धरानमा कांग्रेसको चुनावी अभियान सुरु, नेकपामा उमेद्वार छनौटमै सकस
धरान : आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले चुनावी अभियान सुरु गरेको छ । कांग्रेसले नगरसभापति तिलक राईलाई मेयरको उमेदवार सर्बसम्मत छनौट गरि आइतबारबाट घरदैलो अभियानमार्फत चुनावी अभियान संचालन गरेको हो।
कांग्रेसले धरानको जिरो पोइन्टबाट घरदैलो अभियानमार्फत भोट माग्न सुरु गरेको छ। आइतबारदेखि सुरु गरिएको घरदैलो अभियान धरानका २० वटै वडामा संचालन गरिने कांग्रेस धरानका कोषाध्यक्ष सुर्बण श्रेष्ठले बताए ।
उनले घरदैलो अभियानमार्फत मतदातालाई आफ्नौ चुनावी एजेण्डा सुनाई मतदातासमक्ष उमेदवारसहित अभियान संचालन गरेको बताए। कांग्रेसका मेयरका उमेदवार तिलक राईले २०४७ सालको परिवर्तनपछि नेकपाले पटकपटक धरानको नेतृत्व सम्हालेको भएपनि दीगो विकास गर्न नसकेकाले आफू निर्वाचित भए धरानको विकासले मुहार फेर्ने बताए।
कांग्रेसले उमेदवारको टुंगो लगाई घरदैलो अभियानमार्फत मतदातासँग भोट माग्न थालेपनि सत्तारुढ दल नेकपाले भने उमेद्वारको टुंगो लगाउन सकेको छैन् । नेकपा धरानले मेयर पदको उमेद्वारका लागि जिल्ला सदस्य प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), र सदन उच्च माविकी शिक्षिका समेत रहेकी जिल्ला सदस्य बेणु काफ्लेको नाम सिफारिस गरेको थियो ।
तर, शनिबार नेकपा प्रदेश कमिटिको बैठकले त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति विजय राईको नाम समेत सिफारिस गरेपछि नेकपामा उमेद्वार छनौटमा विवाद सुरु भएको छ । नेकपा धरानमा माधव नेपाल पक्षले अध्यक्ष ओली खेमाका विजय राईको नाम सिफारिस नगरेका कारण प्रदेश कमिटिले विजयको नाम थप गरि सिफारिस गरेको थियो ।
सिफारिसमा परेका विजय राई र प्रकाश राई मध्य कसलाई टिकट दिने भन्नेमा नेकपा सचिवालय बैठकले समेत टुंगु लगाउन नसक्दा उमेदवारको टुंगो लाग्न ढिलाई भएको बताइएको छ । समाजवादी नेपालका तर्फबाट गजेन्द्र इस्बो र संघीय लिम्बूवान पार्टीका तर्फबाट अमर इजमले धरानको मेयरको उमेदवारको टिकट पाएका छन् ।
दुबै दलले मतदातासमक्ष आफ्ना चुनावी एजेण्डा बुझाउन घरदैलो अभियान सुरु गरेका छन्। धरानमा नेकपा र कांग्रेस उमेदवार बीच कडा प्रतिपर्धा हुने देखिएको छ । २०७५ साउन १ गते धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तारा सुब्बाको निधन भएको थियो । सुब्बाले कांग्रेस उमेदवार तिलक राईलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए।