'कुस्तीमा जवानी, राज्यबाट बेइमानी'

'कुस्तीमा जवानी, राज्यबाट बेइमानी'

सिरहा : आफ्ना जमानाका नाम कमाएका पहलमान हुन्, धनगढीमाई नगरपालिका–७, कसहा गाउँका ५४ वर्षीय जनक यादव। उनको कुस्ती खेल हेर्न टाढाटाढाबाट मानिस आउँथे। सयौं खेलमा उनले हजारौं पहलमानलाई हराएका छन्। प्रथम खेलकुद प्रतियोगितादेखि नै उनले राष्ट्रिय खेलमा दर्जनौं स्वर्ण, रजत र कांस्य जितेका छन्।

आफ्नो जीवनको ऊर्जाशील समय देशको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताए पनि राज्यको बेवास्ताका कारण गुजारा चलाउन मुस्किल परेको उनले गुनासो गर्छन्। सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा जनकले स्वर्ण पदक पाएका छन्। कमाउने उमेरमा पसिना बगाएर कुस्तीबाट देशको गौरव बढाएँ तर छोराछोरीको भविष्य अन्धकार भएको उनी बताउँछन्।

‘सानै उमेरदेखि कुस्ती खेलमा लागेँ। आयआर्जन राम्रो भएन। छोराछोरी पढाउनै सकिनँ’, उनले भने, ‘गुजारा चलाउन समस्या भयो। एकमात्र छोरा इन्द्रजितलाई कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढाएर तेल बोक्ने ट्यांकर चालक बनाएँ। खेलप्रति आकर्षित हुन दिइनँ।’ गाईबस्तु पालेर र खोलामा गिट्टी बालुवा चालेर जसोतसो परिवार पालेको उनले बताए।

खेलबाट अलग्गिएपछि उनले १० वर्ष घरनजिकैको गागन खोलामा गिट्टी बालुवा चाले। केही ऋण र खोला कमाइबाट तीन छोरीको बिहे गरे। गत साउनदेखि सामुदायिक वनमा हेरालुको काम पाएका छन्। त्यहीँ घाँसदाउरा गर्छन्। गाईबस्तु पालेका छन्। गाउँमै सानो ‘अखडा’ बनाएको छ। आफू पनि रोगबाट बच्न शारीरिक व्यायाम गर्छन्। केही शिष्यहरूलाई प्रशिक्षण दिन्छन्।

शिष्यहरूलाई खेलका दाउपेच सिकाइदिन्छन् तर, खेलबाट जीवन चल्दैन भनेर अर्ती दिन पनि भुल्दैनन्। आफ्ना छोराछोरी पढाउन नसकेको तिक्तता सुनाउँदै भन्छन्,‘स्वर्ण पदकले खान पुग्दैन। पाएको स्वर्ण पदक सुनको भएको भए बेचेरै अन्य काम लगाउँथेँ।’ उनको सम्पत्तिको नाममा ६ कट्ठा खेत र सानो घडेरी मात्रै छन्।

केही महिनाअगाडि घर सरसफाइ गर्ने बेलामा छोरी, पत्नीले पदकबाहेक केही प्रमाण फालिदिएको उनले सुनाए। ‘बचेको प्रमाणपत्र र स्वर्ण पदक थोत्रो झोलामा राखेको छु’, यादवले भने, ‘पहिलो जमिनदारहरूले गाउँगाउँमा पहलमान पाल्थे। जग्गाजमिन दिन्थे। सरकारले त केही गर्न सकेनन्।’ साफमा स्वर्ण पदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुने सोचेर काठमाडौंमा महिनौं धाए पनि केही नपाएको उनले बताए।

मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् निकायबाट पटकपटक आश्वासन मात्रै पाएको उनले सुनाए। सोर्सफोर्स नभएको व्यक्तिलाई काम पाउन गाह्रो रहेको यादवको भनाइ छ। अन्तर्राष्ट्रिय खेल खेल्न चितवनको सौराहामा एक वर्षको कठिन तालिम लिएको उनी बताउँछन्। बंगलादेशमा भएको साफ खेलमा पनि यादवले भाग लिएका थिए।

पाकिस्तानमा हुने खेलमा पनि उनी छनोट भएका थिए। तर त्यही बेलामा दरबार हत्याकाण्ड भएकाले त्यहाँ जाने कार्यक्रम रद्द भयो। उनी साफ खेलमा जितेको स्वर्ण पदक कहिलेकाहीँ गलामा लगाएर हिँड्ने गर्छन्। चार वर्षअगाडि सिरहा सदरमुकाममै छनोट चरणको खेल खेल्दा खेल्दै लडेर उनको खुट्टा भाँचियो। हिँडडुल गर्न समस्या भयो। उपचार गराउन सरकारसँग सहयोग माग्दा पनि नपाएको यादवले सुनाए। उनले ऋण कर्जा गरी उपचार गराए। अहिले पनि पूरा निको भएको छैन।

राज्यले कुस्ती खेल र खेलाडीलाई उपेक्षा गरेको उनको गुनासो छ। त्यही कारण देशमा कुस्ती खेल र खेलाडीको अवस्था नाजुक बन्दै गएकोमा उनले दुःख व्यक्त गरे। प्रदेश र स्थानीय सरकारले पनि कुस्ती खेल र खेलाडीप्रति चासो नदेखाएको उनले बताए। पौराणिक र मौलिक कुस्ती खेल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भए पनि राज्यकै उपेक्षाका कारण समाप्त हुन लागेको प्रति उनले चिन्ता व्यक्त गरे। सरकारले गुजारा चलाउने जोहो गरिदिए अझै गाउँगाउँमा गएर कुस्ती खेल सिकाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.