
लक्ष्मी पूजाको मूर्ती विर्सजनका क्रममा बुधबार साँझ २ समूहबीच भएको विवाद बढ्दै गएपछि झडपमा परिणत हुँदा स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेपछि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको थियो। सोही क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट प्रदर्शनमा उत्रिएका स्थानीय पाण्डेयको कृष्णनगर बजारमा मृत्यु भएको थियो।
काजक्रिया खर्च बापत २५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार दिउँसो आफूले बुझेको मृतकका हजुरबुवा ओमप्रकाश पाण्डेयले बताए। आफ्नो नातिको जन्मसमेत कृष्णनगर बजारमा भएको र नाजी सुरज आफ्ना पितासँग कृष्णनगरमै २० वर्षदेखि बस्दै आएको मृतकका हजुर बुवा ओम प्रकाशले बताए।